१९ माघ (२०८१), रामेछाप । नेकपा (एमाले) रामेछापले जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । पार्टी स्कुल विभाग बाग्मती प्रदेश कमिटीको संयोजन, जिल्ला स्कुल विभागको व्यवस्थापन र पार्टी जिल्ला कमिटीको आयोजनामा तीन दिने प्रशिक्षण कार्यक्रम शुक्रबारबाट सुरु भएको हो । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्यमा रामेछाप जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षता शुरु भएको प्रशिक्षण कार्यक्रममा पार्टीका प्रदेश कमिटी, जिल्ला कमिटी तथा गाउँपालिका कमिटीका नेताहरूको सहभागिता रहेको छ ।
प्रशिक्षण कार्यक्रम उद्घाटनपछि मन्तव्य राख्नुहुँदै उपाध्यक्ष ज्ञवालीले प्रचण्डको अवसरवादी चरित्रको कारण कांग्रेस र एमाले एक ठाउँमा उभिने वातावरण बनेको बताउनुभयो ।
प्रचण्डको धोका र अस्थिरतामा खेल्ने प्रवृत्तिबाट दिक्क हुनुभएका कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेलाई सरकारको नेतृत्व लिन आग्रह गर्नुभएको उहाँले सुनाउनुभयो ।
देशको राजनीतिक अस्थिरता अन्त्य गर्नको लागि एमाले सरकारमा गएको बताउँदै उपाध्यक्ष ज्ञवालीले भन्नुभयो– राष्ट्रिय दल समेत बन्ने नसकेर १० सिट ल्याएका माधव नेपाल समेत प्रधानमन्त्री हुने लाइनमा बसेपछि स्थिर सरकार बनाउन एमाले सरकारमा जानु पर्ने स्थिति आयो ।
अहिले देशको आर्थिक क्षेत्र निक्कै कमजोर रहेको र सरकारले त्यसको सुधारको लागि काम गरिरहेको उहाँले बताउनुभयो । धेरै ठुलो काम गर्न नसकिए पनि जनताले अनुभूत गर्ने गरी आर्थिक, सामाजिक क्षेत्र र कानुन निर्माणको क्षेत्रमा केही न केही काम हुने उहाँको भनाइ छ ।
सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनि विरोधीले प्रचार गरिरहेका भए पनि अहिलेको सरकार राजनीतिक रूपमा बलियो सरकार भएको बताउँदै उपाध्यक्ष ज्ञवालीले भन्नुभयो– अर्को विकल्प पनि छैन, त्यसैले यो सरकार आउने निर्वाचनसम्म टिक्छ, टिकाउने मात्र होइन, राम्रो काम गर्दै जाने होे ।
कार्यक्रममा उपमहासचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य डा. राजन भट्टराई, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, सङ्गठन विभाग सचिव माधव ढुङ्गेल, तत्व तिमिल्सिना, रामशरण प्याकुरेल, भरत पहारी, सिर्जना काफ्ले, वाईपी आचार्य, नवराज सिलवाल, भक्तकुमारी लामा, शान्तिप्रसाद पौडेल, आनन्दकुमार श्रेष्ठ लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
कार्यक्रम आयोजनाको उद्देश्य बारे प्रकाश पार्दै नेकपा (एमाले) रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले नेताकार्यकर्तामा पठन संस्कृति कम हुँदै गएको बताउनुभयो ।
समाज रूपान्तरणको लागि अध्ययन नगरी अघि बढ्न नसकिने उहाँले बताउनुभयो । त्यसैले एमालेले नेता कार्यकर्ताको बुझाइमा स्पष्टता होस् भनी प्रशिक्षण कार्यक्रम राखेको उहाँले बताउनुभयो ।