१९ माघ (२०८१), झापा । नेकपा (एमाले)का सचिव छविलाल विश्वकर्माले झापा क्षेत्र नं. ३ का नेता कार्यकर्तालाई आगामी निर्वाचनमा आफै जित्ने गरी तयारी गर्न निर्देशन दिनुभएको छ । यसअघिका निर्वाचनमा अरुलाई जिताउनुभयो, अब आफै जित्ने गरी राम्रो तयारी गर्नुहोस्, उहाँले भन्नुभयो ।
बाह्रदशी गाउँ कमिटीले आयोजना गरेको कार्यकर्ता मिलन कार्यक्रममा सम्बोधन गर्दै नेता विश्वकर्माले अरुलाई जिताउनुपर्ने दिन अब सकिएको धारणा व्यक्त गर्नुभयो ।
नेकपा (एमाले) बाह्रदशीका करिव सातसय नेता कार्यकर्ताहरू सहभागी भएको सो कार्यक्रममा उक्त अभिव्यक्तिले सबै हर्षित भएका थिए ।
सचिव विश्वकर्माले एमालेलाई निर्णायक शक्तिको रूपमा स्थापित गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । एमालेसँग कसैको तुलना हँुदैन, एमाले राष्ट्रिय शक्ति हो, उहाँले थप्नुभयो– ‘एमालेलाई अब निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्छ । एमाले निर्णायक शक्ति भएपछि मात्रै मुलुकमा अस्थिरताको अन्त्य हुनेछ ।
राष्ट्रिय शक्ति नहुञ्जेलसम्म देशले अस्थिरता झेलिरहनुपर्ने उहाँको धारणा थियो ।
सचिव विश्वकर्माले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एकतावद्ध एमाले पहिलो र अनिवार्य शर्त भएको बताउनुभयो । कांग्रेस एमालेबीचको समझदारी रहुँन्जेलसम्म मुलुकमा कुनै पनि समस्या नआउने बताउँदै नेता विश्वकर्माले सरकार र पार्टीले सोही अनुसारको कामलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
पार्टीलाई बलियो बनाउन विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेको बताउँदै उहाँले फराकिलो मन बनाएर काम गर्न निर्देशन दिनुभयो । पार्टीभित्र उदारभाव चाहिन्छ, सबैले आफ्नो जिम्मेवारी अनुसार काम गर्नुहोस्, उहाँले थप्नुभयो ।
यसैगरी, सचिव विश्वकर्माले जनप्रतिनिधिहरूलाई प्रतिवद्धतालाई ख्याल गर्दै काम गर्न आग्रह गर्नुभयो ।
गाउँ कमिटी अध्यक्ष अनिल सापकोटाको अध्यक्षतामा भएको बनभोज समेतको कार्यक्रममा युवादेखि बृद्धबृद्धासम्म, जिल्ला र प्रदेश तहका नेताहरूको सहभागिता रहेको थियो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य हरि राजवंशी लगायतले मन्तव्य राख्नुभएको थियो ।