detail-img

महासचिव पोखरेल र जापानी अधिकारीहरूबीच नेपाल–जापान विकास सहकार्यका विविध पक्षमा छलफल 

२१ माघ (२०८१), काठमाडौं । साताव्यापी जापान भ्रमणमा रहनुभएका नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जापान सरकारका उच्च अधिकारीहरू, जापानको विदेश मन्त्रालयका प्रतिनिधिहरू तथा जाइकाका अधिकारीहरूसँग नेपाल–जापान विकास सहकार्यका विविध पक्षमा छलफल गर्नुभएको छ । 
उक्त छलफलमा जापान सरकारको सहयोगमा निर्मित काभ्रे–सिन्धुली खण्डको वीपी राजमार्गको गत असोजमा प्राकृतिक  प्रकोपबाट क्षति भएको हुँदा उक्त सडक र त्यस सडकमा रहेका पुलको पुनर्निर्माण तथा मर्मतसम्भारका विषय उठाइएको थियो । 
छलफलमा नेपालमा जापान सरकारको सहकार्यमा सञ्चालन गर्न सकिने अन्य सम्भावित विकास परियोजनाहरूको विषयमा समेत सकारात्मक छलफल भएको महासचिव पोखरेलका निजीसचिव सरोज अधिकारीले जनाउनुभएको छ । 
छलफलका क्रममा महासचिव पोखरेलले नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउँदै नेपालको पूर्वाधार तथा आर्थिक विकासका क्षेत्रमा जापानको निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्नुभएको थियो ।
छलफलमा जाापनका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, नेकपा (एमाले)का केन्द्रीय सदस्य सूर्य पाठक तथा प्रवासी नेपाली मञ्च जापानका प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो ।  
छलफलमा राजदूत डा. सुवेदीले नेपालमा जापानको लगानी तथा प्रविधि हस्तान्तरणलाई प्रवद्र्धन गर्न आवश्यक पहल भइरहेको जानकारी गराउनुभयो । छलफलमा जाइकाका प्रतिनिधिहरूले नेपालमा पूर्वाधार तथा विकास परियोजनाहरूमा सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै विपी राजमार्ग पुनर्निर्माण तथा अन्य विकास योजनाहरूको विस्तृत अध्ययन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । 
छलफलबाट नेपाल–जापान सम्बन्धलाई थप मजबुत बनाउँदै नेपालको पूर्वाधार विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।