१० देखि १४ वर्ष उमेरका करिब १७ लाख किशोरीलाई यो खोप दिइने
२२ माघ(२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियान शुभारम्भ भएको छ ।
विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिका– ३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गरी अभियानको थालनी गर्नुभएको हो ।
आजदेखि आउँदो फागुन ६ गतेसम्म देशभरि एकैपटक यो अभियान सञ्चालन हुँदैछ । देशभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका करिब १७ लाख किशोरीलाई यो खोप दिन लागिएको छ ।
मानव जातिको सुख र समृद्धि सरकारको लक्ष्य
खोप अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बृहत परिकल्पनाका साथ निरोगी नेपाल अभियान सञ्चालन गरिएकाले यस अभियानमा सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले मानव जातिको सुख र समृद्धि सरकारको लक्ष्य भएको बताउनुभयो ।
उहाँले नेपालीलाई रोग र अभावबाट मुक्त बनाउन सकभर कोही बिरामी नहोउन् र बिरामी भइहालेमा सहज र गुणस्तरीयरूपमा उपचारको प्रबन्ध होस् भनेर सरकारले आफ्ना तर्फबाट प्रयास गरिरहेको स्पष्ट गर्नुभयो ।
प्रधानमन्त्री ओलीले निरोगी नेपालको केन्द्रविन्दुमा मानव जाति रहेकाले स्वच्छ र सन्तुलित खाना खाएर स्वस्थ रहन सबैमा आग्रह गर्नुभयो ।
उहाँले उच्चमनोबल र साझा प्रयासबाट कोभिड–१९ को महामारीलाई पनि परास्त गरिएको स्मरण गर्दै पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप लागाउने अधिकारबाट तोकिएका समूहका कोही पनि किशोरीहरू वञ्चित नहोउन् भन्ने कामना गर्नुभयो ।