detail-img

अध्यादेशको विरोध गर्नुभनेको भूमिहीन किसानको विरोध होः उपमहासचिव ज्ञवाली

२९ माघ (२०८१), रौतहट । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले भूमिसम्बन्धी अध्यादेशको विरोध गर्नु भनेको भूमिहीन किसानको विरोध गर्नुभएको बताउनु भएको छ । 
रौतहटको गरूडामा नेकपा (एमाले) जिल्ला कमिटीद्वारा आज आयोजित वडा केन्द्रित तीन महिने अभियानसम्बन्धी अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले सरकारले भूमिहीन किसानको समस्या समाधान गर्नका लागि अध्यादेश ल्याएको बताउनुभएको हो । 
अध्यादेशको विरोध गर्नेले अध्यादेशको नभएर भूमिहीन किसानको विरोध गरेको उहाँको भनाइ थियो । देशमा अहिले चार लाख भूमिहीन किसान रहेको र १० लाख अव्यवस्थित बसोबास रहेको जानकारी दिँदै उहाँले यो अध्यादेशको विरोध गर्न नहुने बताउनुभयो । 
अब पार्टी आन्तरिक रूपमा एकताबद्ध भएर अगाडि बढ्ने विश्वास दिलाउँदै उपमहासचिव ज्ञवालीले एमालेमा अस्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने कुनै ठाउँ नभएको भनाइ राख्नुभयो । 
पार्टीका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले व्यवस्थित ढङ्गले पार्टी सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो । 
अर्का स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठले अब पार्टी कामको मूल्याङ्कनको आधारमा अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।