३ माघ (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालको राजनीतिमा साना पार्टीले ठुला पार्टीमाथि शासन गर्न थालेपछि कांग्रेस र एमाले मिलेको बताउनुभएको छ ।
नेकपा (एमाले) विराटनगर महानगर कमिटीको जरा केन्द्रित अभियान उद्घाटन तथा प्रशिक्षण कार्यक्रमलाई शनिबार मोरङको विराटनगरमा सम्बोधन गर्दै ३२ सिटे पार्टीले पाँचै वर्ष शासन गर्ने कुरा गर्न लागेपछि दुई ठुला दल मिल्न बाध्य भएको स्पष्ट गर्नुभयो । राजनीतिक अस्थिरता मच्चाएर त्यही अस्थिरतामा खेल्ने काम भएपछि अस्थिरतालाई रोक्न बलिया पार्टी मिल्नुपरेको उहाँले सुनाउनुभयो ।
नेपालमा राजनीतिक अस्थिरता हाबी भएपछि संविधान परिवर्तन गरेर भए पनि स्थायित्व प्रदान गरी नागरिकको निराशा चिर्नु पर्छ र देशलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्छ भनेर दुई दल एक ठाउँमा उभिनुपरेको महासचिव पोखरेलले बताउनुभयो ।
उहाँले भन्नुभयो– आज जनतामा जुन प्रकारको निराशा छ, कुण्ठा छ, युवा पलायन छ, यो कुरालाई रोक्न नसक्ने हो भने हामीले ल्याएको परिवर्तनलाई जोगाउन सकिन्छ र ?
वर्तमान सरकार नबन्दासम्म सडकमा एक खालका रमिता सुरु भएको र सडकमा ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा समेत लागेको उहाँले स्मरण गराउनुभयो । महासचिव पोखरेलले भन्नुभयो– मुलुकलाई निराशाबाट जोगाउन नसके प्रतिगमनतर्फ जान लागेको राजनीतिलाई फर्काउन सकिँदैन भन्ने अठोटका साथ हामी मिलेका हौँ ।
कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि व्यवसायीहरूमा उत्साह बढेको उहाँले बताउनुभयो । उद्योगी व्यवसायीहरूले यो सरकार बनेपछि सोचेभन्दा पनि राम्रो काम भएको भनेर खुल्ला रूपमा नै भन्न लागेको उहाँले सुनाउनुभयो ।
नेकपा (एमाले) यतिबेला २०८४ को निर्वाचनलाई केन्द्रमा राखेर सङ्गठन निर्माणको अभियानमा लागेको र सोही अभियानलाई सफल पार्न गाउँ केन्द्रित अभियान सुरु गरिएको उहाँले बताउनुभयो । यो अभियान नेता कार्यकर्ताको कामको मूल्याङ्कन गर्ने अभियान पनि भएको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो ।
‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिका लागि नेकपा (एमाले) लागिरहेको छ र यो पार्टीले देश र जनतालाई त्यो अवस्थामा पुर्याउन सक्छ भन्ने विश्वास नागरिकमा जगाउनुपर्ने उहाँले बताउनुभयो ।
नागरिकमा एमालेप्रतिको आकर्षण पार्टी र नेताकार्यकर्ताले गर्ने कामबाटै बढाउनुपर्नेमा महासचिव पोखरेलले जोड दिनुभयो । जनताले भोगिरहेका समस्या समाधान गर्ने गरी योजना बनाएर काम गर्न पार्टीका नेताकार्यकर्तालाई निर्देशन दिँदै महासचिव पोखरेलले भन्नुभयो– कुन वडामा के गर्ने भन्ने सोच र दृष्टिकोण बनाउनुपर्दछ, यसो गर्दा मात्र जनता पार्टीसँग जोडिन्छन् ।
उहाँले जनतालाई राजनीतिमा जोड्ने हो भने जनतासँग बसेर उनीहरूका समस्या माथि केन्द्रित रहेर छलफल गर्नुपर्ने बताउँदै अहिलेको जरा केन्द्रित अभियान यसैमा केन्द्रित रहेको स्पष्ट पार्नुभयो ।
महासचिव पोखरेलले नीति र नेतृत्वको एकताले मात्रै पार्टीले सफलता प्राप्त गर्न नसक्ने बताउँदै यसका लागि समग्र पार्टीभित्र नै एकता आवश्यक रहेको बताउनुभयो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नेपाली राजनीतिमा सबैभन्दा बढी योगदान गरेको, इतिहासलाई वस्तुनिष्ठ ढङ्गले मूल्याङ्कन गर्नसक्ने, नेपाली समाजलाई सबैभन्दा गहिरो गरी बुझ्नसक्ने र इतिहासलाई वस्तुनिष्ठ ढङ्गले बुझ्नसक्ने नेता भएको बताउँदै महासचिव पोखरेलले सिङ्गो पार्टी एकढिक्का भएर उहाँलाई स्थापित गर्नुपर्ने बताउनुभयो । यस्तो सामथ्र्य भएको नेता पार्टी अध्यक्ष भएको अवस्थामा नेकपा (एमाले) मिसन–२०८४ अभियान लिएर अघि बढिरहेको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो ।