detail-img

देशको रक्षाका लागि एमाले–कांग्रेस सहकार्यमाः उपमहासचिव ज्ञवाली 

४ फागुन (२०८१), इटहरी । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले देशको रक्षाका लागि प्रमुख दुई दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार सञ्चालन गर्नुपरेको बताउनुभएको छ । 
नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका समयमा युवाहरूमा निराशा बढ्दै गएको, सुन तस्करीमा वृद्धि भएको, देशको अर्थतन्त्र दिनानुदिन अधोगतिमा गएको र प्रतिगामीहरू खुलेआम व्यवस्था विरुद्ध बोल्ने वातावरण निर्माण गरिएकाले एमालेले राजनीतिक हस्तक्षेप गर्नुपरेको उपमहासचिव ज्ञवालीले स्पष्ट गर्नुभयो । 
नेकपा (एमाले) सुनसरी जिल्ला कमिटीले आज इटहरिमा आयोजना गरेको तीनमहिने जराकेन्द्रित अभियानको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै नेता ज्ञवालीले  देशको परिस्थितिमा सुधार ल्याउने दिशामा भन्दा पनि प्रचण्ड पाँचबर्ष आफ्नै नेतृत्वमा सरकार सञ्चालन गर्ने दाउपेचमा लागेकाले देशको रक्षाका लागि राजनीतिक हस्तक्षेप गर्नुपरेको बताउनुभयो । 
‘नेकपा (एमाले) र नेपाली कांग्रेस लोकतन्त्रका निर्माता हुन् । यिनै दल मिलेरै राणा विरोधी आन्दोलन गरे, २०४६ आन्दोलन सफल बनाए, २०६२÷०६३ को आन्दोलन मार्फत राजा फालेर गणतन्त्र ल्याए, त्यसैले कांग्रेस– एमाले एकअर्काका प्रतिष्पर्धीमात्र नभई सहयात्री पनि भए’, चर्चा गर्र्दै उपमहासचिव ज्ञवालीले अहिले देशका लागि सहकार्य आवश्यक भएको बताउनुभयो । 
अभिमुखीकरणमा पार्टीका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले जनताको मनलाई पार्टीसँग जोड्नका लागि पार्टीले वडा तहमा तीन महिने अभियान सञ्चालन गरेको बताउनुभयो ।  
नेता राईले यो अभियान मार्फत २०८४ मा देशका तीनवटै तहमा नेकपा (एमाले)को सरकार निर्माण गर्दै एमालेको नीतिलाई राष्ट्रिय नीतिका रूपमा रुपान्तरण गर्दै देश र जनतालाई विकास र समृद्धिको बाटोमा डोर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्लाभरिका करिव एक हजार दुई सय कार्यकर्ता सहभागी रहेका छन् । 
पार्टीका केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज जगदिश कुसियत लगायत नेताहरूले अभिमुखीकरण गर्नुभएको थियो भने सञ्चालन जिल्ला सचिव राम कोइराला र स्वागत मन्तव्य उपसचिव याम सुब्बाले गर्नुभएको थियो ।