५ फागुन (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालको राष्ट्रिय स्वाभिमान र स्वाधीनताको लागि लड्ने एकमात्र समकालीन राजनीतिज्ञ एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भएको बताउनुभएको छ ।
आज नेकपा (एमाले) दाङले घोराहीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले देश विकासको नयाँ यात्राको नेतृत्व गर्ने नेता प्रधानमन्त्री ओली र नेकपा (एमाले) रहेको भएको बताउनुभयो ।
नेकपा (एमाले)का अध्यक्ष ओली प्रधानमन्त्री हुनुभएपछि लोडसेडिङ अन्त्यको योजना बनाउनु भएको कारण लोडसेडिङ हटेको र अहिले नेपाल विद्युत निर्यात गर्ने देश बनेको उहाँले प्रष्ट पार्नुभयो ।
महासचिव पोखरेलले भन्नुभयो– एउटाले योजना बनाउने अर्काले पगरी गुथ्ने, काम एउटाले गर्ने, जस अर्काले लिने नेपाली राजनीतिको विडम्बना भएको छ, काम एउटाले गर्ने पगरी गुथ्न अनेक खालका ढेडुहरू खडा गरिएको छ ।
नेकपा (एमाले) र अध्यक्ष ओलीले राम्रो काम गरेकै कारण घेराबन्दी गरिएको बताउँदै अदालतको फैसलाबाट प्रधानमन्त्री ओलीलाई हटाएको परिणाम देश सङ्कटग्रस्त बनेको महासचिव पोखरेलले सुनाउनुभयो ।
२७५ सिट भएको संसदमा ३२ सिटेले पाँचै वर्ष शासन गर्ने अलोकतान्त्रिक चरित्र देखाएपछि त्यसलाई नेपालको राजनीतिबाट सधैँका लागि अन्त्य गर्नुपर्ने मान्यताका आधारमा एमाले र कांग्रेस मिलेर सरकार बनाएको उहाँले स्पष्ट पार्नुभयो ।
एमाले अध्यक्ष ओली नेतृत्वको सरकार बनेपछि देशमा लगानीको वातावरण बनेको, आर्थिक वृद्धिदर बढेको, अर्थतन्त्र चलायमान भएको, विदेशी मुद्राको सञ्चिति बढेको महासचिव पोखरेलले चर्चा गर्नुभयो ।
सरकारले विकास निर्माणको कामलाई अघि बढाउन र जनप्रशासनलाई प्रभावकारी बनाउन छ वटा अध्यादेश ल्याएको बताउँदै उहाँले ती अध्यादेश सङ्घीय संसद्का दुबै सदनबाट पास हुने विश्वास व्यक्त गर्नुभयो ।
अध्यादेश संसद् छल्न नभई जनतासँग प्रत्यक्ष जोडिएका काम छिटोछरितो गर्नका लागि ल्याइएको स्पष्ट गर्दै महासचिव पोखरेलले भन्नुभयो– अध्यादेश संसद् छल्न होइन, संसदबाट लैजाँदा ढिला हुने भएकाले ल्याउनु परेको हो ।
उहाँले भूमि सम्बन्धी अध्यादेश भूमिहीन सुकुम्वासीको समस्या समाधान गर्न ल्याइएको बताउनुभयो । आफूहरूलाई भूमिहीन, सुकुम्वासी, हलियाको पक्षमा भएको बताउने राजनीतिक दलहरू उनीहरूको समस्या समाधान गर्न कानुन ल्याउँदा विरोधमा उत्रिनु विडम्बनापूर्ण स्थिति भएको महासचिव पोखरेलले बताउनुभयोे ।
‘समृद्ध नेपाल, सुखी नेपाली’को स्वप्नदृष्टा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष ओली नै भएको उहाँले बताउनुभयो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले लिनु भएको देश विकास, समृद्धि, स्वाधीनता र स्वाभिमानको सम्मान गर्नुपर्ने उहाँले बताउनुभयो । ‘हामी दङालीहरू काम गर्नेलाई सम्मान गर्न चाहन्छौँ, काम गर्नेहरूलाई सम्मान गर्न चाहन्छौँ’, उहाँले भन्नुभयो ।