detail-img

सबै तहका कमिटीहरूमा युवालाई प्राथमिकताका साथ समेट्नुपर्छः महासचिव पोखरेल

९ फागुन (२०८१), पोखरा । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अबको पार्टी निर्माण अभियान युवा लक्षित हुनुपर्ने बताउनुभएको छ । 
नेकपा (एमाले) कास्कीले आयोजना गरेको तीन महिने वडा केन्द्रित पार्टी काम अन्तर्गतको अभिमुखीकरण कार्यक्रमलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीमा युवालाई आकर्षण गर्ने कार्यक्रमलाई प्राथमकिता दिनुपर्ने बताउनुभयोे । 
महासचिव पोखरेलले भन्नुभयो– देशमा ४० वर्ष मुनिको मतदाता सङ्ख्या ६० प्रतिशत छ । चुनावमा ४० वर्ष मुनिको मतदाता नै निर्णायक हुने भएकाले युवालक्षित गतिविधि आवश्यक छ, यसमा पार्टीका सबै तहका कमिटीले ध्यान दिनुपर्छ ।
पार्टी सबै ठाउँमा पुग्न नसक्ने भएकाले जनसङ्गठनले टोल–टोलमा कमिटी गठन गरेर पार्टीलाई विस्तार गर्नुपर्ने उहाँको भनाइ छ । 
‘एमालेको टोल–टोलमा कमिटी निर्माण गर्नुपर्छ’ उहाँले भन्नुभयो– तल्लो तहको कमिटी निर्माण गर्दा पनि युवालाई नै समेट्नु पर्छ, पार्टीलाई सुदृढीकरण गर्ने पहिलो प्राथमिकता नै युवालाई आकर्षित गर्ने हो ।
महासचिव पोखरेलले जनप्रतिनिधिले गरेको कामलाई जनतासँग जोड्नुपर्ने बताउनुभयो । 
कार्यक्रममा नेकपा (एमाले)का उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीको आन्तरिक जीवनमा एकता कायम नभएको बताउनुभयो । 
उहाँले पार्टीमा देखिएको दक्षिणपन्थी अवसरवाद र साङ्गठानिक अराजकतालाई सबै मिलेर परास्त गर्नुपर्ने बताउनुभयो । सरकारका प्रवक्ता समेत रहनुभएका गुरुङले सरकारले गरेका राम्रा कामको प्रचार हुन नसकेको बताउनुभयो । 
कार्यक्रममा नेकपा (एमाले)का सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य खगराज अधिकारीले अभिमुखीकरण कार्यक्रममा बोल्दै जुन भावना र मर्मअनुसार एमाले र कांगं्रेसको गठबन्धन भएको हो, सोहीअनुसार काम हुन नसकेको बताउनुभयो । कार्यक्रम नेकपा (एमाले) कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीको अध्यक्षतामा भएको थियो ।