detail-img

सरकारले गरेका काम जनतामा पुर्याउन निर्देशन 

१० फागुन (२०८१), जनकपुरधाम । नेकपा (एमाले)का सचिव रघुवीर महासेठले नेकपा (एमाले) नेतृत्वको सरकारले गरेका कामलाई जनताको बीचमा पुर्याउन जिल्लाका नेताकार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
नेकपा (एमाले) जिल्ला कमिटी धनुषाले शनिबार जनकपुरधाममा आयोजना गरेको वडा केन्द्रित पार्टी निर्माण अभियानको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । 
वर्तमान सरकार सफलतातर्फ अग्रसर भइरहँदा  प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा विभिन्न प्रकारका गलत प्रचारवाजीहरू भइरहेको भन्दै सचिव महासेठले गलत प्रचारका विरुद्ध जनतालाई सत्यतथ्य जानकारी गराउन आग्रह गर्नुभयो । उहाँले जनताकै मतको आधारमा एमाले देशको पहिलो पार्टी भएकाले सङ्गठन निर्माणको क्रममा जनताको सेवक भएर जनताको बीचमा जानका लागि नेताकार्यकर्तालाई आग्रह गर्दै जनताकै बलमा एमालेले सरकारको नेतृत्व गरिरहेको बताउनु भयो । 
पार्टीको परराष्ट्र मामिला विभाग प्रमुख समेत रहनुभएका सचिव महासेठले देशको समृद्धि, आर्थिक वृद्धि, राष्ट्रियता र स्वभिमानका लागि एमाले र काँग्रेस मिलेर सरकार बनाएको भन्दै सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को मुल लक्ष्यतर्फ अग्रसर भई काम गरिरहेको बताउनुभयो । 
उहाँले पार्टीभित्र देखिएका गुट उपगुट बन्द गरी पार्टी नीति सिद्धान्त अनुसार काम गर्नका लागि विभिन्न तहतप्काका नेता कार्यकर्तालाई आग्रह गर्दै नेता कार्यकर्ताको बीचमा भावनात्मक एकता भएमा आगामी निर्वाचनमा धनुषामा चारवटै सिटमा एमालेले जित हात पार्ने बताउनुभयो । 
सचिव महासेठले सरकारले ल्याएका अध्यादेश जनताको हितमा रहेको बताउनुभयो । 
कार्यक्रममा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले श्रमजीवी वर्गको सत्तामा नेतृत्वको लागि एमालेलाई आगामी निर्वाचनमा बहुमतका साथ जिताउनु आवश्यक रहेको र त्यसो हुँदा समाजवादको यात्रामा अगाडि बढ्न सकिने बताउनुभयो । 
नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा मधेश प्रदेशका इन्चार्ज लिलानाथ श्रेष्ठले नेकपा (एमाले)को मिसन–२०८४ आगामी निर्वाचनलाई केन्द्रित गरी बहुमत ल्याउनका लागि भएकाले अहिलेदेखि नै सङ्गठनका विभिन्न तहका नेताकार्यकर्ता इमानदारिपूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो । 
नेकपा (एमाले) धनुषाका अध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य जुलीकुमारी महतो, मधेश प्रदेशका अध्यक्ष चन्देश्वर मण्डल, नेकपा (एमाले)का केन्द्रीय सदस्य हरिनारायण महतो लगायत नेताहरूले कार्यकर्तालाई प्रशिक्षण दिनुभएको थियो ।