detail-img

प्रधानमन्त्रीबाट कागज उद्योग उद्घाटन

२२ फागुन (२०८१), महोत्तरी  । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको आज उद्घाटन गर्नुभएको छ । महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सो उद्योगको उद्घाटन गर्नुभएको हो ।

उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक अब आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प नभएको बताउनुभयो । उहाँले औद्योगिक विकास र रोजगारी सिर्जनामा प्राथमिकता दिइने बताउनुभयो ।  
प्रधानमन्त्री ओलीले वर्तमान सरकार केवल सरकारका लागि नभएर  देश बनाउन आएको बताउनुभयो । उहाँले हुलाकी राजमार्ग, सुनकोसी मरिन डाइभर्सनलगायतका योजना छिटो सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो । 
प्रधानमन्त्री ओलीले उद्योग स्थापनाले चुलो चौकोमा सीमित रहनेहरूका लागि पनि सीपका साथै रोजगारी सिर्जना गर्ने बताउनुभयो । उहाँले आफ्नै कागज देशभित्र प्रयोग गर्ने अवसर र व्यापार घाटा सन्तुलनका लागि यसले योगदान दिई आत्मनिर्भर बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । 
प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रयासबिना  समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट रहेकाले औद्योगिक विकास र रोजगारी सिर्जनामा प्राथमिकता दिइने जनाउनुभयो । उहाँले भन्नुभयो– अब हामी आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प छैन । सहकार्यका माध्यमबाट युवाहरूले आँपको खेती विकास गर्न सक्छन् । यसमा प्रदेश सरकारहरू पनि अघि सरुन् । प्रधानमन्त्रीले भन्नुभयो– अब अराजकता, बलमिच्याँइ र जालझेल चल्दैन । उहाँले मुलुकमा अब राजतन्त्र नफर्कने उल्लेख गर्दै सबै संविधान अनुसार चल्नुपर्नेमा जोड दिनुभयो ।
आइएमई ग्रूपको यो उद्योग स्थापना भएसँगै नेपालमा पहिलो पटक नष्ट भएका कागजबाट नयाँ  कागज उत्पादन भई आयात कम गर्न सहयोग पुग्नेछ । यस उद्योगले करिब तीन सय जनालाई रोजगारी दिनेछ । नेपालमा वार्षिक करिब डेढ लाख मेट्रिक टन कागज खपत हुने गरेको छ ।