–बलियो राष्ट्रिय शक्तिले नै बलियो र समृद्ध राष्ट्र निर्माण गर्ने
–पूर्वराजा एक ठाउँबाट अर्को ठाउँ आवतजावत गर्दा स्वागतका नाममा हल्लाखल्ला गर्नुको अर्थ छैन
–दुईतिहाइ ल्याएर आफू अनुकूल संविधानमा व्यवस्था गर्न राजावादीलाई चुनौती
–गणतन्त्रवादीहरू झगडा गर्दा राजावादीहरूले टाउको उठाउने गरेका छन्
२६ फागुन (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक ध्रूवीकरणको अभियान अबको आवश्यकता रहेको बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल मधेस प्रदेशको दोस्रो प्रदेश अधिवेशन उद्घाटन कार्यक्रमलाई आज रौतहटमा सम्बोधन गर्दै महासचिव पोखरेलले आन्दोलनमा रहेकालाई जोडेर बलियो राष्ट्रिय शक्ति निर्माण गर्नु आजको आवश्यकता रहेको बताउनुभयो । बलियो राष्ट्रिय शक्तिले नै बलियो र समृद्ध राष्ट्र निर्माण गर्ने उहाँले स्पष्ट पार्नुभयो ।
काठमाडौंमा पूर्वराजालाई स्वागत गर्ने भनेर हिजो एउटा तमासा देखाइएको उहाँले बताउनुभयो । पूर्वराजा ज्ञानेन्द्रलाई पूर्वराष्ट्राध्यक्षको हैसियतले राज्यले सम्मान नै गरेको महासचिव पोखरेलको भनाइ छ । पूर्वराजालाई देशका कुनै पनि भागमा घुम्ने स्वतन्त्रता रहेको तर कुनै ठाउँबाट कुनै ठाउँमा आउजाउ गर्दा हल्लाखल्ला गर्नुको कुनै अर्थ नरहेको उहाँले बताउनुभयो ।
अहिलेको संविधानमा परिवर्तन ल्याउन कसैलाई इच्छा छ भने संसदमा दुईतिहाइ बहुमत ल्याएर आफ्नो अनुकूल संविधान परिवर्तन गर्न उहाँले राजावादीलाई चुनौती दिनु भयो । ‘जनता मेरो पक्षमा छन् भन्नेले त्यो आँट त गर्नै पर्यो, जुन बाटो छ त्यो बाटो नहिँड्ने, भिर–काल्नामा हिँड्न खोज्ने ?, लोकतन्त्रको राजमार्ग छँदै छ, भिर–काल्नाको बाटो किन हिँड्नु पर्यो ?, भिर–काल्नाको बाटो नहिँडौँ, दुर्घटनामा परिएला, राजावादीहरूले यो कुरा बुझे हुन्छ’, उहाँले भन्नुभयो ।
नेपालमा केही भएको छैन, राजाको पालामा उल्का भएको थियो भन्नेलाई विगतमा भएको आर्थिक, भौतिक र सामाजिक विकाससँग अहिले भएको विकासलाई तुलना गरेर हेर्न महासचिव पोखरेलले सुझाव दिनुभयो । गणतन्त्रले हरेक नागरिकलाई अवसर दिएको हुँदा गणतन्त्र र राजतन्त्रको तुलना नै गर्न नसकिने उहाँले स्पष्ट पार्नुभयो ।
महासचिव पोखरेलले भन्नुभयो– राजाको शासनकालसँग तुलना गर्ने हो भने नेपालमा विकासको चमत्कार नै भएको छ, शाह वंशीय राजतन्त्रको कारण आज हाम्रो देश पछाडि पर्यो भन्ने कुरा हामीले जतालाई बुझाउन सक्नुपर्दछ ।
अहिले युवा सबै विदेश गए भनेर निराशाको कुरा गर्ने गरिएको बताउँदै उहाँले लाहुर जाने नेपाली समाजको विशेषता नै भएको सुनाउनुभयो । यो नेपाली समाजको संस्कार भएको उहाँको भनाइ छ । अहिले पनि ७० लाखदेखि एक करोडसम्म खर्च गरेर चोर बाटो हुँदै अमेरिका जाने मानिसहरू भएका बताउँदै उहाँले त्यो पैसाबाट देशभित्रै धेरै काम गर्न सकिने स्पष्ट पार्नुभयो । अमेरिका जान ८०÷९० लाख खर्च गर्न सक्नेलाई देशमा नै केही गर्न सकिन्छ भन्ने मनोवृत्ति विकास गराउनुपर्ने महासचिव पोखरेलको धारणा छ ।
गणतन्त्रवादीहरू झगडा गर्दा राजावादीहरूले टाउको उठाउने गरेका बताउँदै त्यही अस्थिरतालाई चिर्न नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेको उहाँको भनाइ छ ।
जनतामा बढेको सबै खालको निराशा चिर्न नेकपा (एमाले)को बहुमतको सरकार आवश्यक रहेको र त्यसकै लागि पार्टीले जरा केन्द्रित अभियान चलाएको महासचिव पोखरेलले बताउनुभयो । जनताको विश्वास आर्जन गर्नको लागि पार्टीमा आन्तरिक एकता कायम गर्न आवश्यक रहेको वताउँदै उहाँले कुनै नेताको पछि लागेर होइन, पार्टीको नीति र विचार बोकेर अघि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्यहरू भानुभक्त ढकाल, राजेन्द्र गौतम र लीलानाथ श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । उक्त अवसरमा नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस सङ्गठनका सल्लाहकार तथा बरिष्ठ पत्रकार शितल साह लगायत पत्रकारहरूले उक्त सङ्गठन परित्याग गरी प्रेस चौतारी नेपालमा समाहित हुनुभएको थियो ।
यसैबीच प्रेस चौतारी नेपालले लामो समयदेखि गम्भीर स्वास्थ्य समस्या भई उपचार गराइरहनुभएका सो सङ्गठनका मधेस प्रदेश अध्यक्ष फणी महतको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
नेकपा (एमाले)का महासचिव पोखरेल, जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतम लगायतको उपस्थितिमा सङ्गठका अध्यक्ष गणेश बस्नेतले महतको उपचारका लागि एक लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।