detail-img

एमाले उन्नत समाज निर्माणको अग्रदस्ताः अध्यक्ष ओली

केन्द्रीय कमिटीको पहिलो बैठक सम्पन्न, दोस्रो बैठक यही पुस २६ देखि २८ गतेसम्म 
४ पुस (२०८२), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताउनुभएको छ । 
पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको प्रथम बैठकलाई आज काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ निर्वाचित केन्द्रीय कमिटीले निष्ठा र उत्साहका साथ सो जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले पार्टीको ११औँ महाधिवेशन भव्यताका साथ सम्पन्न भएको र महाधिवेशन हरेक कोणबाट सफल भएको बताउनुभयो । 
पार्टीभित्र समय समयमा केही केही समस्या देखिने गरेको बताउँदै उहाँले आगामी दिनमा त्यस्ता कमजोरीहरू प्रकट नहोऊन् भन्ने कामना गर्नुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– हाम्रो एक आवाज हुनुपर्दछ, दोस्रो विधान महाधिवेशनले पास गरेको नीति अनुसार हामी अगाडि बढ्ने छौँ, बेतालमा बेसुरमा होइन, हामी तालमा अगाडि बढ्ने छौँ । 
केन्द्रीय कमिटीका नेताहरूलाई केही असन्तुष्टि भए नेतृत्व समक्ष मौखिक वा लिखत रूपमा पेस गर्न उहाँले निर्देशन दिनुभयो । पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा गएर नपोख्न अध्यक्ष ओलीले आग्रह गर्नुभयो । 
सामाजिक प्राणी हुनुको नाताले अनुशासन अपरिहार्य भएको उहाँले स्मरण गराउनुभयो । समाज हुनको लागि अनुशासन अपरिहार्य रहेको अध्यक्ष ओलीले स्पष्ट पार्नुभयो । 
उन्नत समाज निर्माणको अग्रदस्ता राजनीतिक पार्टी र ती मध्ये पनि अग्रदस्ताको रूपमा रहेको एमालेभित्र दृढ अनुशासन अपरिहार्य रहेको बताउँदै उहाँले भन्नुभयो– एमाले झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो अनुशासनहीन पार्टी होइन । 
सामूहिक प्रयास र हितका विरुद्ध मेरो निजी कुरा भनेर चल्न नमिल्ने बताउँदै अध्यक्ष ओलीले पार्टीको बैठक पनि अनुशासित रूपमा चल्ने प्रष्ट पार्नुभयो । 
नेकपा (एमाले)का विरुद्ध अनेक भ्रम फिँजाइएको बताउँदै उहाँले यस्ता कुराबाट प्रभावित नहुन नेताहरूलाई आग्रह गर्नुभयो । अब एमालेभित्र कुनै गुट र प्यानल नभएको बताउँदै अध्यक्ष ओलीले अब एमाले एकढिक्का भएर अगाडि बढ्ने स्पष्ट पार्नुभयो । 
देश अहिले अप्ठेरो अवस्थामा रहेको र देशलाई अप्ठेरोबाट सहज बाटोमा ल्याउने काम एमालेले गर्ने उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो– हामी गर्छौं त्यो, नत्र कसले गर्छ त यो देशमा ? अप्ठेरो अवस्था आयो, नेकपा (एमाले) बाहेक अन्य बोल्ने शक्ति नै देखिएन त !
देशमा लोकतन्त्र र गणतन्त्रविरुद्ध गतिविधि चलाउन हिंसा, तोडफोड र आगजनीको घटना गराइएको उहाँले बताउनुभयो । एमालेले आफ्नो गतिशीलतालाई अझ तीब्रता दिएर अघि बढ्ने अध्यक्ष ओलीले स्पष्ट पार्नुभयो । 
उहाँले अब सहर गाउँ सबै ठाउँमा टोल सुरक्षा समिति बनाएर सुरक्षाको व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो । अहिले सिरक ओढेर म जेनजी हुँ भन्दै थर्काउनेको जमात बढेको बताउँदै त्यसका विरुद्ध नेकपा (एमाले)ले टोल सुरक्षा समिति बनाएर अघि बढ्ने अध्यक्ष ओलीले स्पष्ट पार्नुभयो ।
केन्द्रीय कमिटीको आजको बैठकबाट यही पुस २६ गतेदेखि २८ गतेसम्म दोस्रो बैठक काठमाडौंमै बस्ने  निर्णय भएको छ ।  बैठकमा अध्यक्ष ओलीले अर्को बैठकको मितिसमेत बताउनुभएको थियो । 
बैठकको सञ्चालन महासचिव शंकर पोखरेलले गर्नुभएको थियो ।