३ असार (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा नेतृत्व परिवर्तनको प्रश्नै नरहेको बताउनुभएको छ ।
नेकपा (एमाले) पार्टी जागरण अभियान कोशी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो– नेतृत्वका सन्दर्भमा बाहिर जे हल्लाहरू चलिरहेका छन्, ती हल्ला पानीका फोका जस्तै हुन् ।
‘मलाई पार्टीको ११औं महाधिवेशनले देशमा सिर्जना भएका अफ्ठ्याराहरू, पार्टीका लागि आइपरेका अफ्ठ्याराहरूलाई पराजित गरेर आन्दोलनलाई पार लगाउन भनेर अध्यक्षको जिम्मेवारी दिएको हो’, उल्लेख गर्दै अध्यक्ष ओलीले आफूलाई यो जिम्मेवारी छोडेर भाग्छु कि भन्ने आशङ्का नलिन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो–पार्टीलाई अध्यक्षको हैसियतमा हाँक्न महाधिवेशनले जिम्मेवारी दिएको हो । अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिन ।
अध्यक्ष ओलीले विधानमा व्यवस्था नभएको महाधिवेशन प्रतिनिधि परिषद् बैठक भन्दै केही मानिस उत्ताउलिएर बोल्दै हिडेको बताउँदै त्यस्तो भ्रममा, अन्यौलमा पर्दै नपर्न नेताकार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो– हाम्रो पार्टी फुटाउने प्रयास निरन्तर हुँदै आएको छ । यसपटक पनि छेउकिनारामा प्रयास भइरहेका छन् । त्यसलाई असफल पार्नुपर्दछ ।
अध्यक्ष ओलीले पार्टीमा नीति, विचार र सिद्धान्तमा कुनै विवाद नरहेकाले पार्टी एकभाषा एक आवाजका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
‘यतिबेला देश सङ्कटमा रहेको, प्रजातन्त्र अपहरित भएको र जनतामाथि दमन गर्ने दमनकारी फाँसीवादी चरित्रको सरकार चलिरहेको र हाम्रो पार्टीले यस्तो अवस्थाबाट देशलाई पार लगाउनुपर्ने छ’, अध्यक्ष ओलीले भन्नुभयो– त्यसकारण पार्टी आन्तरिक विवाद र झमेला निकाल्नेतर्फ होइन, आन्तरिक एकताको बाटोमा अगाडि बढ्नु आवश्यक छ ।
नेकपा (एमाले) खरानीको डल्लो जस्तो नभई सुदृढ र एकताबद्ध पार्टी भएको उल्लेख गर्दै उहाँले नेकपा (एमाले)ले निकट भविष्यमा फेरि जित्ने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष ओलीले पार्टीको विजयका लागि जनताको विश्वास जित्ने वाहेक अर्को विकल्प नभएको बताउँदै सबै नेताकार्यकर्तालाई सक्रिय भएर लाग्न निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो– राष्ट्रिय राजनीतिमा एमालेले फेरि पनि सशक्त भूमिका खेल्ने छ । राष्ट्रिय राजनीतिमा परिवर्तन ल्याउने छौं ।
अध्यक्ष कमरेड केपी शर्मा ओलीले गर्नुभएको भर्चुअल सम्बोधनका मुख्य बुँदाहरू–
-अधिनायकवादी सरकार चलाउन चाहनेहरूबाट हामीले दुईपटक धक्का खायौं । पहिलो गतबर्ष भदौ २३÷२४ को विध्वंशबाट र दोस्रो विध्वंशबाट बनेको सरकारलाई वैधानिकता दिन फागुन २१ गते मञ्चन गरिएको निर्वाचनबाट ।
-अहिले देशमा फाँसीवादी शासन चलिरहेको छ । सरकारबाट जनतामाथि दमनका साथै अपराधपूर्ण काम भइरहेका छन् ।
-देशको भविष्य अफ्ठ्यारोमा परेको छ । उद्योग, व्यवसाय, रोजगारी, अर्थतन्त्र समग्र क्षेत्र अफ्ठ्यारोमा परेका छन् । राजनीति प्रतिगमनतर्फ गएको छ ।
-हाम्रो पार्टीले यस्तो अवस्थाबाट देशलाई पार लगाउनुपर्ने छ । त्यसकारण पार्टी आन्तरिक विवाद र झमेला निकाल्नेतर्फ होइन, आन्तरिक एकताको बाटोमा अगाडि बढ्नु आवश्यक छ ।
-पार्टीमा नीति, विचार र सिद्धान्तमा कुनै विवाद नरहेकाले पार्टी एकभाषा एक आवाजका साथ अगाडि बढ्नुपर्छ ।
-पार्टीमा स्थायी कमिटी, पोलिटव्यूरो गठनको काम बाँकी छ । पार्टीमा योगदान गर्नुभएका केही त्यागी साथीहरूलाई केन्द्रीय कमिटीमा मनोनयन गर्नुपर्ने छ । अहिलेको कार्यविभाजन अस्थायी कार्य विभाजन हो । स्थायी कमिटी, पोलिटव्यूरो गठन र मनोनयनको काम सम्पन्न गरिएपछि स्थायी खालको कार्यविभाजन हुने छ । सबैलाई यथोचित ढङ्गले काम दिइने छ ।
-यतिबेला देश सङ्कटमा छ, प्रजातन्त्र अपहरित छ, फाँसीवादी चरित्रको सरकार चलिरहेको अबस्था छ । विना कारण, विना आरोप गिरफ्तार गर्ने र अकारण १३ दिनसम्म प्रहरीको नियन्त्रणमा राखेर मुद्दा चलाउने आधार नभेटिएपछि अदालतको आदेशमा छोड्ने काम भएको छ । रिस उठेको मानिसलाई पहिला पक्रेर थुन्ने, अनि थुन्ने आधार खोज्ने सरकारको फाँसीवादी चरित्र हो ।
-म नैतिकता, इमान, बचन र देशभक्तिमा कहिल्यै चुकेको छैन र फेरि पनि चुक्दिन । मैले देश र जनताप्रतिको निष्ठालाई निरन्तरता दिने छु ।
-मलाई पार्टीको ११औं महाधिवेशनले देशमा सिर्जना भएका अफ्ठ्याराहरू, पार्टीका लागि आइपरेका अफ्ठ्याराहरूलाई पराजित गरेर आन्दोलनलाई पार लगाउन भनेर अध्यक्षको जिम्मेवारी दिएको हो ।
-म यो जिम्मेवारी छोडेर भाग्छु कि भन्ने आशङ्का नलिनुहोला । पार्टीलाई अध्यक्षको हैसियतमा हाँक्न महाधिवेशनले जिम्मेवारी दिएको हो । अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिन ।
-नेतृत्वका सन्दर्भमा बाहिर जे हल्लाहरू चलिरहेका छन्, ती हल्ला पानीका फोका जस्तै हुन् । नेतृत्व परिवर्तनको प्रश्नै छैन । विधानमा व्यवस्था नभएको महाधिवेशन प्रतिनिधि परिषद् बैठक भन्दै केही मानिस उत्ताउलिएर बोल्दै हिडेका छन् । त्यस्तो भ्रममा, अन्यौलमा पर्दै नपर्न अनुरोध गर्दछु ।
-हाम्रो पार्टी फुटाउने प्रयास निरन्तर हुँदै आएको छ । यसपटक पनि छेउकिनारामा प्रयास भइरहेका छन् । त्यसलाई असफल पार्नुपर्दछ ।
-पार्टीका विरुद्ध लाग्ने मान्छेहरु पार्टीमा टिकेका छैनन्, विग्रेका छन् । विगत त्यस्तो छ । धेरै बर्ष पार्टीमा काम गरेका मानिसहरु, नेताहरूले आफूलाई जनवादीबाट राजावादी, गणतन्त्रवादीबाट राजतन्त्रवादी हुँदै नागरिकबाट रैति बनाउने काम गरेका छन् । गलत बाटोमा लाग्नु भनेको पतनको बाटो हो । त्यसबाटोमा नलाग्न म आग्रह गर्दछु ।
-पार्टीले चुनाव परिणामबाट धक्का खाएको र पार्टीका लागि प्रतिकूल परिस्थिति सिर्जना भएको अवस्था रहे पनि चुनैतीको सामना गरेर नयाँ परिस्थिति ल्याउने छौं । प्रतिकूल परिस्थिति आउनासाथ हरेश खानुहुँदैन ।
-हाम्रो पार्टी कमजोर छैन । देशका अरु सबैभन्दा बलियो र एकताबद्ध पार्टी हाम्रो पार्टी हो । हाम्रो पार्टी विचारमा सुदृढ छ । पार्टीमा शुद्धीकरण र सुदृढीकरणको प्रक्रिया सञ्चालन गर्दै अनुशासन कायम गरेर धक्काको सामना गर्ने छौं ।
-नेकपा (एमाले) खरानीको डल्लो जस्तो होइन । हामी उठ्ने छौं । निकट भविष्यमा फेरि जित्ने छौं । त्यसका लागि राम्रो काम गर्ने, जनताको विश्वास जित्ने वाहेक अर्को विकल्प छैन ।
-पार्टीको विजयका लागि सक्रिय भएर लाग्नुस् । राष्ट्रिय राजनीतिमा एमालेले फेरि पनि सशक्त भूमिका खेल्ने छ । राष्ट्रिय राजनीतिमा परिवर्तन ल्याउने छौं ।
कार्यक्रममा पार्टीका महासचिव शंकर पोखरेल लगायत नेताहरूले अभिमुखीकरण गर्नुभएको थियो ।