८ असार (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले एकपटक एउटा मोर्चामा पराजय व्यहोर्नु परे पनि फेरि जित्ने विश्वास व्यक्त गर्नुभएको छ ।
निर्वाचन समीक्षाका साथै पार्टी पुनर्गठनसम्बन्धमा सुझाव लिन सुर्खेतमा आज आयोजना गरिएको प्रदेशस्तरीय भेलालाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले एकपटक एउटा मोर्चामा पराजित हुँदैमा पार्टीपङ्ती निराश हुनु आवश्यक नरहेको बताउनुभयो ।
नेकपा (एमाले)ले सरकारको नेतृत्व गर्दा ऐतिहासिक र देशभक्तिपूर्ण कामहरू गरेको र आलोचना गर्ने ठाउँ समेत नरहेको स्मरण गर्दै अध्यक्ष ओलीले एमालेलाई नसिध्याई देश कमजोर बनाउन सकिन्न भन्ने प्रतिक्रियावादीहरू दुनियाँ लागेर निर्वाचनमा एमालेलाई हराएको स्पष्ट गर्नुभयो ।
गत फागुन २१ गतेको निर्वाचनबाट देशलाई फाँसिवादतिर लैजाने लाइसेन्स उपलब्ध भएको उहाँको भनाइ छ ।
अध्यक्ष ओलीले अहिले समाजलाई आस्थाहीन, मर्यादाहीन र संस्कारहीन बनाउँदै देशमा आतङ्कको राज सिर्जना भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो– देशको पक्षमा आवाज उठाउँदा पञ्चायती व्यवस्थामा भन्दा अहिले बढी दमन हुन थालेको छ ।
‘फाँसिवादले लामो समय राज गर्न सक्दैन, यो प्रकृतिको, राजनीतिको र समाज विकासको नियम हो’ अध्यक्ष ओलीले सधै जनताले नहार्ने बताउनुभयो ।
अहिले साना देशलाई आफ्नो नियन्त्रणमा लिने कुरामा केन्द्रित भएर विश्वमा यस्ता ट्रेण्ड चलेको र यस्तो परिस्थिति सधै नरहने बताउँदै अध्यक्ष ओलीले विश्व जनताका पक्षमा, न्यायका पक्षमा र शान्तिका पक्षमा उभिने विश्वास व्यक्त गर्नुभयो ।
नेकपा (एमाले)सँग सही नीति, सही विचार र सही गन्तव्य रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– हामीले निराश हुनु आवश्यक छैन । उच्च मनोबलका साथ एकताबद्ध भएर अगाडि बढ्नुपर्छ ।
पार्टी र आन्दोलनलाई विनाशको बाटोमा जान दिनुहुँदैन भन्दै अध्यक्ष ओलीले आफ्नोतर्फबाट यसमा पूरा प्रयास हुने बताउनुभयो । हामीविरूद्ध चौतर्फी हमला भइरहेको छ भन्ने कुरा बुझेर सिङ्गो पार्टीपङ्तीले जिम्मेवारीबोधका साथ अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो ।