detail-img

हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँः महासचिव पोखरेल

९ असार (२०८३), सुर्खेत । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले इतिहासका विभिन्न कठिन परिस्थितिहरूको सामना गर्दै पुनः उठ्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि पार्टीलाई जनविश्वासको केन्द्रका रूपमा स्थापित गरिने बताउनुभएको छ । 
नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीले सोमबार सुर्खेतमा आयोजना गरेको एकदिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीमा सङ्कट पर्दा जनताले नै संरक्षण गर्ने भएकाले जनताका भावना, आवश्यकता र अपेक्षालाई बुझ्नुपर्नेमा जोड दिनुभयो ।
पार्टीले निर्माण गरेका नीति तथा कार्यक्रम जनतासम्म प्रभावकारी रूपमा पुर्याउन नसक्दा कतिपय अवस्थामा गलत बुझाई उत्पन्न भएको उहाँले बताउनुभयो । 
‘निराशालाई आशामा बदल्नु आजको आवश्यकता हो,’ महासचिव पोखरेलले भन्नुभयो– जनताको विश्वास जित्न पार्टीले आफ्ना विचार, नीति र कार्यक्रमलाई थप प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्छ ।
उहाँले युवाहरूलाई पार्टीसँग जोड्न नसक्नु एमाले कमजोर देखिनुको एउटा प्रमुख कारण भएको उल्लेख गर्दै युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकतामा राखेर संगठनलाई पुनः सुदृढ बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ, कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ । 
उहाँले पार्टीलाई जनताको विश्वासयोग्य शक्ति बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा कर्णाली प्रदेशका नेता, कार्यकर्ता तथा पार्टीका विभिन्न तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा संगठन सुदृढीकरण, विचार अभिमुखीकरण तथा आगामी राजनीतिक कार्यदिशाका विषयमा छलफल गरिएको थियो ।