detail-img

घोषणापत्रका ग्यारेण्टी र प्राथमिकताका विषय जनतामा पुर्याउन निर्देशन

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज देशभरका नेकपा (एमाले) का उम्मेदवारहरूलाई जुम बैठकमार्फत सम्बोधन गर्नुभएको छ । 
सम्वोधनमा अध्यक्ष ओलीले पार्टीकोे निर्वाचन घोषणापत्र पाँचबर्षका लागि मार्गदर्शन भएकाले त्यसमा भएका देश निर्माण र जनतासँग सरोकार राख्ने मुख्य विषयहरूलाई जनतामा पुर्याउन निर्देशन दिनुभयो । 
अध्यक्ष ओलीले घोषणापत्रमार्फत पार्टीले अगाडि सारेका २० ग्यारेण्टी, ३० कार्यक्रम र प्राथमिकता तोकिएका २४७ विषयहरू जनतामा पुर्याउनुपर्ने वताउनुभयो । 
उहाँले घोषणापत्रमा संघीय लोकतान्त्रिक प्रणालीको सही कार्यान्वयनका लागि महत्वपूर्ण मार्ग निर्देशन समेत रहेको जानकारी गराउनुभयो ।

 
जनादेश लिन जाने निर्णय विल्कुलै ठीक थियो

पार्टीभित्रैबाट अवरोध, असहयोग हुँदाहुँदै पनि आफ्नो नेतृत्वको सरकारले ४१ म्हिनामा धेरै काम गरेको र घोषणापत्रमा ती काम ८२ माइलस्टोनका रूपमा प्रस्तुत गरिएको वताउँदै अध्यक्ष ओलीले ती कामका बारेमा जनतालाई जानकारी गराएर प्रतिक्रियावादी र प्रतिगामी तत्वहरूले नेकपा (एमाले) विरुद्ध फैलाइरहेका भ्रमलाई दृढतापूर्वक खण्डन गर्नुपर्छ भन्नुभयो ।  
पार्टीभित्रैका प्रतिगामी, भ्रष्ट, स्वार्थी तत्वहरू सरकार र पार्टी कब्जा गर्ने षडयन्त्रमा लागेका र उनीहरू २०७४ सालको जनादेशविपरीत जान थालेपछि आफूले देशको हितका लागि  जनादेशमा जाने निर्णय लिएको स्पष्ट गर्दै अध्यक्ष ओलीले संसद विघटन गरी जनतामा जाने त्यो कदम विल्कुल ठीक रहेको वताउनुभयो ।

परमादेशबाट सरकार बनाउने प्रतिगामी हुन् 
अध्यक्ष ओलीले राजनीतिक विषयमा अदालत गुहार्ने र संसदबाट हुने प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी गर्ने/गराउने कुरा प्रतिगमन भएकाले यस कुरालाई दृढतापूर्वक जनतामा लैजान आग्रह गर्नुभयो । 
उहाँले सार्वभौमसत्ता सम्पन्न जनतामा जाने कुरालाई प्रतिगमन भयो भन्दै प्रतिगामी र भ्रष्टहरूले नेपाली गोयबल्सको अवतारमा एमालेविरूद्ध रटान लगाइरहेको वताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– ‘खासमा दुईतिहाई बहुमत पुर्याएर सरकार सञ्चालन गरिरहेको प्रधानमन्त्री र पार्टी अध्यक्षलाई हटाउने र जनताले १६५ सिटमध्ये २३ सिटमा खुम्चाएको नेपाली काँग्रेसलाई सरकारको नेतृत्व गराई विदेशीका लागि कम्फर्टेवल सरकार बनाउने स्वार्थी तत्वहरू नै प्रतिगमनकारी हुन् ।’

प्रवृत्ति नबदलिएसम्म प्रणाली परिवर्तनको अर्थ छैन 
अहिले त्यस्ता कतिपयले हामीले अहिले अङ्गीकार गरिरहेको राजनीतिक प्रणालीलाई दोष देखाएर आफ्ना कमजोरीहरू ढाकछोप गर्ने दुष्प्रयास गरिरहेको उहाँले वताउनुभयो ।अध्यक्ष ओलीले एमालेले देशको विकास द्रुत गतिमा अगाडि बढाउन प्रशासनिक जटिलता लगायत बाधा पुर्याइरहेका कानुन संशोधन, परिमार्जन र नयाँ कानुन निर्माणको कामलाई प्राथमिकतामा राखे पनि अहिले संविधान संशोधन गरी राजनीतिक प्रणाली परिवर्तनको पक्षमा नरहेको स्पष्ट गर्नुभयो । 
अध्यक्ष ओलीले अदालतबाट परमादेश जारी गर्ने/गराउने प्रवृत्ति रहेसम्म राजनीतिक प्रणाली बदल्ने कुराको अर्थ नरहने स्पष्ट गर्नुभयो । 
उहाँले एमाले बाहेक अरूले देश बनाउन सक्दैनन् भन्ने कुरा जनतामा दृढताका साथ लैजान र देश बनाउने पक्षमा मतदानका लागि आग्रह गर्न पार्टीका उम्मेदवारहरूलाई निर्देशन दिनुभयो ।

घोषणापत्र राष्ट्र निर्माणको नीति, कार्यक्रम र सङ्कल्प

पार्टीको निर्वाचन घोषणापत्र राष्ट्र निर्माणको नीति, कार्यक्रम र सङ्कल्प  भएको स्पष्ट गर्दै अध्यक्ष ओलीले भन्नुभयो– ‘तपाई एमालेका उम्मेदवारहरूले राष्ट्र निर्माणको काममा सँगै हिड्न सक्नेलाई पार्टीमा समाहित गरी सँगै हिडाउनुस् । नसक्नेलाई एमालेको पक्षमा मतदान गरी देश बनाउने अभियानमा सहयोग गर्नुस् भन्नुपर्छ ।’
उक्त जुम बैठकमा अध्यक्ष ओलीका साथमा महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल उपस्थित हुनुुहुन्थ्यो भने देशका विभिन्न जिल्ला र निर्वाचन क्षेत्रबाट पार्टीका प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरू सहभागी हुनुभएको थियो ।