detail-img

देश बनाउनका लागि एमालेको सरकारः अध्यक्ष ओली  

झापा  । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आधुनिक नेपाल निर्माणको अगुवाई गर्ने पार्टी एमाले मात्रै भएकाले मंसिर ४ को चुनावपछि एमालेको सरकार बन्ने वताउनुभएको छ ।  
नेकपा (एमाले) झापा निर्वाचन क्षेत्र नं ४ मा  बिहीबार आयोजित दुई चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिर ४ पछि एमालेकै सरकार बन्नुपर्छ भनेर जनताले नै भनिरहेको बताउनुभयो ।
देशमा देख्न/देखाउन लायक सबै काम एमालेले गरेको उहाँले बताउनुभयो ।
ज्येष्ठ नागरिकलाई भत्ता सुरु गर्ने एमाले भएको बताउँदै उहाँले भन्नुभयो– ‘एमालेले सरकार गठन गर्नु अघिका कुनै सरकारले ज्येष्ठ नागरिकलाई सम्झिएनन्, एमालेले महिनाको एक सय रुपियाँबाट सम्झिएको जेष्ठ नागरिक भत्ता आज दिनको १३३ भन्दा बढी भएको छ, महिनाको चारहजार पुर्याइएको छ, अपाङ्गता भएकालाई पनि एमालेले भत्ता दिएको छ ।’
सडकमा पुुगेका बालबालिका, असहाय मानिसको व्यवस्थापन, भिखमङ्गारहित देश बनाउने अभियान, दुर्गममा हेलिकोप्टर पठाएर गर्भवती र सुत्केरीको उद्धारको काम एमालेले गरेको स्मरण गर्दै अध्यक्ष ओलीले भन्नुभयो–‘तुइन विस्थापन, पेट्रोलियम पाइपलाइन, रेल सञ्चालनदेखि नेपाललाई सुरुङमार्गको युगमा प्रवेश गराउने काम पनि एमालेले गरेको हो ।’
एमाले मात्रै एउटा कार्यक्रम लिएर देश बनाउने नीतिका साथ अगाडि बढेको बताउँदै अध्यक्ष ओलीले गठबन्धन दललाई निर्वाचनपछि कुन घोषणापत्र कार्यान्वयन गर्ने भनेर प्रश्न गर्नुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो, ‘उनीहरु एउटा गठबन्धनमा त छन् तर, सबैको आ–आफ्ना घोषणापत्र छन् । चुनावपछि के गर्छौ भन्दा एउटाले एउटा कुरा भन्दा अर्काले अर्काे । गठबन्धन चाहिँ कायम राख्ने भन्छन् तर एउटा पूर्व जाने भन्छ अर्कोले पश्चिम । कुनै एउटा कार्यक्रम छैन ।’

उहाँले आगामी निर्वाचनपछि फुटेको हाँडीजस्तो चारतिर फर्केका मुखहरु लिएर अब सरकार नबनाउने बताउनुभयो । 
अध्यक्ष ओलीले एकठाउँमा बस्नै नसक्ने प्रचण्डको चुलबुले बानीका कारण नेकपाको एकता भङ्ग भएको वताउनुभयो । 
पार्टी एकीकरण गरिसकेपछि एकतावद्ध पार्टीमा बसेर देश बनाउनुपर्नेमा प्रचण्डले केही कार्यकर्तालाई अल्मलाएर आफैसँग लगेको उहाँको भनाई थियो ।  
अध्यक्ष ओलीले एमालेको देश बनाउनेबाहेक अन्य कुनै स्वार्थ नभएको भन्दै गठबन्धन छाडेर एमालेमा आउन नेपाली काँग्रेस र माओवादीका नेताकार्यकर्तालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा झापा क्षेत्र नं. ४ का प्रतिनिधि सभाका एमालेका उम्मेदवार एलपी साँवा लिम्बूले नेपालको विकास र समृद्धिका लागि अध्यक्ष ओलीको विकल्प नभएको बताउनुभयो । 
अध्यक्ष ओली बिना देशले काँचुली फेर्न नसक्ने भएकाले नै एमालेले आगामी पाँच वर्षका लागि प्रधानमन्त्रीका रुपमा अगाडि सारेको साँवाले वताउनुभयो । 
उहाँले भन्नुभयो– ‘नेपाललाई अविकसित र पछौटेपनबाट मुक्ति दिनका लागि केपी ओली नै चाहिन्छ ।’
एमाले सरकारमा भएका बेला मुटुरोगी, क्यान्सर र मिर्गाैला रोगीहरुलाई उपचार खर्च दिएको स्मरण गराउँदै साँवाले यस्ता रोगीलाई प्रत्येक महिना पाँचहजार रुपैंया औषधी उपचार खर्च उपलब्ध गराउने गरेको बताउनुभयो । 
नेता साँवाले एमालेको सरकारले जनतालाई आधारभूत स्वास्थ्य सेवा पुर्याउन एकैपटक ३९६ वटा अस्पताल निर्माण सुरु गरेको र झापा–४ को शिवगञ्जमा १५, कनकाईमा १५ र झापा गाउँपालिकाको टाघनडुब्बामा १० शैयाको अस्पताल निर्माण भइरहेको जानकारी दिनुभयो ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार साँवाले यस पटक निर्वाचित भएर गएपछि विगतका अधुरा योजनाहरुलाई पूरा गर्ने र कयौं नयाँ योजनाहरु यस क्षेत्रमा ल्याउने आफ्नो योजना रहेको बताउनुभयो । ‘शिक्षा, स्वास्थ्य, रोजगारी, विकास पूर्वाधार र सामाजिक सुरक्षा मेरा मुख्य कामका क्षेत्र हुन्’ साँवाले भन्नुभयो ‘तपाईंहरु ढुक्कले मलाई मत हाल्नुहोस्, म यस क्षेत्रको विकास र समृद्धिका लागि ढुक्कले खट्छु ।’