काठमाडौं । नेकपा (एमाले) ले बाजुरामा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य चेतन अयडीको हत्यामा संलग्नहरूलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेको छ ।
नेकपा (एमाले) केन्द्रीय कार्यालयद्वारा आज प्रेस विज्ञप्ति जारी गरी सत्ता गठबन्धनका कार्यकर्ताहरूले राज्यशक्तिको आडमा विद्यार्थी नेता अयडीलाई घरमा सुतिरहेको अवस्थामा नृशंस हत्या गरेको र घटनामा संलग्न अपराधीहरुलाई तत्काल पक्राउ गरी कारवाही अगाडि बढाउनुपर्नेमा प्रहरी प्रशासन मौन रहेको भन्दै आपत्ति जनाइएको छ ।
एमालेले घटनाको घोर भर्त्सना गर्नुका साथै हत्यामा संलग्न अपराधिहरूलाई तत्काल पक्राउ गरी कानुनी कारवाही गर्न माग गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीद्वारा जारी विज्ञप्तिमा देशका विभिन्न जिल्लामा सत्ता गठबन्धनद्वारा मतदान केन्द्र कब्जा गरी फर्जी मत खसाली धाँधली गरेको भन्दै ती ठाउँहरूमा पुनः मतदानको माग गरिएको छ ।
नेकपा (एमाले) द्वारा जारी प्रेस विज्ञप्ति यस प्रकार रहेको छः
यही २०७९ मंसिर ४ गते बाजुरामा सत्ता गठबन्धनका कार्यकर्ताहरूले राज्यशक्तिको आडमा अनेरास्ववियुका केन्द्रीय सचिवालयका सदस्य चेतन अयडीलाई त्रिवेणी नगरपालिका–७ स्थित घरमा सुतिरहेको अवस्थामा नृशंस हत्या गरेका छन् । नेकपा (एमाले) उक्त घटनाको घोर भर्त्सना गर्दछ । घटनामा संलग्न अपराधीहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्नुको सट्टा गृह प्रशासनको मौनताप्रति आपत्ति जनाउँदै हाम्रो पार्टी घटनामा संलग्नहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न जोडदार माग गर्दछ ।
स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत चापाकोट नगरपालिकाका चारवटा मतदान केन्द्र सत्ता गठबन्धनले कब्जा गरी फर्जी मत खसालेका छन् । त्यहाँ बुथ कब्जा गर्न प्रहरीको प्रत्यक्ष सहयोग भएको छ । हाम्रो पार्टी ती मतदान केन्द्रमा पुनः मतदानको जोडदार माग गर्दछ ।
दोलखाको तामाकोशी गाउँपालिका–२ जफेको कालापानी, जामुने, मालु लगायतमा सत्ता गठबन्धनका उम्मेदवार कुन्दनराज काफ्लेको नेतृत्वमा नेकपा (एमाले) का कार्यकर्ताहरूमाथि साङ्घातिक आक्रमण गरी मतदान केन्द्र कब्जा गरिएको छ । ती मतदान केन्द्रमा जनताको मताधिकार खोसिएको हुँदा पुनः मतदान गरिनुपर्छ ।
सत्ता गठबन्धनबाट गोरखाका दुवै निर्वाचन क्षेत्रका विभिन्न मतदान केन्द्रमा मृतक, अनुपस्थित मतदाताहरूको नामबाट मतदान गरी व्यापक धाँधली भएको छ । त्यहाँ मृतक र अनुपस्थित मतदाताका नाममा मतदान रोक्न खोज्दा हाम्रो पार्टीका मतदान प्रतिनिधिहरूमाथि हातपात गरिएको छ । गोरखा क्षेत्र नम्बर १ अन्तर्गत विन्द्रावती मावि मसेल, बालकल्याण आधारभूत विद्यालय फुस्रेमाटा, आरुघाट गाउँपालिका–१ मान्वु, धार्चे–३ को पार्वती आधारभूत विद्यालय, गोरखा–२ अन्तर्गत सिरानचोक गाउँपालिकाको सरस्वती आधारभूत विद्यालय, वारपाक सुलिकोट गाउँपालिकाको हिमालय मावि सौरपानी, सूर्याेज्योति मावि ताकु मतदान केन्द्रमा नेकपा (एमाले) पुनः मतदानको माग गर्दछ ।