detail-img

अन्तर प्रदेशस्तरीय सम्पर्क कमिटी फुटसल प्रतियोगिता सम्पन्न

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सम्पर्क समन्वय कमिटीको आयोजनामा सम्पन्न अन्तर प्रदेशस्तरीय सम्पर्क कमिटी फुटसल प्रतियोगिता सुदूर पश्चिम प्रदेश सम्पर्क कमिटीले जितेको छ । 
कुल पन्ध्र टिम सहभागी उक्त प्रतियोगितामा सुदूर पश्चिमले कर्णाली प्रदेशलाई ३–१ गोल अन्तरले पराजित गर्दै विजय सुनिश्चित गरेको हो ।
ललितपुरको च्यासलस्थित फुटसल मैदानमा सम्पन्न प्रतियोगिताको सर्वाधिक गोलकर्ता  र बेस्ट प्लेयरको उपाधि सुदूर पश्चिमकै टिमका  खेलाडी भएका छन । चार गोल गर्दै शहिल बिस्ट सर्वाधिक गोलकर्ता बने भने मिलन रेग्मी बेस्ट प्लेयर अफ टुनामेन्ट बन्न सफल भए ।
उत्कृष्ट गोलरक्षकको उपाधि  खेलको उपविजेता टिम कर्णालीका गोलकिपर गोरख कार्कीको पोल्टामा परेको छ । उक्त प्रतियोगितामा लुम्बिनी सम्पर्क कमिटीको टिमले बागमतीलाई हराउँदै तेस्रोे बन्न सफल भएको छ ।


फुटसल प्रतियोगिताको उद्घाटन नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गर्नुभएको थियो । 
सो अवसरमा संक्षिप्त मन्तव्य राख्दै महासचिव पोखरेलले खेल प्रतियोगिताका माध्ययमबाट सामुहिक भावनाको विकास हुने बताउनुभयो । उहाँले खेलबाट एकता र समृृद्धिमा योगदान पुग्ने बताउनुभयो । 
खेलले मानिसको थकान र मानसिक तनावलाई मुक्त गर्ने चर्चा गर्दै महासचिव पोखरेलले यसकै माध्यममा स्वस्थ जीवनलाई राजनैतिक जीवनमा फर्काउने आधार निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । 
प्रतियोगिताको आयोजना गरेर सम्पर्क समन्वय कमिटीले प्रतिभा प्रस्फुटनको अवसर सिर्जना गरेको  उल्लेख गर्दै उहाँले राम्रो खेल प्रदर्शन गर्न र भविष्यमा पनि खेल जीवनमा सफलता हासिल गर्न शुभकामना दिनुभयो । 
सम्पर्क समन्वय कमिटीका अध्यक्ष श्याम कुमार वस्नेतले प्रतिभा प्रस्फुटनसँगै एकअर्कामा सामुहिक भावनाको विकास गर्न यस्तो प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । 
प्रतियोगिता उद्घाटन समारोहमा नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटीका ईञ्चार्ज लालबाबु पण्डित, कमिटीका सचिव ईन्द्र भण्डारी लगायतको उपस्थिति रहेको थियो । 
त्यसअघि प्रतियोगितास्थल च्यासलमा मार्चपासको आयोजना गरिएको थियो ।