detail-img

निर्वाचनमा बनेका समूह पार्टीभित्र गुटका रूपमा रहन सक्दैनन्ः सचिव अर्याल

बुटवल । नेकपा (एमाले)की सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले पार्टीभित्र गुटको राजनीतिलाई क्षमा नहुने बताउनुभएको छ । 
लुम्बिनीमा पहिलो प्रदेश अधिवेशन सम्पन्न गरेपछि सचिव अर्यालले पार्टीभित्र स्थायी गुट निर्माण गरिए त्यसलाई क्षमा गर्न नसकिने बताउनुभयो । 
अधिवेशनको क्रममा दुई समूह बनाएर लागेका नवनिर्वाचित अध्यक्ष राधाकृष्ण कंडेल र हरि रिजालको समूहलाई स्थायी गुट नराखी मिलेर अघि बढ्न निर्देशन समेत उहाँले दिनुभयो ।


नेकपा (एमाले) लुम्बिनी प्रदेश कार्यालय बुटवलमा बुधबार (२०७९ भदौ २० गते) आयोजित सपथग्रहण तथा बधाई कार्यक्रममा बोल्दै नेतृ अर्यालले अधिवेशनका समयमा बनाएको टिम सदाको स्थायी गुट नभएको र स्थायी गुट भए त्यो क्षम्य नहुने बताउनुभयो । 
अधिवेशनको समयमा पार्टी नेतृत्वलाई जोडेर जुन समूह निर्माण गरिएको भए पनि ती सबै कुराहरू अब सकिएको उल्लेख गर्नुभयो । लुम्बिनी प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि प्रजातान्त्रिक र सहमतीय विधि प्रयोग गरिएको उहाँले बताउनुभयो ।
अधिवेशन सफलतापूर्वक सम्पन्न भएको वताउँदै लुम्बिनी इन्चार्ज अर्यालले चुनावमा निर्वाचित तथा पराजित नेता कार्यकर्तालाई निष्क्रिय नहुन, कुण्ठा नबोक्न र जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिनुभयो । साथै निर्वाचनको परिणामसँग जोडेर पार्टीलाई क्षति हुने गतिविधि नगर्न उहाँले आग्रह गर्नुभयो । 
पोलिटब्युरो सदस्य सूर्य थापाले अन्य  प्रदेशहरूमा समेत अधिवेशनको तयारी बीच लुम्बिनीले सकारात्मक सन्देश दिन सफल भएको बताउनुभयो  । उहाँले अब नयाँ नेतृत्वले काम गरेर देखाउने अवसरका रूपमा लिनुपर्ने बताउनुभयो ।
नवनिर्वाचित अध्यक्ष राधाकृष्ण कंडेलले पार्टीलाई अझ सशक्त बनाउन लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पार्टीका नीति, विचार, सिद्धान्त, कार्यक्रम र योजनाहरू लागु गर्ने गरी आफूले लिएको लक्ष्य, उद्देश्य पूरा गर्ने गरी पार्टीलाई आगामी निर्वाचनमा पहिलो पार्टीका रूपमा स्थापित गर्न लाग्ने उहाँको भनाइ थियो । 
अध्यक्ष  पदमा प्रत्यासी हरिप्रसाद रिजालले प्रतिस्पर्धाको नतिजाले आफूलाई थप सुधार्ने मौका दिएको बताउनुभयो । प्रतिस्पर्धामा  उत्रिएपछि सफलता वा असफल हुनु स्वाभाविक भएको हुँदा आफूले सुधारिने मौका पाएको बताउनुभयो । 
नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट  राधाकृष्ण कंडेलको अध्यक्षतामा २०५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गरेको छ ।