detail-img

अध्यक्ष ओलीद्वारा लेखा आयोगलाई मार्गदर्शन– ‘आयोग स्वतन्त्र र स्वायत्त रूपमा काम गर्न सक्षम छ’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले न्यायपूर्ण समाज निर्माण गर्ने लक्ष्यका साथ पार्टी अगाडि बढिरहेकाले काम गर्दा पारदर्शिता, मितव्ययिता र शुद्धतालाई ध्यानमा राख्नुपर्ने बताउनुभएको छ । 
नेकपा (एमाले) केन्द्रीय लेखा आयोगको आठौं पूर्ण बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीले अनुशासन र नियममा चल्ने न्यायपूर्ण समाज निर्माण गर्न चाहेको स्पष्ट गर्नुभयो । 
उहाँले शक्ति राष्ट्रहरूले आफ्नो आर्थिक साम्राज्यका आधारमा विश्वमा आफ्नो हैकम स्थापित गर्ने होडवाजी गरिरहेको बताउनुभयो । 
लेखा आयोगले मुख्यतयाः पार्टीमा हिसाब किताव चुस्त दुरुस्त राख्न लगाउने र पार्टीको आर्थिक अवस्था सुदृढ बनाउन सहयोग गर्ने दुईवटा काममा ध्यान दिनु आवश्यक रहेको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– आयोग कसैको अनुचित दबाब, प्रभाव र प्रलोभनमा नपरी स्वतन्त्र र स्वायत्त रूपमा काम गर्न सक्षम छ । आयोगका काममा पार्टी केन्द्रको पूर्ण साथ, समर्थन र सहयोग रहने छ । 
‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माण गर्ने अभियानमा पार्टीले ‘तीन– स’को कार्यनीतिका कुरा गर्दै आएको चर्चा गर्दै अध्यक्ष ओलीले त्यसमा अब ‘लेउ’ अर्थात लेखा व्यवस्थापन र उत्पादनमुखी कामलाई पनि जोड्नुपर्ने बताउनुभयो । पार्टी निर्माण र परिचालनमा आर्थिक विषय र लेखा राख्ने विषयले निर्णायक महत्व राख्ने उहाँको भनाइ छ ।


बैठकमा अध्यक्ष ओलीले आयोगद्वारा प्रकाशित पुस्तक ‘पार्टी लेखा तथा आर्थिक व्यवस्थापन दिग्दर्शन’को विमोचन समेत गर्नुभएको थियो । 
यही कात्तिक १५ र १६ गते प्रशिक्षक प्रशिक्षण कार्यक्रमसहित कात्तिक १७ गते केन्द्रीय लेखा आयोगको आठौं पूर्ण बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सम्पन्न भएको हो । 
आयोगका अध्यक्ष डाक्टर पुष्प कँडेलको अध्यक्षता सम्पन्न बैठकले पार्टी केन्द्रीय कोषको आर्थिक वर्ष २०७९÷०८० को लेखापरीक्षण सम्पन्न गर्नुका साथै पार्टीका आठवटै प्रदेशको लेखापरीक्षण गरी प्रदेश अधिवेशनहरूमा प्रतिवेदन पेश गरिएको विषयलाई यस अवधिका महत्वपूर्ण उपलब्धिका रूपमा समीक्षा गरेको छ । बैठकले लेखापरीक्षण हुन बाँकी जिल्ला, महानगर, उपमहानगर र जनसंगठनहरूको लेखापरीक्षण आगामी मंसिर मसान्तभित्र सम्पन्न गर्ने, पालिका कमिटी र मातहत  कमिटीहरूको लेखापरीक्षणका लागि प्रदेश लेखा कमिटीहरूलाई परिचालन गर्ने, प्रदेश लेखा कमिटीहरूका लागि प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, लेखा व्यवस्थापनका आधारमा पार्टी कमिटीहरूको मूल्याङ्कन गर्ने, प्रदेश तहसम्म सफ्टवेयर प्रणाली लागू गराउने र पार्टीको आर्थिक परिचालन र लेखा व्यवस्थापनका सन्दर्भमा प्रदेश कमिटीहरूलाई निर्देशन जारी गर्ने समेतका महत्वपूर्ण निर्णयहरू गरेको छ । 
बैठकको अन्त्यमा, आयोगका अध्यक्ष डा. कँडेलले समीक्षात्मक मन्तव्य प्रस्तुत गर्नुहुँदै भएका निर्णयहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्दै लेखा व्यवस्थापनमा प्रभावकारिता ल्याउन आयोगका सबै पदाधिकारी र सदस्यलाई निर्देशन दिनुभएको थियो ।