detail-img

सबै जनसंगठनहरू भूकम्प पीडितको सेवामा जुट्ने निर्णय 

काठमाडौं । नेकपा (एमाले)का सबै जनसंगठनहरूले भूकम्प पीडितको सेवामा जुट्ने निर्णय गरेका छन् । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज बसेको जनसंगठन समन्वय संयन्त्रको बैठकबाट यस्तो निर्णय गरिएको हो ।
पार्टीका महासचिव शंकर पोखरेलको उपस्थितिमा भएको बैठकले अहिलेसम्म जनसंगठनहरूको तर्फबाट भइरहेको उद्धार तथा राहतको कामप्रति धन्यवाद दिँदै प्रभावित क्षेत्रमा भूकम्पपछि फैलनसक्ने महामारीप्रति सचेत हुँदै काम अघि बढाउने निर्णय गरेको पार्टी स्थायी कमिटी सदस्य तथा संयन्त्रका प्रमुख भानुभक्त ढकालले बताउनुभयो ।


बैठकमा महासचिव पोखरेलले भूकम्पपीडितको सहयोगमा सबै जनसंगठनहरू प्रभावकारी रूपमा खट्न निर्देशन दिनुभएको थियो । 
महासचिव पोखरेलले जाजरकोट र रुकुम पश्चिममा भएको क्षतिको अवस्था र अबको चुनौतीसमेत राख्दै तत्कालका लागि सुरक्षित प्रकारका टेन्टको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले पार्टीको तर्फबाट टेन्टलगायत राहत सामग्रीको बिषयमा पहल भइरहेको जानकारी दिँदै तत्काल आवश्यक सामग्री जुटाएर पीडितको पीडामा मलम लगाउन समेत जनसंगठनहरूलाई निर्देशन दिनुभएको थियो । 
संयन्त्रका प्रमुख ढकालका अनुसार बैठकले भूकम्पमा परेर ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । 
बैठकले बिना भेदभाव घाइतेको उपचारको उचित प्रबन्ध गर्न र राहतको प्रभावकारी व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षणसमेत गरेको छ ।
‘घाइतेको उद्धारमा पनि भेदभाव भयो भन्ने गुनासो आएको छ, गम्भीर घाइतेलाई छाडेर सामान्य घाइतेको उद्धार पहिला भयो भन्ने गुनासो आउनु राम्रो होइन, बिपदको बेला सरकार अभिभावक बनेर आवश्यकताअनुसारको सबै प्रबन्ध गर्नुपर्छ,’ बैठकको निर्णयबारे जानकारी गराउँदै ढकालले भन्नुभयो ।
उहाँले उद्धारमा जस्तै राहत वितरण र उपचारमा भेदभाव नहोस् भन्नेतर्फ सरकार सचेत हुनुपर्नेमा बैठकले जोड दिएको वताउनुभयो । 
प्रमुख ढकालले भन्नुभयो– विपदको बेला राजनीतिभन्दा माथि उठेर मानवीय सेवामा लाग्नुपर्छ भन्ने स्पष्ट मान्यताका साथ हामी सरकारको साथमा छौं तर पीडामा परेका नागरिकले अझै राहत पाएनन् भन्ने कुरा सुन्दा दुःख लागेको छ ।
उहाँले एकद्वार प्रणालीबाट राहत वितरण उचित नै भए पनि जिल्ला प्रशासन र स्थानीय तहमा राहत थन्क्याएर तीन दिनसम्म पीडितले नपाउनु चिन्ताजनक व्यवहार भएको  बैठकको ठहर गरेको जानकारी दिनुभयो ।