detail-img

लोकतान्त्रिक गणतन्त्रमाथि औँला ठड्याउनेहरूलाई शान्तिपूर्ण तरिकाले परास्त गरिने छः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमाथि कसैबाट पनि औँला ठड्याउने काम नहोस् भन्नुभएको छ ।  
नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रले आज तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आयोजना गरेको विशेष भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यदी कसैले लोकतान्त्रिक गणतन्त्रमाथि औँला ठड्याउँछ भने एमालेले त्यो औँलालाई शान्तिपूर्ण तरिकाले तल झारिदिने बताउनुभयो । 
अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिहरूले व्यक्तिलाई उभ्याएर देशभरका मान्छे काठमाडौंमा उतार्ने कामलाई जोडतोडका साथ अघि बढाए पनि त्यसबाट काठमाडौंमा फोहोर बढाउने बाहेक अरू कुनै काम नहुने बताउनुभयो ।
अध्यक्ष ओलीले ठूलो सङ्घर्ष र बलिदानबाट ल्याएको गणतन्त्रमाथि औंला ठड्याउने काम नगर्न चेतावनी दिनुभयो । उहाँले भन्नुभयो– सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बिरुद्धमा आउने सवैलाई एमालेले जनताको बलमा परास्त गर्ने छ । अध्यक्ष ओलीले राष्ट्रिय शक्तिको विरोध गर्ने तत्वहरू विभिन्न स्वरूपमा सडकमा आउन थालेको र त्यसमा घुसपैठ रहेको बताउँदै त्यस्ता प्रतिक्रियावादीको सशक्त प्रतिवाद गरिने छ भन्नुभयो । 


देशमा विद्यमान बेथिति, अराजकता, भ्रष्टाचार र तस्करी वर्तमान गठबन्धन सरकारका कारण भइरहेको बताउँदै अध्यक्ष ओलीले सरकारलाई सच्याउन र बेथितिलाई रोक्न  युवा /विद्यार्थीहरूले यही मङ्सिर ७ गते प्रदर्शनको आह्वान गरेका र त्यसमा पार्टीको पूर्ण साथ रहने स्पष्ट गर्नुभयो । अध्यक्ष ओलीले शान्तिपूर्ण तर उत्साहका साथ प्रदर्शनमा उत्रन युवाविद्यार्थीलाई निर्देशन दिनुभयो । 
नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि विकासको गति रोकिएको र अहिलेको गठबन्धन सरकारलाई विकासतर्फ रुची नै नभएको उहाँको भनाइ छ । नेकपा (एमाले) नेतृत्वको सरकारले थालेका राष्ट्रिय गौरवका आयोजना, सडक, पुल, अस्पताल सबै अहिले अलपत्र अवस्थामा रहेको उहाँले बताउनुभयो । 
अध्यक्ष ओलीले सरकारले गुण्डागर्दी र अपराधीलाई प्रोत्साहन दिएको बताउनुभयो । न्याय पाउँ भन्दै माइतीघरमा अनसन बसेकी आरती साहकी आमालाई सरकारले बेवास्ता गरेको र लछारपछार गरेको तर लोकतन्त्र विरोधीलाई प्रोत्साहन गर्ने काम गरिरहेको उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– राजनीतिक नेताहरूलाई गाली गर्ने, लोकतन्त्रलाई गाली गर्ने, कुनै पनि राम्रो काम देख्न नसक्ने र गाली गर्ने, अराजकता, उच्छृङ्खलता प्रदर्शन गर्ने मान्छे माइतीघरमा बस्यो भने सरकारले प्रोत्साहन गर्छ, मेरी छोरी मारिएकोमा न्याउ पाउँ भन्ने ब्यानर गुण्डा लगाएर फ्याँक्छ, न्याय माग्न बसेकी आमालाई पुलिसले लछारपछार गर्छ, कस्तो सरकार, अराजकता मच्चाउन पाइने, न्याय माग्न नपाइने ? नेपाल देशलाई अर्कै देशमा गाभिदिन्छौं भन्ने जस्ता राष्ट्रहित विपरीतका अभिव्यक्ति दिइरहँदा सरकार कानमा तेल हालेर बसेको उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले  भूकम्प पीडित जनताले उद्धार र राहतका लागि सरकार खोजिरहेका बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशको प्रधानमन्त्रीका रूपमा होइन, माओवादी अध्यक्षका रूपमा र राष्ट्रपति रामचन्द्र पौडेल कांग्रेस भएर जाजरकोट गएको बताउनुभयो । उहाँले भूकम्प पीडितप्रति सरकारी पक्षबाट पक्षपातपूर्ण व्यवहार भएको बताउनुभयो । गठबन्धन सरकारले संविधान विरोधी काम गरिरहेको र राष्ट्रपति पौडेल पनि संविधान अनुसार नचलेको उहाँको भनाइ छ । जाजरकोट भूकम्प पीडित  जनताको उद्धार र राहतका लागि नेकपा (एमाले)ले आडम्वर देखाउने हिसावले नभई आफ्नो बुताले भ्याएसम्म सहयोग गर्ने अध्यक्ष ओलीले बताउनुभयो । जाजरकोटमा भूकम्प पीडितका लागि उद्धार, राहत र सुरक्षित तथा बसोवासको व्यवस्थाका लागि नेकपा (एमाले) ले एकहजार स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ । सो अनुसार, पार्टीको केन्द्रीय विपद् व्यवस्थापन विभाग प्रमुख किरण पौडेलको नेतृत्वमा आजै स्वयंसेवक टोली जाजरकोट प्रस्थान गरेको छ भने नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) ले जाजरकोटमा भूकम्पले भत्काएका भग्नावशेष व्यवस्थापन लगायत काम शुरु गरिसकेको छ । 
माओवादीले युद्ध छोडे पनि आतङ्कको धङधङी नछाडेको अध्यक्ष ओलीले बताउनुभयो । केही समयअघि पहिचानवादीको नाममा उच्छृङ्खल समूहले कोशी प्रदेशका विभिन्न जिल्लामा अध्यक्ष ओलीमाथि ढुङ्गा बर्साइएको थियो ।  त्यसमा माओवादी कार्यकर्ताको संलग्नता रहेको   थियो ।  अध्यक्ष ओलीले आज देश राजनीतिक हिसाबले अस्थिरता र आर्थिक हिसाबले लगातार ओरालो लागेको अवस्थामा रहेको पनि बताउनुभयो ।
नेकपा (एमाले) को सम्पूर्ण ध्यान मिसन–८४ अर्थात आगामी २०८४ को निर्वाचन केन्द्रीत रहे पनि जनसरोकारका विषयमा बेवास्ता गरेर, कानमा तेल हालेर नबस्ने स्पष्ट गर्नुभयो । 
विशेष भेलालाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले यतिबेला विभिन्न बहानामा देशलाई कमजोर बनाउने प्रयत्न भइरहेका हुँदा न्याय र परिवर्तनको रक्षा एमालेले गर्छ भन्ने देखाउनुपरेको बताउनुभयो ।  
अहिले नेकपा (एमाले) सत्तामा नरहे पनि समस्यामा परेका जनताले एमालेलाई खोज्नुपर्ने अवस्था सिर्जना भइरहेको उहाँले बताउनुभयो । 
जाजरकोट भूकम्पका कारण समस्यामा परेका, घरबासविहीन भएका जनताले उद्धार र राहत खोजी रहेका छन् तर सरकार मैदानबाट भागिरहेको अबस्था छ भन्नुहुँदै महासचिव पोखरेलले एमालेले जनताको पीडामा मलमपट्टी लगाउने बताउनुभयो । 
उहाँले सरकारलाई जनताका समस्या समाधान गरेर एमालेसँग काममा प्रतिस्पर्धा गर्न चुनौती दिनुभयो ।  
महासचिव पोखरेलले मङ्सिर ७ गतेको प्रदर्शन देशमा मौलाएको बेथिति, कुशासन र भ्रष्टाचारका विरूद्धमा रहेको स्पष्ट गर्नुभयो । 
विशेष भेलाको अध्यक्षता गर्नुभएका पार्टीका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले लोकतान्त्रिक गणतन्त्रमाथि चुनौती खडा गर्ने प्रयास गरिएकाले मङ्सिर ७ गतेको प्रदर्शन त्यसका विरुद्धमा   भएको स्पष्ट गर्नुभयो । 
संयोजक ढकालले मुलुक राजनीतिक अस्थिरता, आर्थिक सङ्कटबाट गुज्रिरहेको र अहिलेको गठबन्धनका कारण महङ्गी, भ्रष्टाचार र भूकम्प पीडितलाई राहतमा समेत विभेद जस्ता बेथिति उत्पन्न भएकाले जनसरोकारका विषय अगाडि सारेर प्रदर्शन गर्न लागिएको बताउनुभयो । 
पार्टीका केन्द्रीय सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका सदस्य रचना खड्काले सञ्चालन गर्नुभएको कार्यक्रममा बाग्मती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेल, उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुली, सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेत र राष्ट्रिय युवा संघ, नेपालका अध्यक्ष क्षितिज थेवेले प्रदर्शनको तयारीका बारेमा जानकारी गराउनुभएको थियो । 
भेलामा स्थायी कमिटी सदस्यहरू गुरु बराल, खगराज अधिकारी, कृष्णगोपाल श्रेष्ठ, राजेन्द्र गौतम, कर्ण थापा, पोलिटव्यूरो सदस्य सुजिता शाक्य, केन्द्रीय सदस्यहरू, जनसंगठनका पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।