detail-img

प्रवासमा युवाविद्यार्थीबीचको कामलाई प्रभावकारी बनाउन बृहत कार्यशाला गोष्ठी सम्पन्न 

काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको आयोजनामा युवा विद्यार्थीबीचको कामलाई प्रभावकारी बनाउने विषयमा शनिबार बृहत कार्यशाला गोष्ठी सम्पन्न भएको छ । 
भर्चुअल माध्यमबाट सम्पन्न गरिएको कार्यशालामा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले निर्देशनात्मक मन्तव्य राख्नुभएको थियो । 
प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय समिति र पाँच महादेशका पदाधिकारीहरू लगायतको सहभागिता रहेको गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले युवाविद्यार्थीहरू रोजगारी र अध्ययनका लागि विदेश पलायन भइरहेको वर्तमान अवस्थामा परिवर्तन ल्याई मुलुकको परिचय बदल्ने योजनाका साथ पार्टीले काम गरिरहेको बताउनुभयो । 
अध्यक्ष ओलीले देश बनाउन युवाविद्यार्थीहरू स्वदेशमै रहनुपर्ने धारणा राख्नुभयो । उहाँले देशको विकास र समृद्धिका लागि उत्पादन र उत्पादकत्व बढाउनुपर्ने र यो कुरा युवा र नयाँ पुस्तालाई बुझाउनुपर्ने बताउनुभयो । 
गोष्ठीलाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले देशको विकास र निर्माणका लागि नेकपा (एमाले) राज्य सञ्चालनको नेतृत्वमा पुग्नुपर्ने हुँदा पार्टीका सबै सदस्य तथा शुभेच्छुकहरूको ध्यान मिसन–२०८४ मा केन्द्रित हुनुपर्ने बताउनुभयो । 
गोष्ठीमा शिशिर नेपाल र रमेश पाण्डेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने प्रवासी नेपाली मञ्चका पाँच महादेशका संयोजकहरू राजु उपाध्याय(ओसिनिया), मोहन रायमाझी(पूर्वी एसिया), शालिकराम पन्त मध्यपूर्व), मुक्ता गुरुङ (युरोप) र इश्वरी भट्ट (उत्तर अमेरिका) ले आ–आफ्नो महादेशको रिपोर्टिङ सहितको प्रस्तुति राख्नुभएको थियो । 
पार्टीका उपमहासचिवद्वय प्रदीप ज्ञवाली, विष्णु रिमाल र स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डाक्टर राजन भट्टराईको उपस्थिति रहेको कार्यशाला गोष्ठीमा डाक्टर भट्टराईले गोष्ठीमा उठाइएका जिज्ञासाहरूको जवाफ दिनुभएको थियो । 
कार्यशाला गोष्ठीले निकालेका निष्कर्षका आधारमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय समिति र महादेश समितिद्वारा कार्ययोजना बनाई युवाविद्यार्थीबीचको कामलाई प्रभावकारी बनाउने निर्णय भएको छ ।