detail-img

अध्यक्ष ओलीसँग दोलखाका विद्यार्थीहरूले गरे साक्षात्कार 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग दोलखाको भीमेश्वर नगरपालिका वडा नं.५ का तीनवटा विद्यालयका छात्रछात्राले साक्षात्कार गरेका छन् । 
नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आज भएको साक्षात्कारमा अध्यक्ष ओलीले विद्यार्थीहरूले राखेका जिज्ञासाको जवाफसहित सम्बोधन गर्नुभयोे ।

 

अध्यक्ष ओलीसँग विद्यार्थीहरूले शिक्षाको गुणस्तर सुधार, उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्ति, शिक्षा नीति, चुच्चे नक्शा प्रकाशनपछि अद्यावधिक भएको नेपालको नक्शा र भूभागका साथै देशको विकास र समृद्धिका विषयमा जिज्ञासा राखेका थिए । 
अध्यक्ष ओलीले आफू प्रधानमन्त्री रहेको समयमा शिक्षा क्षेत्रमा गरिएका काम, देशको विकास र नेपालको कालापानी क्षेत्रको ऐतिहासिक पृष्ठभूमि र चुच्चेनक्शा प्रकाशन लगायतका विषयमा साक्षात्कारमा सहभागी विद्यार्थीहरूलाई जानकारी गराउनुभएको  थियो ।
अध्यक्ष ओलीले नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्शा अद्यावधिक गरेकै कारण आफू प्रधानमन्त्रीबाट हट्नुपरेको र देशका लागि नभई अरूका लागि कम्फर्टेबल सरकार गठन भएको स्पष्ट गर्नुभयो । 
अध्यक्ष ओलीले आफू प्रधानमन्त्रीबाट हटेपछि मुलुकमा नेपालको स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति गर्व गर्ने सरकार छैन भन्ने कुरा विद्यार्थी बाबुनानीहरूले बुझ्नुपर्ने बताउनुभयो । 
२०७४ सालमा आफू प्रधानमन्त्री हुँदा कालापानी क्षेत्रमा भारतले सेना राखेको ५८ बर्ष भइसकेको र कुर्सी खोसिएला, गुम्ला भन्ने डरले त्यसअघि कुनै पनि सरकारका प्रधानमन्त्री, मन्त्रीहरूले भारतीय सेना रहेको ठाउँभन्दा पश्चिम पनि नेपालको भूभाग छ भन्ने उच्चारण समेत नगरेको बताउँदै आफू सरकारबाट बाहिरिएपछि बनेका सरकारले पनि कुर्सी जोगाउनकै लागि कालापानी क्षेत्रको नेपाली भूभागका बारेमा बोल्न नसक्ने अवस्थामा रहेको स्पष्ट गर्नुभयो । 
उहाँले शैक्षिक गुणस्तर सुधारका लागि आफ्नो नेतृत्वको सरकारले धेरै काम गरेको र शिक्षा बेरोजगार सिर्जना गर्ने खालको नभई जीवन उपयोगी शिक्षा नीति हुनुपर्छ भन्ने मान्यता आफ्नो र नेकपा (एमाले)को रहेको जानकारी गराउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– हामीले कुनै पनि बालबालिका शिक्षाबाट बन्चित हुनु नपरोस् भनेर भर्ना अभियान चलायौं । विपन्न र गरिब परिवारका बालबालिकाको शैक्षिक अभिभावकत्व ग्रहण गर्ने काम गर्यौं । विद्यालय जाने बालिकाले कक्षा छोड्न नपरोस् भनी सेनिटरी प्याड उपलब्ध गराउने व्यवस्था गर्यौं  । युवालाई रोजगारीका लागि विदेश जान नपरोस् भनी शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने नीति लियौं । 
आफू प्रधानमन्त्री रहेको समयमा देशलाई दशबर्षभित्र गरिबीबाट मुक्त गर्ने नीति र योजनाका साथ काम भएकाले साढे तीनबर्षको कार्यकालमा नौलाख जनसङ्ख्यालाई  गरिबीबाट माथि उठाइएको जानकारी गराउँदै अध्यक्ष ओलीले देश अरू कसैले आएर बनाइदिने होइन आफै बनाउनुपर्छ भन्नुभयो । 
उहाँले मुलुकमा अस्वस्थ राजनीतिका कारण अहिले विकास निर्माणको काममा रोकावट भएको बताउनुभयो । कृषि क्षेत्रलाई आधुनिकीकरणका साथै व्यवसायीकरण गर्नुपर्ने मेडिकल शिक्षा स्वदेशमै उपलब्ध हुनुपर्ने लगायत विभिन्न विषयमा चर्चा गर्दै अध्यक्ष ओलीले सरकारका गल्तीका कारण काम नभई रहेको र त्यस्तो अबस्थालाई तोड्नुपर्ने आवश्यकता छ भन्नुभयो । 
उहाँले विद्यार्थीहरूलाई विनयी बन्न, अहङ्कारी नबन्न, सिक्ने, जान्ने कुरामा सधै जिज्ञासु बन्न सुझाउनुभयो । विद्यालयमा शैक्षिक पाठ्यक्रमबाट एकखालको शिक्षा हासिल गर्ने र शैक्षिक भ्रमण लगायत घरमै पनि धेरै कुरा सिकेर ज्ञानको भण्डार बढाउन र आत्मनिर्भर बन्न आग्रह गर्नुभयो । 
भीमेश्वर नगरपालिकाको वडा नं.५ का वडाध्यक्ष बासु श्रेष्ठले आफ्नो पारिश्रमिक खर्चेर वडाभित्रका तीन विद्यालयका कक्षा ९ र १० का छात्रछात्रालाई काठमाडौं भ्रमण गराई विभिन्न व्यक्तित्वसँग साक्षात्कार गराउनुभएको हो । यसक्रममा शीर्ष राजनीतिज्ञका रूपमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, हास्य कलाकारद्वय मदनकृष्ण–हरिवंश, अन्वेषक महावीर पुन, आँखारोग विशेषज्ञ डाक्टर सन्दुक रुइत लगायतसँग साक्षात्कार गराएको नेकपा (एमाले)की केन्द्रीय सदस्य रचना खड्काले बताउनुभयो ।
साक्षात्कार कार्यक्रममा नेकपा (एमाले)का पोलिटव्यूरो सदस्यद्वय आनन्द प्रसाद पोखरेल, पार्वत गुरुङ लगायतको उपस्थिति रहेको थियो ।