detail-img

अध्यक्षद्वारा केन्द्रीय कमिटीको छैटौं बैठकलाई सम्बोधन–हामी देशलाई प्रतिगमनतर्फ जान दिँदैनौँ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको रक्षाका लागि जस्तोसुकै कदम चाल्न पार्टी तयार रहेको बताउनुभयो । अध्यक्ष ओलीले देशलाई सङ्कटको अवस्थाबाट बचाउन पार्टी शान्तिपूर्ण आन्दोलनमा जानुपर्ने आवश्यकता आफूले देखिरहेको बताउनुभयो । 
नेकपा (एमाले) केन्द्रीय कमिटीको छैटौं बैठकलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीले घोषणा गरेको मध्यपहाडि(पुष्पलाल) लोकमार्ग समृद्धिका लागि सङ्कल्प यात्रा सम्पन्न गरिसकेपछि शान्तिपूर्ण आन्दोलनको आवश्यकता महसुस भइरहेको बताउनुभयो ।
 वर्तमान गठबन्धन सरकारले प्रतिगमनको चाहना राख्नेहरूलाई हौसला प्रदान गरिरहेको वताउँदै उहाँले भन्नुभयो– हामी देशलाई पछाडि फर्कन दिँदैनौं, प्रतिगमनतर्फ जान दिँदैनौं, यो एमालेको उद्घोष हो ।


देशलाई निकास र राजनीतिलाई दिशा दिनु आवश्यक भएको बताउँदै अध्यक्ष ओलीले देशलाई अगाडि बढाउन जनपरिचालन, जनशक्तिको प्रयोग गर्नुपर्ने हुनसक्छ भन्नुभयो । 
यो देश हामीले बनाएनौं भने अरू कसैले बनाउँदैन भन्दै अध्यक्ष ओलीले केन्द्रीय कमिटीका सदस्यहरूलाई एकताबद्ध, अनुशासित र सक्रियताका साथ पार्टीले तय गरेको मिसन–२०८४ सफल पार्ने  दिशामा अगाडि बढ्न आग्रह गर्नुभयो ।  
उहाँले देशको सार्वभौम सत्ता, स्वाधीनतामाथि प्रहार हुँदा गठबन्धन मौन रहेको बताउनुभयो । अध्यक्ष ओलीले गठबन्धनको नालायकीका कारण देशको सार्वभौम सत्ता, स्वाधीनता, स्वतन्त्रता र स्वाभिमानमाथि प्रहार भएको छ, यो देशका लागि खतरनाक कुरा हो भन्नुभयो । 
वर्तमान सरकारले मुलुकको अर्थतन्त्रलाई सकारात्मक बाटोमा फर्काउने सम्भावना नरहेको भनाइ राख्दै अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको सत्ता स्वार्थका कारण मुलुकको स्वाधीनता सबैभन्दा अपहेलित, अपमानित र तिरस्कृत हुन पुगेको बताउनुभयो । 
पछिल्लो अढाई वर्षको बीचमा मुलुकको राष्ट्रिय हित, गौरव र सम्मान धेरै कमजोर हुन पुगेको उहाँको भनाइ छ । वर्तमान सरकारले मुलुकको असंलग्नता र तटस्थतासम्बन्धी परराष्ट्र नीति पनि धरापमा पारेको अध्यक्ष ओलीले बताउनुभयो । 
छिमेकसँगको सम्बन्धका बारेमा अध्यक्ष ओलीले आत्मसमर्पण गरेर, राष्ट्रिय हितलाई तिलाञ्जली दिएर, सार्वभौम सत्तामा ठेस लागेको हेरेर सम्बन्ध सुमधुर हुँदैन भन्नुभयो । उहाँले सत्ता गठबन्धन सरकार राष्ट्रिय हितको रक्षामा होइन, सत्ताको रक्षामा केन्द्रित रहेको बताउनुभयो । यही मङ्सिर १४ गतेदेखि पार्टीले तय गरेको मध्यपहाडि (पुष्पलाल) लोकमार्गको यात्राका सम्बन्धमा चर्चा गर्दै अध्यक्ष ओलीले जनतासँग भेटघाट र जनतालाई सचेत गराउन पार्टीले मध्यपहाडि (पुष्पलाल) लोकमार्ग सचेतना अभियान ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ सञ्चालन गर्न लागेको स्पष्ट गर्नुभयो । 
यस यात्राका क्रममा मध्यपहाडमा भएको विकासको अवलोकन गरिने, पलायन भएको युवा शक्तिलाई गाउँमा नै बस्न उत्प्रेरित गर्न सो अभियानले सहयोग गर्ने विश्वास अध्यक्ष ओलीले व्यक्त गर्नुभयो । यसका साथै त्यहाँका स्रोत, साधनको अवस्था, पर्यटकीय सम्भावना लगायतको अवलोकन र छलफल गरिने उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले नेताहरूलाई वामपन्थी एकताको पपुुलिष्ट कुरा नगर्न आग्रह गर्नुभयो । वामपन्थी एकता गर्ने कुरा नयाँ फर्मुला नभएको उहाँको भनाइ छ । 
२०७५ सालमा एकता आवश्यक थियो, गरियो र सरकार गठन गरी हाम्रा नीतिहरू कार्यान्वयन गर्ने अवसर मिल्यो । कालापानी क्षेत्रको भूभाग समेटेर नेपालको नक्शा अद्यावधिक गरियो । सडक लगायत पूर्वाधार निर्माणका धेरै काम भए । तर, त्यसपछि दुईपटक पार्टी फुटेको स्मरण गर्दै अध्यक्ष ओलीले अब आफ्नो शक्ति निर्माण गर्ने हो, बैशाखी खोज्ने होइन भन्नुभयो । 
उहाँले एमालेको नीति र सुप्रिमेसीलाई स्वीकार्नेसँग मात्र एकता हुने बताउनुभयो ।