detail-img

केन्द्रीय कमिटीको छैटौं बैठक– झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा सञ्चालन गर्ने निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को छैटौं केन्द्रीय कमिटीको बैठक यही मंसिर १४ गतेदेखि मध्यपहाडि (पुष्पलाल) लोकमार्ग केन्द्रित विशेष अभियान (झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरी सम्पन्न भएको छ ।  
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय तुल्सीलाल स्मृति भवन च्यासलमा सम्पन्न बैठकले केही महत्वपूर्ण समसामयिक प्रस्तावहरू पनि पारित गरेको छ । बैठक आरम्भमा अध्यक्ष ओलीले समसामयिक राजनीति र पार्टीको अभिभाराका विषयमा सम्बोधन गर्नुभएको थियो ।
मध्यपहाडि लोकमार्ग केन्द्रित विशेष अभियान यही २०८० मंसिर १४ गते बिहान ८ः३० बजे अध्यक्ष केपी शर्मा ओलीबाट बैतडिको झुलाघाटमा राष्ट्रिय झन्डा झन्डोत्तोलन गरी आरम्भ गरिने भएको छ । 
सो अभियानको सन्दर्भ झल्काउने गरी निश्चित स्मृतिचिन्ह स्थापनासँगै पाँचथरको चिवाभञ्ज्याङमा अभियानको समापन हुनेछ । अध्यक्ष कमरेडको नेतृत्वमा पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष/प्रमुखहरू, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटीका सदस्यहरू र तोकिएका व्यक्तिहरू सङ्कल्प यात्राको केन्द्रीय टोलीमा रहनेछन् । 
अभियानको सान्दर्भिकता र सन्देश 
क. हिमाल, पहाड र तराई गरी तीन तह मिलेर बनेको नेपालको भौगोलिक संरचनामा पहाडको विशेष महत्व रहेको छ । पहाडी क्षेत्रले नेपालको सर्वाधिक ठूलो भूभाग समेट्छ । यहाँ जनसङ्ख्याको उल्लेख्य बसोबास रहेको छ । पहाड जैविक विविधताका दृष्टिले समृद्ध छ र जलस्रोतको विकासको सर्वाधिक सम्भावना बोकेको छ । पहाड फलफूल, तरकारी र जडिबुटीजन्य कृषिको भण्डार नै हो । सामाजिक–सांस्कृतिक विविधता र जातीय सद्भाव यस भूभागको विशेषता हो । राजनीतिक परिवर्तन र सामाजिक जागरणका क्षेत्रमा यस भेगले ऐतिहासिक भूमिका खेल्दै आएको छ । यद्यपि, जटिल भौगोलिक संरचना, छरिएका बस्तीहरू, प्राकृतिक विपत्तिको उच्च जोखिम, वन्य जन्तुहरूका कारण कृषि उत्पादनमा ह«ास तथा जलवायु सङ्कट पहाडको विकासका मुख्य चुनौती रहँदै आएका छन् । 
यिनै चुनौती र सम्भावनाहरूलाई ध्यानमा राखेर हाम्रो पार्टीले पहाडी क्षेत्रको विकासका लागि रणनीतिक महत्वका पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र खानेपानी संरचना एवं विद्युतीकरणलगायत महत्वपूर्ण योजना अगाडि बढाउँदै आएको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग र यसमा निर्माणाधीन दसवटा सहरहरू यसका दृष्टान्तहरू हुन् । आज पहाड पूर्वाधार, विद्युतीकरण, खानेपानी र स्वास्थ्य तथा शिक्षामा पहुँचका दृष्टिले उल्लेख्य ढङ्गले रुपान्तरित हुँदै आएको छ ।
तर पनि तीब्र बसाइँसराइँ आज पहाडको मुख्य समस्या बन्न थालेको छ । एकातिर विकासका योजनाहरू पहाड चढ्दै जाने, अर्कातिर पहाडबाट जनसङ्ख्याको ठूलो हिस्सा तराई, सहर हुँदै विदेशिँदै जाने चुनौती आजको हाम्रो अर्थ–राजनीतिको सर्वाधिक जटिल प्रश्न हो । 
 =समस्या कहाँ छन् ? 
= किन पूर्वाधार र उत्पादनको विषय जोडिन सकेको छैन ? 
= हाम्रो विकास र पूर्वाधार निर्माणको ढाँचामा नै पो कुनै समस्या छन् कि ?
=छन् भने समाधान कसरी गर्न सकिन्छ ? 
=र, पहाडलाई विकास र समृद्धिको नमूना कसरी बनाउन सकिन्छ ?
यस अभियानमार्फत् हामी जवाफ खोज्ने कोशिस गर्नेछौं ।
ख. बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषता हाम्रो समाजको पहिचान हो । यो हाम्रो राष्ट्रिय सामथ्र्य पनि हो । विविधताभित्रको एकता नेपाल राष्ट्रको बलियो आधारशीला हो । अहिले विभिन्न नाममा यस एकतालाई खल्बलाउने, सामाजिक सद्भावलाई कमजोर पार्ने र जनताका बीचमा फाटो ल्याउने प्रयाश देखा पर्न थालेका छन् । यस्ता अतिवादी र सङ्कीर्ण सोचहरू गलत, हानिकारक र अस्वीकार्य छन् । यस अभियानले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउन योगदान गर्नेछ । 
ग. लोकतन्त्र स्थापनापछिका हाम्रा योजनाबद्ध प्रयासका कारण मुलुकमा विभिन्न क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल भएका छन् । पूर्वाधार निर्माण, सामाजिक न्याय र रुपान्तरणकारी योजनाका दृष्टिले नेपालले महत्वपूर्ण प्रगति गरेको छ । यस प्रगतिमा आफ्नो गाउँ आफै बनाऊँ जस्ता विकासका नयाँ र जनमुखी अवधारणा, समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा र छोटो समयमै नेपाललाई मध्यम आय भएको मुलुकमा स्तरोन्नत गर्दै यस शताब्दीको अन्त्यसम्म समुन्नत नेपाल निर्माण गर्ने नेकपा (एमाले)का दीर्घकालीन सोँचको निर्णायक भूमिका छ भन्ने कुरामा हामी गर्व गर्छौं ।
तर यतिबेला समाजमा निराशा फैलाउने, नकारात्मक मनोविज्ञान निर्माण गर्ने र नेपाल समृद्ध बन्दैन, बन्नै सक्दैन भन्ने सङ्कथन निर्माण गर्ने प्रयाश निकै व्यापकरुपमा भइरहेको छ । केही पात्रहरू यस निराशालाई लोकतान्त्रिक गणतन्त्रकै विरुद्धमा प्रयोग गर्ने प्रयाश गरिरहेका छन् भने केही चाहिँ यसलाई ‘पुराना पार्टीहरूको असफलता’ भन्ने भाष्य निर्माण गर्दै आफूसँग सबै समस्याको समाधान रहेको भ्रम  छर्न खोजिरहेका छन् । लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान र हाम्रा यावत् उपलब्धीलाई अवमूल्यन गर्दै समाजमा निर्माण गर्न खोजिएको नकारात्मक मनोविज्ञान र नैराश्यको अवस्थालाई अन्त्य गरेर मुलुक बन्छ, बन्दैछ भन्ने दह«ो आत्मविश्वास निर्माण गर्नु, प्राप्त उपलब्धीहरूको रक्षा एवं सम्बद्र्धन गर्नु तथा समाजमा आशावाद र सकारात्मक मनोविज्ञान निर्माण गर्नु अभियानको उद्देश्य हुनेछ ।
घ. यो वर्ष नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५औं वर्ष हो । ७५ वर्ष अगाडि पुष्पलाल लगायत अग्रजहरूले निर्माण गर्नुभएको यस पार्टीको हीरक वर्ष जस्तो महत्वपूर्ण ‘माइलस्टोन’ उहाँकै नाममा निर्माणाधीन लोकमार्गमा केन्द्रित गरेर अगाडि बढाउनु आफैमा महत्वपूर्ण छ । यसक्रममा नेपाल कम्युनिष्ट पार्टीले गएको ७५ वर्षमा गरेको बलिदानी सङ्घर्ष, खेलेको गौरवशाली भूमिका र यसका नीतिहरूका बारेमा जनस्तरमा स्पष्ट पार्ने तथा राष्ट्रका सामू उत्पन्न बहुआयामिक चुनौतीलाई सामना गर्न बलियो राष्ट्रिय शक्तिको निर्माण गर्न सहयोग पुर्याउनु अभियानको उद्देश्य हुनेछ ।
ङ. हाम्रो पार्टी जनआधारित पार्टी हो । जनता नै हाम्रा मार्गदर्शक हुन् । जनसमर्थन नै हाम्रो सामथ्र्य हो । जनसेवा नै हाम्रो धर्म, हाम्रो सङ्कल्प र उद्देश्य हो । अभियानमा हुने जनसंवादमार्फत् हामी जनताका अनुभूति सुन्नेछौं, सुझावहरू ग्रहण गर्नेछौं र जनताकै साथमा अगाडिका योजनाहरू बारेमा परामर्श गर्नेछौं । यो अभियान जनतालाई सुन्ने र जनताबाट सिक्ने महत्वपूर्ण अभियान पनि हुनेछ ।
च. ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’को मर्म एवं भावनाअनुरुप यात्रा सञ्चालन हुनेछ ।
अभियानको नाम ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ रहनेछ ।
अभियानका क्रममा जनसभा, जनभेला तथा भेटघाटहरू, कलेज तथा विद्यालयका विद्यार्थीहरूसँग छलफल, किसानहरूसँग अन्तक्र्रिया, कृषि वैज्ञानिकहरूसँग संवाद, विकास कार्यहरूको अवलोकन र नमूना काम गरिरहेका उद्यमीहरूसँग भेटघाट, ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलहरूको अवलोकन, जनताका अनुभूति, गुनासा र सुझावहरूको सङ्कलन गरिनेछ, आदि ।
बैठकबाट पारित समसामयिक प्रस्तावहरू
१. २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई गएको भूकम्पबाट जाजरकोट र पश्चिम रुकुममा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । मुख्यतः जाजरकोटका भेरी नगरपालिका, नलगाड, बारेकोट र कुशे गाउँपालिका तथा  रुकुम पश्चिमका सानी भेरी एवं आठबीसकोट नगरपालिकामा अपूरणीय क्षति भएको छ । भूकम्पमा परी १५३ जनाले ज्यान गुमाएका छन् भने ३७५ जना घाइते भएका छन् । भूकम्पबाट हजारौँ घरहरू भत्किएका छन् । ठूलो सङ्ख्यामा पशु चौपायाको क्षति भएको छ, भण्डारण गरिएको खाद्यान्न नष्ट भएको छ । यस दुःखद् घटनामा परी ज्यान गुमाउनुु हुने सबै नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै यो बैठक शोकाकूल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ । साथै, सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।
भूकम्प गएको १९ दिन बितिसक्दा समेत राहत र पुनस्र्थापनाका काममा सरकार पूरै असफल देखिएको छ । घरबारविहीन नागरिकहरूको पुनस्र्थापनाका लागि सरकारले ठोस काम सुरु गर्न नसक्दा चिसोमा कठ्याङ्ग्रिएर १० जना नागरिकहरूको मृत्यु भइसकेको छ । पहुँच र राजनीतिक आस्थाका आधारमा राहत वितरणमा भेदभाव  गरिएको छ । राहत सामाग्री बोकेका सवारी साधनहरू बीच बाटोबाटै कब्जा गरिएको छ । बि.सं २०७२ को भूकम्पबाट सिकेका पाठहरूलाई समेत बेवास्ता गरी राज्यका उच्च ओहदामा बसेका व्यक्तिहरू पीडितहरूलाई ठोस सहायता पु¥याउने तर्फभन्दा पनि राज्यकोषमाथि भार पार्दै ‘विपद् पर्यटन‘ मा व्यस्त देखिए । राहत वितरणलाई राजनीतिक प्रचारबाजी र नाफा–घाटाको सौदाबाजीको विषय बनाइएको छ । यस्ता क्रियाकलापप्रति यो बैठक आपत्ति प्रकट गर्दछ, क्षतिका आधारमा सबै पीडित नागरिकलाई पक्षपातरहित ढङ्गले राहत वितरणमा सुनिश्चितताको माग गर्दछ । पीडितहरूको पुनस्र्थापनाका लागि ठोस कार्ययोजनासहित अविलम्ब काम थाल्न सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदछ । अस्थायी आवास तथा न्यानो कपडा उपलब्ध गराएर भूकम्प पीडित नागरिकको जीवन रक्षाका लागि सरकारसँग माग गर्दछ । 
यो बैठक गतः असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट त्यहाँका हजारौं घरहरू बस्नै नमिल्ने गरी क्षति पुगेकोप्रति ध्यानाकर्षण गराउँदै त्यहाँ पनि पुनर्निर्माणका काम अविलम्ब सुरु गर्न माग गर्दछ ।
भत्केका संरचना पञ्छाउन र तत्काल शीतबाट बचाउनका लागि अस्थायी टहरा बनाएर नागरिकलाई राहत दिनका लागि हाम्रो पार्टीले जाजरकोट र रुकुम पश्चिममा एक हजारभन्दा बढी स्वयम् सेवक परिचालन गरी काम गरिरहेको छ । यो बैठक उद्धार, राहत तथा पुनस्र्थापनाको काममा खट्ने जिफन्ट, अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल, भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन लगायत पार्टी सम्बद्ध जनसङ्गठनहरू र पार्टीका विभिन्न जिल्ला कमिटी एवं सम्पर्क समन्वय कमिटीबाट खटिनुभएका स्वयम्सेवक लगायत पार्टीका नेता–कार्यकर्ताहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ । 
२. यतिबेला नेपाली समाजमा अराजकता बढ्दै गएको छ । नेपाली समाजलाई विभिन्न ढङ्गले विभाजित गर्ने र राष्ट्रलाई कमजोर बनाउने शृङ्खलाबद्ध प्रयासहरू भइरहेका छन् । जनताले बलिदान गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानका विरुद्ध समाजलाई दिग्भ्रमित पार्ने, राजनीतिक लेपनको आडमा विभिन्न राजनीतिक अपराधहरूबाट उन्मुक्ति खोज्ने, राजनीतिक नेतृत्वका विरुद्ध निराधार लाञ्छना, गालीगलौज र चरित्रहत्या गर्ने, समाजलाई प्रदुषित पार्ने, जातीय र धार्मिक सहिष्णुतामा खलल पु¥याउने जस्ता अराजक गतिविधिहरू बढिरहेका छन् । यसबीचमा कतिपय ठाउँमा धार्मिक दङ्गाहरू समेत गराइएका छन् । तर यस्ता अराजक क्रियाकलापप्रति गंभीर भएर नियन्त्रणमा लाग्नुको साटो वर्तमान गठबन्धन सरकार त्यस्ता गतिविधिहरूलाई उल्टै बढावा दिइरहेको छ । यसबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई कमजोर बनाउन सरकार स्वयम् सङ्लग्न त छैन भन्ने गंभीर आशङ्का पैदा भएको छ । सत्ता गठबन्धनको स्वार्थका लागि राज्यका निकायहरूमा हस्तक्षेप गर्ने, तिनलाई कमजोर बनाउने र राज्यका निकायको विश्वसनीयता समाप्त पार्ने काम सरकारबाटै भइरहेको छ । यो बैठक लोकतान्त्रिक गणतन्त्रका विरुद्ध भइरहेका अराजक क्रियाकलापहरूको निन्दा गर्दछ, लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि दृढ सङ्कल्प व्यक्त गर्दछ र अराजकतालाई प्रोत्साहन गर्ने, आर्थिक मन्दी बढाउँदै लैजाने, सामाजिक वैमनश्यलाई बढावा दिने र राज्यका निकायहरूलाई कमजोर बनाउँदै जनतामा निराशा बढाउने वर्तमान गठबन्धन सरकारको रबैयाप्रति आपत्ति प्रकट गर्दछ । 
३. २०८० कात्तिक २० (७ अक्टोबर, २०२३) मा प्यालेस्टेनी लडाकू सङ्गठन हमासले इजरायलमाथि गरेको आतङ्ककारी हमलामा १४ सय सर्वसाधारणको ज्यान गएको छ भने दुईसय भन्दा बढी बन्धक बनाइएका छन् । त्यस आक्रमणमा परी इजरायलमा  अध्ययन र रोजगारीका क्रममा रहेका १० जना नेपाली युवाको दुखद मृत्यु भएको छ भने एकजनाको अवस्था अझै अज्ञात छ । त्यसपछि इजरायलले  सुरु गरेको प्रतिहिंसामा हजारौँ बालबालिका, बृद्धबृद्धा र निहत्था मानिसहरूको  मृत्यु भएको छ । यस युद्धबाट लाखौँ प्यालेस्टेनी नागरिक घरबारविहीन भएका छन्, विस्थापित भएका छन् । मानवीय कानुन तथा मर्यादाको पूर्ण रुपमा धज्जी उडाइएको छ । प्यालेस्टाइनको गाजा क्षेत्र पूर्ण रुपमा तहसनहस भएको छ । भवनहरू ध्वस्त भएका छन्, अस्पताल र संयुक्त राष्ट्रसंघका कार्यालयसमेत आक्रमणको निशानामा परेका छन् । संयुक्त राष्ट्रसंघले बारम्बार गरेको अविलम्ब युद्धविराम र न्यूनतम मानवीय कानुनको पालनाको अपिललाई वेवास्ता गरिएको छ । इजरायल– हमास युद्धको यस विनाशकारी घटनाले आफ्नो स्वतन्त्र भूमिमा सार्वभौम अधिकार सहित बाँच्न पाउने प्यालेस्टाइनी जनताको अधिकार र चाहनामाथि ठूलो धक्का लागेको छ । युद्ध चर्किँदै जाँदा यसले क्षेत्रीय द्वन्द्वको स्वरुप लिन सक्ने र स्थिति थप भयावह र अनियन्त्रित हुने खतरा बढेको छ । 
यो बैठक इजरायल–प्यालेस्टाइनका बीचमा अविलम्ब दिगो युद्धविराम गर्न अपिल गर्दै बन्धक बनाइएकाहरूलाई अविलम्ब रिहा गर्न, प्यालेस्टाइनी नागरिकका लागि गाजा क्षेत्रमा निर्वाध रुपमा मानवीय सहायता सुनिश्चित गर्न, अन्तर्राष्ट्रिय मानवीय कानुनको पूर्ण पालना गर्न, शान्तिका पक्षमा उभिन र समस्याको शान्तिपूर्ण निकासका लागि संयुक्त राष्ट्र सङ्घको प्रस्ताव अनुरुप ‘दुई राज्य समाधान’ को प्रस्ताव कार्यान्वयन गर्न सम्बद्ध पक्षलाई आह्वान गर्दछ ।
शोक प्रस्ताव
१. यो बैठक हाम्रो पार्टीका उपाध्यक्ष, संविधानसभा अध्यक्ष, पूर्व सभामुख एवं इलाम–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कमरेड सुवासचन्द्र नेम्बाङको गतः भदौ २६ गते भएको असामयिक निधनप्रति गहिरो शोक प्रकट गर्दछ । नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन तथा राष्ट्र निर्माणको अभियानमा उहाँको योगदानको यो बैठक उच्च मूल्याङ्कनका साथ स्मरण गर्दछ । उहाँको निधनबाट पार्टीले आफ्नो महत्वपूर्ण धरोहर, लोकतान्त्रिक आन्दोलनले एकजना भरोसायोग्य नेता र परिवारले आफ्ना असल अभिभावक गुमाएको छ । यो बैठक कमरेड सुवासचन्द्र नेम्बाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।    
२. हाम्रो पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य कमरेडहरू रामचन्द्र चापागार्ई र भोजराज ढुङ्गेलको हालै भएको दुःखद निधनबाट हाम्रो पार्टी दुखित भएको छ । उहाँहरूले नेपालको कम्युनिस्ट आन्दोलनमा पु¥याउनुभएको योगदानको कदर गर्दै यो बैठक उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।
३. यो बैठक मधेस प्रदेश सङ्गठन कमिटीका तत्कालीन सचिव एवं जीतपुर–सिमरा उपमहानगरपालिकाका पूर्व प्रमुख कमरेड कृष्ण पौडेलको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।
४. हाम्रो पार्टीका पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री कमरेड लिला गिरीकी ममतामयी आमा केशवकुमारी गिरीको उपचारका क्रममा भएको दुःखद निधनबाट पार्टी दुखित भएको छ । बैठक उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै कमरेड लिला गिरी लगायत शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।
५. हाम्रो पार्टीका केन्द्रीय कमिटी सदस्य कमरेड कोमल ओलीकी ममतामयी आमा दीपा ओलीको २०८० मंसिर २ गते भएको निधनबाट पार्टी दुखित भएको छ । यस दुखद् घडीमा उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै यो बैठक कमरेड कोमल ओली लगायत शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछ ।
६. यो बैठक केन्द्रीय सल्लाहकार परिषद्का सदस्य कमरेड कुलभक्त शाक्यकी ममतामयी आमाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ । केन्द्रीय सल्लाहकार परिषद् सदस्य कमरेड रामचन्द्र आचार्यकी धर्मपत्नी सीता आचार्यको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ । त्यसै गरी केन्द्रीय सल्लाहकार परिषद् सदस्य रामचरित्र साहकी श्रीमतीको निधनप्रति दुःख व्यक्त गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।
७. यो बैठक प्रसिद्ध बालसाहित्यकार एवं प्रगतिशील स्रष्टा शान्तदास मानन्धरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली साहित्यको विकासमा उहाँले गर्नुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।