detail-img

झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा सम्पन्न


अध्यक्ष ओलीले भन्नुभयोः

यात्रा राजनीतिप्रति निराश जनतामा आशा जगाउन सफल 
मध्यपहाडको विशेषता, समस्या र सम्भावना बुझ्ने मौका 
देश विकासको खाका बनाउने आधार तयार 
यात्राबाट अवाञ्छित चिन्तन र विचारलाई हतोत्साहित
सबै नेपालीलाई एकतामा बाँध्ने प्रेरणा

पाँचथर । बैतडीको झुलाघाटबाट सुरू भएको नेकपा (एमाले) को मध्यपहाडी (पुष्पलाल) लोकमार्ग यात्रा  अभियान पाँचथरको चिवाभञ्ज्याङमा पुगेर अत्यन्त उल्लासपूर्ण रूपमा सम्पन्न भएको छ । 
अध्यक्ष केपी शर्मा ओलीले २०८० मङ्सिर १४ गते झुलाघाटमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी शुभारम्भ गर्नुभएको ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ आज २०८० पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सम्पन्न भयो । अध्यक्ष ओलीले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी अभियान समापन गर्नुभयोे । 
अठार दिन लामो मध्यपहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि सङ्कल्प यात्राको नेतृत्व अध्यक्ष स्वयंले गर्नुभएको थियो ।  यात्रा अभियान समापन गरेर अध्यक्ष ओली आजै काठमाडौं फर्किनु भयो । यात्राको पूर्वी समापन विन्दु पाँचथरको चिवाभञ्ज्याङ्बाट हेलिकप्टरमार्फत उहाँ काठमाडौं फर्कनु भएको हो ।


चिवाभञ्ज्याङमा यात्रा अभियान समापन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीले सञ्चालन गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्राले राजनीतिप्रति जनतामा फैलँदै गएको निराशालाई आशामा परिणत गरेको बताउनुभयो । 
अभियानबाट मध्यपहाडको विशेषता, परिचय, समस्या र सम्भावना बुझ्ने मौका पाएको बताउँदै अध्यक्ष ओलीले  यसबाट विकासको योजना बनाउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यात्राबाट पार्टीलाई वैचारिक र सूचनाका हिसाबले थप मजबुत बनाएको बताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– यात्राले देश विकासको खाका बनाउने आधार तयार गरेको छ । देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन असाधारण भूमिका खेलेको छ ।
उहाँले अहिले देशको राजनीति अन्योलतातर्फ उन्मुख भएकामा चिन्ता व्यक्त गर्नुभयो । गठबन्धन सरकारको कारण देशको अवस्था ओरालो लागेको र देशका सामु धेरै चुनौती रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेले मात्र चुनौतीको सामना गर्न सक्छ भन्ने दृष्टान्त यात्राले दिएको बताउनुभयो । 
‘सङ्कल्प यात्राले अवाञ्छित चिन्तन र विचारलाई हतोत्साहित गरेको छ, देश र जनताको हितलाई सर्वोपरि ठान्ने आमजनताको मनोबल उच्च बनाएको छ’, अध्यक्ष ओलीले भन्नुभयो ।
नेपाली समाजलाई एकताको डोरीमा बाँधेर मात्र देशमा समृद्धि कायम गर्न सकिनेमा जोड दिँदै अध्यक्ष ओलीले सबै नेपालीलाई एकतामा बाँध्ने प्रेरणा सङ्कल्प यात्राले दिएको बताउनुभयो । 
उहाँले यात्रामा सहभागी लाखौँ नेपाली जनता र एमालेका नेता कार्यकर्ता, यात्रामा प्रत्यक्ष, अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

महासचिव पोखरेलले भन्नुभयोः

यात्रा एमालेको मात्र नभई राष्ट्रकै सङ्कल्प यात्रा बन्न सफल 
राजनीतिक परिवर्तनप्रति अनास्था पैदा गर्ने प्रवृत्तिमाथि विजय 
लाखौँ लाख नेपाली जनतासँग प्रत्यक्ष संवाद
जनताका अनुभव, समस्या र अपेक्षा बुझ्ने अवसर

यात्रा अभियान समापन कार्यक्रममा सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले पार्टीले सम्पन्न गरेको समृद्धका लागि सङ्कल्प यात्रा सिङ्गो नेपालकै सङ्कल्प यात्रा बनेको बताउनुभयो ।
यो यात्रा कुनै पार्टी विशेषको यात्रा मात्र नभएको बताउँदै महासचिव पोखरेलले भन्नुभयो– यो यात्रा एमालेको नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको अगुवाइमा आयोजना गरिएको भए पनि राष्ट्रको सङ्कल्प यात्रा बन्न पुगेको छ ।
यति बेला जनताले गठबन्धनको विकल्प खोजेको यात्राका क्रममा अनुभूत गरेको उहाँले बताउनुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– यात्राका क्रममा हामीले मुलुकमा राजनीति परिवर्तनप्रति अनास्था र अविश्वास पैदा गर्ने प्रवृत्तिमाथि विजय हासिल गरेका छौँ, गठबन्धन सरकारका असफलता र अकर्मण्यताको विरुद्धमा जनताले सही विकल्पको चाहना राखेको हामीले अनुभूत गरेका छौँ ।
यात्राको क्रममा नेकपा (एमाले) र अध्यक्ष केपी शर्मा ओलीप्रति बालबालिकादेखि बृद्ध–बृद्धासम्मले उच्च सम्मान व्यक्त गरेको उहाँले बताउनुभयो । यात्राको क्रममा जनताको माया, सल्लाह र सुझाव ग्रहण गर्ने अवसर मिलेको भनाइ महासचिव पोखरेलले राख्नुभयो । 
लाखौँ लाख नेपाली जनतासँग प्रत्यक्ष संवाद गर्दै जनताका अनुभव, समस्या र अपेक्षा बुझ्ने अवसर यात्राले दिएको उहाँले प्रष्ट पार्नुभयो । महासचिव पोखरेलले एमाले र केपी ओलीको नेतृत्वमा मुलुकले समृद्धिको यात्रा अघि बढ्छ भन्ने विश्वास यात्राको क्रममा जाहेर भएको बताउनुभयो ।
उहाँले देश र जनतालाई केन्द्रबिन्दुमा राखेर समृद्धिका लागि सङ्कल्प यात्रा आरम्भ गरिएको र त्यस अर्थमा यात्रा पूर्ण रूपमा सफल रहेको बताउनुभयो ।
नेपालाई कमजोर बनाउने प्रवृत्तिका विरुद्ध जनतालाई एकताबद्ध बनाउने उद्देश्य पनि यात्राको माध्यमबाट सफल भएको महासचिव पोखरेलले बताउनुभयो । 
‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ नाराका साथ शुरू गरिएको यात्राका क्रममा अभियान टोली मध्यपहाडका वैतडी, डडेल्धुरा, डोटी, दैलेख जाजरकोट, सुर्खेत, रुकुम पश्चिम, रुकुम पूर्व, बाग्लुङ, गुल्मी, पर्वत, कास्की, लमजुङ, गोरखा, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम हुँदै पाँचथर पुगेको थियो । 
सो क्रममा अध्यक्ष लगायत यात्रा अभियानमा रहनुभएका नेताहरूलाई स्वागत गर्न हजारौँको सङ्ख्यामा नागरिकहरू ठाउँ ठाउँमा भेला भएका थिए, अभियानमा साथ र समर्थन जनाएका थिए ।
देशको मध्यपहाडी क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरूङ, विष्णु रिमाल, सचिवहरू लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुबीर महासेठ, पद्मा अर्याल, केन्द्रीय निकायका प्रमुखहरू, स्थायी कमिटी, पोलिटब्यूरो, केन्द्रीय कमिटी सदस्यहरू, आ–आफ्ना प्रदेशमा प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू सहभागी रहनुभएको यस यात्रामा देशभर हजारौंको सङ्ख्यामा  पार्र्टीका सदस्यहरू, शुभेच्छ्ुक तथा सर्वसाधारण नागरिकको उत्साहजनक सहभागिता रहेको थियो ।