detail-img

देश र जनताको पक्षमा निरन्तर जुटिरहने यात्राको महत्वपूर्ण सन्देशः बरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं । नेकपा (एमाले)का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीले सम्पन्न गरेको झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्राले एमाले देश र जनताको पक्षमा समर्पणभावका साथ निरन्तर जुटिरहने छ भन्ने महत्वपूर्ण सन्देश दिएको बताउनुभएको छ । 
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा १८ दिन लामो ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ ऐतिहासिक रूपमा सफलताका साथ सम्पन्न भएपछि आफ्नो यात्रा अनुभवका आधारमा यसको सन्देश र निष्कर्ष प्रस्तुत गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले यात्राको महत्वपूर्ण सन्देश र निष्कर्ष यही भएको बताउनुभएको छ । 
बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभएको छ– यात्रा अभियानका क्रममा लाखौं जनता स्वतः परिचालित भएर जसरी एमालेको यो अभियानमा सामेल हुनुभएको छ,  सिङ्गो एमाले पङ्क्तिलाई उर्जा र शक्ति प्राप्त भएको छ ।
‘२०८० मङ्सीर १४ देखि शुरू गरिएको झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा  पुस १ गते मध्यान्ह १२ बजे चिवाभन्ज्याङ्मा नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राष्ट्रिय झण्डा फहराएपछि  विधिवत सम्पन्न भएको छ,’ उल्लेख गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभएको छ– यो यात्राको उद्देश्य, कार्यक्रम, नेतृत्वले दिएको प्राथमिकता, जनसहभागिता र जनसमर्थन, सम्प्रेषण गरेको सन्देश, जनतामा जगाएको उत्साह र आत्मविश्वास, हुँदैगरेका षडयन्त्रको भण्डाफोर आदि हिसावले अत्यन्त सफल र ऐतिहासिक रहेको छ । 
‘अहिले औपचारिक रूपमा घोषित कार्यक्रम मात्र टुङ्गिएको हो । तर यो यात्राका उद्देश्य र विषयहरूलाई अगाडि बढाउने एमालेको सङ्कल्प र योजना भने जारी रहने छ ।  एमालेले जनताका बीचमा पुगिरहने, जनतासितको सम्बन्धलाई गाढा बनाइरहने, प्रचूर सम्भावना हुँदाहुँदै पनि मुलुकलाई विपन्न र परनिर्भर बनाइरहने कारणहरूलाई स्पष्टसित खोजी गरिरहने र नयाँस्तरमा जनतालाई सचेत र संगठित गर्दै समाधानका लागि भूमिका खेलिरहने सङ्कल्प गरेको छ । यात्रा अवधिमा र चिवाभन्ज्याङमा पुगेर सम्पूर्ण एमाले नेतृत्वले यही सङ्कल्पलाई दोहोर्याएको छ । यस यात्राको अवधिमा प्राप्त भएका विषयहरू र एमालेको सङ्कल्पलाई  छिटै नै औपचारिक रूपले सार्वजनिक गर्ने कुरा बताइसकेको छ ।’ 
यात्राबाट एमालेले संविधानसम्मत, शान्तिपूर्ण तरिकाले, सिङ्गो मुलुक र आम जनताले भोगिरहेका, अनुभूत गरिरहेका बिषयमा केन्द्रित रही जनतामा जाने कुरा गरिरहेका बेला यसप्रति असहिष्णुता प्रदर्शन गर्ने, अलोकतान्त्रिक र हिंसात्मक तरिका अपनाउन चाहनेहरूका रहस्यमय हरकतहरूलाई पनि नजिकैबाट नियाल्ने अवसर  मिलेको छ । सामाजिक सद्भाव र त्यही सामाजिक सद्भावमा टिकेको राष्ट्रिय एकतालाई कमजोर बनाउने, जनताका बीचमा द्वेषभाव फैलाउन चाहने, मुलुकलाई हिंसाको बाटोमा लैजान चाहने विचार र गतिविधिहरूलाई पनि यस बीचमा नियाल्ने मौका मिलेको छ ।’ 
‘नेकपा (एमाले) राष्ट्र र जनताको पक्षमा दृढतापूर्वक उभिइरहने छ । कुनै पनि विषाक्त  तथा मुलुक र नेपाली जनताको हित विपरीतका विचार गतिविधिका विरूद्ध एमाले चट्टानी ढङ्गले उभिरहने दृढता समेत व्यक्त भएको छ ।’
यस यात्रामा देखिएको एमालेप्रति जनताको रूची, माया, सद्भाव र समर्थनप्रति हार्दिक आभार  व्यक्त नगरी रहन सकिन्न ।  लाखौं जनता स्वतः परिचालित भएर जसरी एमालेको यो अभियानमा सामेल हुनुभएको छ, त्यसले सिङ्गो एमाले पङ्क्तिलाई उर्जा र शक्ति प्राप्त भएको छ । सम्पूर्ण देशभक्त नागरिकहरूबाट   जुन साथ, समर्थन तथा ऐक्यबद्धता प्रदर्शन भएको छ, त्यसप्रति उच्च सम्मान छ ।’ 
नेकपा (एमाले) निरन्तर देश र जनताको पक्षमा समर्पणभावका साथ जुटिरहने छ, जुटिरहने छ । यो यात्राको महत्वपूर्ण सन्देश र निष्कर्ष हो ।’