detail-img

समृद्धिका लागि सङ्कल्प यात्रा क्रममा एमालेप्रति जनताको अपार आशा र विश्वास देखियोः बरिष्ठ उपाध्यक्ष पोखरेल 

झापा । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्राले एमालेप्रति जनताको विश्वास जगाएको बताउनुभएको छ । 
मङ्सिर १४ गते बैतडीको महाकाली नदी किनार झुलाघाटबाट सुरु भएको यात्रा आइतबार पाँचथरको चिवाभञ्ज्याङमा सम्पन्न गरेपछि काठमाडौं फर्कने क्रममा सोमबार झापामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले बैतडीदेखि पाँचथरसम्म सबै ठाउँमा नागरिकले अपार माया देखाएका बताउनुभयो । 
‘सबै ठाउँमा जनताको उपस्थिति हामीले त्यस्तै किसिमको पायौँ, यसले हामी अत्यन्त उत्साहित भएका छौँ’, उहाँले भन्नुभयो । 
प्रेस चौतारी नेपाल झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले जनताले एमालेप्रति आशा र विश्वास राखेका र त्यो विश्वासलाई एमालेले मर्न नदिने उहाँको भनाइ छ ।
नेकपा (एमाले)ले आयोजना गरेको सङ्कल्प यात्रा कसैका विरुद्ध नभएको पनि उहाँले स्पष्ट पार्नुभयो । बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो– हाम्रो यो यात्रा कसैको विरुद्ध होइन, हाम्रो यात्रा अन्योल, अस्थिरता, राज्यको तर्फबाट जुन सेवा पाउनुपर्ने हो त्यो पाउन नसकेको स्थितिलाई चिर्न हो’, उहाँले भन्नुभयो ।


देशको अहिलेको अवस्थाको बारेमा जनतालाई यथार्थ जानकारी गराउन एमालेले यात्रा आयोजना गरेको र त्यसमा सफलता मिलेको उहाँले बताउनुभयो । राष्ट्रिय एकता, सामाजिक सद्भाव कायम गर्दै विकासका काम अघि बढाउनुपर्छ भन्ने कुरामा खबरदारी गर्न यात्रा आयोजना गरिएको उहाँले प्रष्ट पार्नुभयो । 
अहिले ग्रामीण क्षेत्रमा जनताले कुनै पनि सेवा पाउन नसकेको कारण असन्तुष्टि बढेको बरिष्ठ उपाध्यक्ष पोखरेलले बताउनुभयो । एमालेले सुरु गरेका विकासका सबै काम ठप्प भएको उहाँको भनाइ छ ।  
नेकपा (एमाले) लोकतन्त्रमा विरोध गर्न पाइने कुरामा प्रष्ट रहेको तर हिंसालाई भने स्वीकार नगर्ने पार्टी भएको उहाँले स्पष्ट पार्नुभयो । सबै असहमति शान्तिपूर्ण रूपमा राख्नुपर्ने र संवैधानिक हिसाबले समाधान खोज्नुपर्नेमा उहाँको जोड छ । ‘मारकाटमा उत्रिएर कुनै समस्याको समाधान खोजिन्छ भने त्यो किमार्थ सम्भव छैन, नेकपा (एमाले) त्यसको विरुद्धमा रहन्छ’, उहाँले भन्नुभयो । 
कोशी प्रदेशको नामाकरण संवैधानिक हिसाबले नै भएको र असन्तुष्टि भए संवैधानिक बाटोबाट नै समाधानमा पुग्न बरिष्ठ उपाध्यक्ष पोखरेलले आग्रह गर्नुभयो । 
समृद्धिका लागि सङ्कल्प यात्रा औपचारिक ढङ्गले समापन भएको भए पनि सो यात्राका क्रममा प्राप्त विषयवस्तुलाई निरन्तर अघि बढाउने उहाँले बताउनुभयो । 
यसैगरी, इलाममा नेकपा (एमाले) सूर्योदय नगर कमिटीले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले विकास र समृद्धिको नेतृत्व गर्ने पार्टी भएको बताउनुभयो । 
देशको स्थायित्व र समृद्धिका लागि एमाले नेतृत्वको सरकार आवश्यक पर्ने बताउँदै उहाँले भन्नुभयो– जहिलेसम्म एमाले सरकारको नेतृत्वमा आउँदैन, त्यसबेलासम्म देशको समस्या समाधान हुँदैन ।
मुलुकको समृद्धिको लागि नेकपा एमालेले योजनाबद्ध रूपमा काम गर्ने उहाँले प्रष्ट पार्नुभयो । 
मुलुकका सामु धेरै समस्या भएको बताउँदै बरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेले मात्र ती समस्या समाधान गर्न सक्ने बताउनुभयो । राजनीतिक स्थायित्व र आर्थिक, सामाजिक विकासको लागि देशको नेतृत्व एमालेले नै लिनुपर्ने उहाँको भनाइ छ  ।