detail-img

मुलुकलाई समाधान दिने पार्टी एमाले मात्रैः महासचिव पोखरेल

विराटनगर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले पहिचान विरोधी पार्टी नभएको बताउनुभएको छ ।  नेकपा (एमाले) मोरङले  आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले  एमाले साझा पहिचानको पक्षमा अडिग रहेको स्पष्ट गर्नुभयो । 
महासचिब पोखरेलले भन्नुभयो– हामी जनतासँग जे भनेर जान्छौँ, चुनाव जितेपछि पनि त्यही गर्छौं ।
अन्य पार्टी जस्तो जनतालाई धोखा दिने काम एमालेबाट नहुने उहाँको भनाइ छ । महासचिव पोखरेलले भन्नुभयो– हामी चुनावमा एउटा कुरा र व्यवहारमा अर्को गर्दैनौँ ।
एमाले सधै साझा पहिचानको पक्षमा रहने उहाँको भनाइ छ । कोशी प्रदेश नामकरणको सवालमा पनि एमालेले साझा पहिचान खोजेको महासचिव पोखरेलले बताउनुभयो । नामकरणपछि बेइमानी अरूले गरेको उहाँको भनाइ छ । तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले कोशी नामको पक्षमा सहमति दिएको महासचिव पोखरेलले प्रष्ट पार्नुभयो । 
उहाँले भन्नुभयो– देउवा र प्रचण्डले नाम जायज छ, अघि बढ्नुहोस् । हामी सहयोग गर्छौं भनेपछि नामकरण सफल भएको हो ।
नामकरणपछि पक्षमा मतदान गर्नेहरूले बेइमानी गरेको उहाँको भनाइ छ । पहिचानवादीले आफ्ना माग एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित कार्यक्रममा राख्न नसकेको उहाँले बताउनुभयो । 
एमालेको विरोध नगरी स्वागत गर्दै आफ्ना माग नेतृत्व समक्ष राख्ने राम्रो अवसर पहिचानवादीले गुमाएको भनाइ महासचिव पोखरेलले राख्नुभयो । 
मुलुकलाई समाधान दिने पार्टी एमाले मात्रै भएको बताउँदै महासचिव पोखरेलले भन्नुभयो– विप्लप, सिके राउतलाई मुलधारमा एमालेले ल्याएको हो ।
मध्यपहाडी लोकमार्ग केन्द्रित कार्यक्रममा ठुला सभा कोशी प्रदेशमा भएको उहाँले बताउनुभयो । यात्राका क्रममा पहिचानवादीको अवरोध कसैले महसुस नगरेको भनाइ महासचिव पोखरेलले राख्नुभयो । 
उहाँले भन्नुभयो– समाचारमा आए होलान्, विज्ञप्तिमा आयो होला । यात्रामा सहभागीले विरोधको अनुभूति गर्न पाएनौँ । एमालेको यात्राले व्यवस्था परिवर्तनको माग गर्दै भइरहेको विरोधलाई विफल पारेको महासचिव पोखरेलले बताउनुभयो  । उहाँले भन्नुभयो– सरकार असफल छ, यसको विरोध हुनुपर्ने हो ।
झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रालाई सवै पक्षले सकारात्मक रूपमा लिएको महासचिव पोखरेलले बताउनुभयो । यात्राका क्रममा सामुहिक समस्या सडक, मुआब्जा लगायतका गुनासा, व्यवस्थित विकासका कुराहरू, मध्यपहाडी क्षेत्रलाई आर्थिक समृद्धिसँग जोड्नका लागि विशेष मागहरू आएको उहाँले बताउनुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– मध्यपहाडी यात्रा ऐतिहासिक र अभुतपूर्व रह्यो । पत्रकार सम्मेलनमा एमालेले छिटै हुलाकी राजमार्ग केन्द्रित अभियान पनि सञ्चालनको तयारी गरेको उहाँले जानकारी दिनुभयो ।