detail-img

एकताबद्ध नेपाली, सुदृढ नेपाल

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८० मंसीर १४ गते ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ शुभारम्भपछि  बैतडीको गोठालपानीमा आयोजित बृहत आमसभामा  गर्नुभएको सम्बोधनको पूर्णपाठः

आज हामी विशेष अभियानको सन्दर्भमा झुलाघाट–चिवाभञ्ज्याङ अथवा पश्चिमको सिमाना महाकाली नदी किनार र पूर्वमा पाँचथर जिल्ला र सिक्किमको सिमाना चिवाभञ्ज्याङसम्म पुष्पलाल मध्यपहाडी राजमार्ग हुँदै आम जनतासँग भेटघाट, संवाद गर्दै राष्ट्रिय शक्तिको निर्माण, राष्ट्रिय राजनीतिलाई, राष्ट्रिय राजनीतिको रूपमा अगाडि बढाउने, देशमा समृद्धि र सुशासन ल्याउने त्यस बाटोबाट नेपाली जनताको आकांक्षा अथवा राष्ट्रिय आकांक्षा अथवा हाम्रो पार्टीले बनाएको आफ्नो उद्देश्य वा गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई साकार पार्ने उद्देश्यका साथ  एउटा राष्ट्रिय अभियान सुरुवात गरेका छौँ । यो अभियानको सुरुवात यही बैतडी जिल्लाबाट सुरु गरेका छौँ र आज बिहान ८ः३० बजे झुलाघाटबाट प्रारम्भ गरेका छौँ । 
यो अभियान यहाँबाट प्रारम्भ भएको छ र यही उत्साहका साथ देशभरि अगाडि बढ्ने छ । तपाईंहरूको उत्साह, यस अभियानप्रतिको तपाईंहरूको समर्थन, साथ, सहयोग र यस अभियानप्रति यहाँहरूको विश्वासलाई देखेर नेकपा (एमाले)लाई हर्ष लागेको छ । म यहाँहरू सबैलाई धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु । हामीहरू यहाँ आइपुग्ने बित्तिकै म मार्फत नेतृत्वमण्डल र सिङ्गै नेकपा (एमाले)लाई अभिनन्दन गर्नु भएको छ, त्यसका निम्ति म यहाँहरूप्रति आभार र कृतज्ञता व्यक्त गर्न चाहन्छु । 
आज नेकपा (एमाले)मा थुप्रै साथीहरू विभिन्न पार्टी परित्याग गरेर प्रवेश गर्नु भएको छ । सबै साथीहरूलाई म नेकपा (एमाले)मा हार्दिक स्वागत गर्न चाहन्छु । नेकपा (एमाले) राष्ट्रिय पार्टी हो, राष्ट्रिय शक्तिको प्रतिनिधित्व गर्ने पार्टी हो, राष्ट्रिय भावना, सोंच र विचारको प्रतिनिधित्व गर्ने पार्टी हो । यस पार्टीले आज यस जिल्लाबाट अभियान प्रारम्भ गर्दैछ । जुन जिल्ला राष्ट्रिय अभियान, राष्ट्रिय सोच, राष्ट्रिय सङ्कल्प, राष्ट्रिय परिवर्तन त्यसका निम्ति शङ्खघोष गर्ने जिल्ला हो । यो शहीद दशरथ चन्दको जिल्ला हो । यो अनेक शहीदहरूको जिल्ला हो । अनेक योद्धाहरूको, अग्रजहरूको जिल्ला हो । यस जिल्लाबाट नेपालले थुप्रै त्यागी, बलिदानी योद्धाहरू पायो । बाटो देखाउने विद्वान निर्देशकहरू पायो, विद्वानहरू पयो, लेखकहरू पायो, कवि कलाकारहरू पायो । यो अनेक देवता, देवीहरूका मठमन्दिरहरू र अत्यन्त पवित्र मानिएका ठाउँहरूयुक्त जिल्ला हो । यस जिल्लाबाट हामीले यो अभियान प्रारम्भ गरेका छौँ । यो अभियान तीन हप्ता चल्ने छ । यसैगरी चल्ने छ र हामी डडेल्धुरा हुँदै खोड्पे जाँदैछौँ। भोलि बिहान डडेल्धुरामा कार्यक्रम गरेर हामी पूर्वतिर लाग्ने छौँ । डोटी हुँदै मध्यपहाडी राजमार्ग समातेर अगाडि बढ्ने छौँ । 
मैले यस जिल्लाका समस्याहरू बुझेको छु । दशरथ चन्दको जन्मथलोको निर्माण, पुनःनिर्माण र त्यसको जीणोद्धार गर्नका लागि म पहिलो पटक प्रधानमन्त्री हुँदा २५ लाख रूपैयाँ हामीले उपलब्ध गराएका थियौँ । यहाँको त्रिपुरा सुन्दरी मन्दिर हामीले हेर्यौं । त्रिपुरा सुन्दरी मन्दिरलाई केही रकम निकासा गर्ने हो भने अत्यन्तै सुन्दर र वास्तवमा त्रिपुरा सुन्दरी जस्तै बनाउन सकिन्छ । त्यसतर्फ नेकपा (एमाले)को ध्यान गएको कुरा म यहाँहरूलाई भन्न चाहन्छु ।


शहीद दशरथ चन्दको स्मृतिका लागि उहाँको प्रतिष्ठान राष्ट्रिय प्रतिष्ठानको रूपमा अगाडि बढाइयोस् भन्ने यहाँहरूको मागमा पार्टीको ध्यान गएको छ, त्यो कुरा म यहाँहरू समक्ष राख्न चाहन्छु । पार्टीले आगामी दिनमा यी कुराहरूलाई कसरी प्रभावकारी कार्यान्वयनमा लाने भन्ने कुरा विचार गर्नेछ । नेकपा (एमाले)को सरकार हुँदा यी कामहरू हामी गर्नेछौँ । हामीले झुलाघाट हे¥यौँ, मैले पहिले हेरेको थिइनँ । तर झुलाघाटमा पक्की पुल आवश्यक छ । अरु ठाउँमा पनि पक्की पुल आवश्यक छन् । तुइन विस्थापित गर्नुपर्छ भनेर दार्चुलाका माननीयजी मेरो टिममै हुनुहुन्थ्यो, मसँगै भारत भ्रमणमा जानुभएको थियो । त्यसबेला हामी उत्तराखण्ड गएर त्यहाँका मुख्यमन्त्रीजी र गभर्नरलाई भेटेर, केन्द्रमा पनि मैले मोदीजीसँग कुरा गरेर उतापट्टी पुल बनाउन भारतले जमिन दिंदैन र मान्दैन भन्ने जुन कुरा थियो, त्यसलाई मोदीजीसँग कुरा गरेर समाप्त पारियो । उत्तराखण्डका मुख्यमन्त्री र त्यहाँका गर्भनरसँग पनि कुरा गरेर दुवैतर्फले यसलाई सहकार्यका साथ अगाडि बढाउने भनेर हामीले विभिन्न ठाउँमा पुलहरू पनि बनायौँ । तुइनहरू विस्थापित गर्यांै, झोलुङ्गे पुलहरू पनि बनायौँ । एउटा ठेक्दारको कमजोरीले गर्दा एउटा तुइन बाँकी रहेको रहेछ । त्यसमा एउटा दुर्घटना भयो, भारततर्फका सुरक्षाकर्मीले नगर्नु पर्ने काम गरे र नेपाली नागरिकको निधन भयो । देश रोयो, देश करायो तर त्यतिबेला हामी हटेपछि बनेको एउटा गठबन्धन भन्ने सरकार मुखमा भोटे ताल्चा लगाएर बस्यो । चुइक्क बोल्न सकेन । आफ्नो नागरिक मर्दा, आफ्नो नागरिक मारिँदा तुइन काटिँदा बोल्न सकेन, बोल्दैन । 
यो गठबन्धनलाई तुइन विस्थापन गरेर पुल बनाएकोमा पीर छ । बाटाघाटा बनाएकोमा पीर छ । म प्रधानमन्त्री हुँदा महाकाली करिडोर, सेती करिडोर, देशभरिका अन्य रिभर करिडोर, पूर्वपश्चिम हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, पुरानो पूर्व–पश्चिम राजमार्गलाई विस्तार गर्ने काम, पूर्व–पश्चिम रेल, जनकपुरमा रेल कति काम भए भनेर साध्य छैन । भुइँचालोमा नौ लाख घरहरू भत्किएका थिए । भुइँचालोमा भत्किएका घरहरू तीन वर्षभित्र हामीले पुनःनिर्माण गरेर एकीकृत वस्ती सकेसम्म बसाएर पीडितहरूलाई हस्तान्तरण गरायौँ । त्यसै बारा, पर्सामा आँधी तुफानले ८६९ घरहरू उडायो । फुसका छानाहरू उडाएका ठाउँमा पक्की घर बनाएर पीडितहरूलाई हस्तान्तरण गर्यांै । 
पुष्पलाल (मध्यपहाडी) राजमार्ग पहिले हामीले योजनामा पारेका थियौँ, निर्माण कार्य ठप्प थियो । यसलाई हामी सरकारमा रहेको तीन वर्षमा अगाडि बढायौँ । हामीले छोडेपछि फेरि जस्ताको तस्तै । त्यो भएर अहिले हामी यो राजमार्ग पनि हेरौँ । यस राजमार्गको पुनःनिर्माणलाई पनि हेरौँ । यहाँका जनताका समस्यालाई हेरौँ, यहाँको बेरोजगारीलाई कसरी सम्बोधन गर्न सकिन्छ, त्यो पनि हेरौँ, यी सबै कुरालाई लिएर हामी विकासका के काम गर्न सकिन्छ, देश विकास कसरी गर्न सकिन्छ भन्ने उद्देश्यका साथ यात्रा अभियानमा निस्केका हौँ ।  दुनियाँ कति अगाडि बढिसक्यो, हाम्रो देश अझ ओरालो लाग्दै छ । हामीले सरकार छोडेपछि, हामीलाई सरकारबाट हटाइएपछि देशको राजनीति अस्थिरतामा गयो, यो अढाइ वर्षमा देशको अर्थतन्त्र ओरालो लाग्यो । राजनीतिक अस्थिरता अराजकतामा गयो । अर्थतन्त्र ओरालो लाग्यो, रोजगारीका अवसर समाप्त भए । कृषिको आधुनिकीकरणको काम रोकियो । उद्योग धन्दा नयाँ खोल्ने त कुरै छोड्दिऊँं, भएका पनि बन्द हुँदै गए । व्यापारी व्यवसायीहरू हतोत्साहित भए । ऋणको ब्याज तिर्न सकेका छैनन्, सावाँको त कुरै छोड्दिऊँ, झन्झन अप्ठ्यारोमा पर्दैछन् । अहिले कर्मचारी पाल्ने पैसा सरकारसँग छैन । सरकारले आन्तरिक ऋण उठाएर कर्मचारी पाल्नुपर्ने अवस्था पहिलो चार महिना साउन, भदौ, असोज र कात्तिकमा परेको छ भने कस्तो अवस्था होला ? 
राजनीतिक हिसाबले देशमा फेरि एकपटक पहिचानका नाममा नेपाली जनतालाई विभाजित गर्न खोजिएको छ । पहिचानको सवाल नेकपा (एमाले)ले सबैभन्दा बढी सम्बोधन गरेको छ । त्यसकारण संविधानमै समावेशी र समानुपातिक सिद्धान्त हामीले सामेल गरेका छौँ र जनसङ्ख्याको आधारमा प्रतिनिधित्व गर्ने व्यवस्था हामीले गरेका छौँ । पहिचानको राजनीति भनेको अरुलाई घृणा गर्ने, निषेध गर्ने, अरुलाई हमला गर्ने, हिंसा फैलाउने, अराजकता र आतङ्क मच्चाउने पहिचानको राजनीति हुन सक्दैन । पहिचानको राजनीतिका नाममा जनता भाड्ने, राष्ट्रिय एकता तोड्ने, यो हाम्रा वैरीहरूलाई मद्दत पुर्याउने कुरा हो । देशलाई अनेकतामा लाने कुरा हो, एकताबद्ध हुन नदिने कुरा हो । 
देशमा लोकतान्त्रिक प्रणाली छ तर प्रक्रियामा गम्भीर कमीहरू आइरहेका छन् । आज लोकतान्त्रिक प्रणालीको उचित ढङ्गले अभ्यास हुन सकेको छैन । यसैकारण कमिसनतन्त्र बढेको छ । तस्करीको त तपाईंहरूले सुनिरहनु भएको होला, एक क्विन्टल सुन अहिले फेला पर्यो, पहिले नै ३५ क्विन्टल सुन आइसकेको रहेछ । कहाँ गयो ? एयरपोर्टमा जहाँ कुनै सियो छिर्दैन, त्यहाँ नजाँचिकन त्यस्तो ठाउँबाट इलेक्ट्रिक सिगरेट भन्नेबाट, अन्य भन्सारहरूबाट, नाकाहरूबाट अनेक ठाउँहरूबाट त्यतिकै सुन ओइरिएको ओइरियैै छ । कसले किन्छ ? कहाँको पैसाले किन्छ ? कहाँबाट आउँछ त्यत्रो पैसा ? यो सबै तस्करीको खेल हो । यो सबै कमिशनतन्त्रको खेल हो । 
त्यसैकारण स्वस्थ रहेको अर्थतन्त्र आज ओरालो लागेको छ । देशको बेहाल अवस्था भएको हुनाले, जनतामा अन्योल र निराशा बढ्दै गएको हुनाले, जनता विदेशतिर पलायन हुँदै गएकाले अहिले प्रतिक्रियावादी, प्रतिगामी शक्तिहरू मौका आउँछ कि भनेर यस्सो दुलाबाट टाउको निकालेर फेरि सल्बल्याउन खोजेका छन् । उहिले राजतन्त्र थियो, त्यो राजतन्त्रको अहिले शालिक बनाएर, अहिले श्री ५ महाराजाधिराज भनेर शालिक लेखेर तमासा गरेर असंवैधानिक काम यहाँ भइराखेको छ । 
गणतन्त्रको विरोध गर्ने दुष्साहस अहिले भइराखेको छ । लोकतन्त्रको विरोध गर्न दुरुत्साहित गर्ने काम अहिले भइराखेको छ । तसर्थ म हाम्रा तमाम दाजुभाइ दिदीबहिनीहरूलाई भन्न चाहन्छु– हामी फेरि पछाडि फर्किन सक्दैनौँ, फेरि रैती हुन सक्दैनौँ । फेरि हामी दास हुन सक्दैनौँ । फेरि हामी अनेक प्रकारका छुवाछूत र प्रथाहरूतिर फर्किन सक्दैनौँ । जन्ँिमदै कोही राजा हुन जन्मिन्छ, कोही दास हुन जन्मिन्छ, कोही धनी हुन जन्मिन्छ, कोही गरिब हुन जन्मिन्छ भनेर मान्दैनौँ । 
अब गरिबी अन्त्य हुनै पर्दछ, अभावको अन्त्य हुनै पर्दछ, भोकमरी समाप्त गर्नै पर्दछ, त्यो काम सरकारको हो । त्यसैकारण म प्रधानमन्त्री हुँदा नेपालका हाम्रा छोराछोरी, बालबालिकाहरू खाते हुन सक्दैनन्, सरकारले अभिभावकत्व लिन्छ भनेर सबै बालबालिकाहरूलाई सडकबाट टिपेर बस्ने, खाने, पढाउने व्यवस्था गरेका थियौँ । सडकमा मान्छे भिखमङ्गा, मगन्ते अथवा बेवारिसे भएर हिँड्न पर्दैन । यो भिखारीको देश होइन, यहाँ हेर्ने कोही छैन भन्ने होइन, यहाँ सरकार छ, एमालेको सरकार छ, जनताको सरकार छ भनेर मैले भनेको थिएँ । तर, अहिले फेरि सडकमा बालबालिका, फेरि सडकमा अलपत्र मानिसहरू, फेरि सडकमा भिखमङ्गा, फेरि बेरोजगार युवा देखिन थालेका छन् ।  मेरो नेतृत्वको सरकारका समयमा विदेश जाने युवाको सङ्ख्यामा १८ प्रतिशतले घटेको थियो । तीनबर्षमा नौ लाखभन्दा बढी मानिसलाई हामीले गरिबीको रेखाभन्दा माथि उठाएका थियौँ तर अहिले त्यो नौ लाख तल झरेको छ । यस स्थितिलाई कसरी अन्त्य गर्ने ? हाम्रा सम्भावनाहरू के छन् ? हाम्रो जस्तो प्रकृति कहीँ पाइँदैन, जसको शिरमा हिमाल छ, जहाँबाट पानी पग्लिरहन्छ, हिमाल रसाइरहन्छ, नदीहरू आइरहन्छन्, पानीको सञ्चिती भइरहन्छ । तातो हावा आयो भने शितल भएर फर्किन्छ । 
यस्तो भू–भाग कहाँ हुन्छ ? नलगाएका रुखहरू, विरुवाहरू आज हामी हरियाली जङ्गल हेर्दै हिँड्यौँ । यी वनहरू, यो हरियाली कसैले विरुवा रोपेर भएका होइनन् । यी प्राकृतिक रूपमा भएका हुन् । यस्तो उर्वर, यस्तो जीवनमय देश, यस्तो खनिजहरूले भरिएको फलाम खानी र फोस्फोरस खानीको देश, हामीले त्यसको अध्ययन गर्दै थियौँ । नवलपरासीमा फलाम खानीको उत्खनन् गरेर परीक्षण भएको थियो । दैलेखमा हामीले तेल छ भन्ने पत्ता  लगाएर उत्खनन् गर्न सकिने भनेका थियौँ । हाम्रा ढुङ्गा, किमती पत्थर मात्रै हामीले बेच्याँै भने असाधारण ढङ्गले हामीले आम्दानी गर्न सक्छौँ । हामीसँग निर्यात गर्ने जडिबुटी, किमती पत्थर लगायत पर्याप्त छ । हामीले तिनलाई खोज्ने, अध्ययन, अनुसन्धान गर्ने, प्रशोधन गर्ने कुराको आवश्यकता छ । 
यहाँका समस्याहरू मैले बुझेको छु, नेकपा (एमाले)ले बुझेको छ । त्यसकारण मैले भन्न चाहन्छु, बैतडी जस्तो उर्वर, रमणीय, नदीनाला आदिले भरिएको जिल्ला गरिब नरहन पर्ने हो । जागरणको इतिहास बोकेको जिल्ला, यति कर्मवीर भएको जिल्ला, यस जिल्लालाई अब गुणस्तरीय शिक्षा हरेकका लागि, गुणस्तरीय उच्च शिक्षा हरेक बालबालिका लागि प्रबन्ध गर्नुपर्छ । प्राविधिक शिक्षालयको हरेक जिल्ला र पालिकाहरूमा बन्दोवस्त हाम्रो समयमा सुरु गरेका थियौँ । अहिले सबै ठप्प हुँदै गएको छ । त्यसलाई हामी फेरि सुचारु गर्ने छौँ । रोजगारीका अवसरहरूका लागि, कृषिको आधुनिकीकरण त्यसमा आधारित भएर स–साना उद्योगहरू, तिनका निम्तिको बजार, त्यसको व्यवस्थाको नेतृत्व सरकारले गर्नु पर्दछ । यहाँ हामीले अस्पताल बनाएका हौँ । त्यो अस्पतालमा अहिले कर्मचारीको दरबन्दी छैन, उपचारका सामग्री छैनन्, परीक्षणका सामग्री छैनन्, प्रयोगशालाको रूपमा काम गरिरहेको अवस्था छैन । अर्कातिर सरकार मेडिकल कलेज खोल्न दिँदैन, मेडिकल कलेज बन्द गराउँदै जान्छ । गेटामा मेडिकल कलेज सञ्चालन हुन सकेको छैन । अस्पताल नै सञ्चालन हुन सकिराखेको छैन । 
तसर्थ यस्ता कुराहरूमा आगामी दिनमा नेकपा (एमाले)ले ध्यान दिन चाहन्छ । म यहाँहरूलाई के भन्न चाहन्छु भने यहाँहरूका परम्परागत सीपहरू, परम्परागत कृषिलाई अलिकति आधुनिकीकरण गर्यो भने हामीले रोजगारीका अवसरहरू पनि सिर्जना गर्न सक्छौँ । त्यसलाई औद्योगिकीकरण गर्ने, व्यावसायिकीकरण गर्ने र आम्दानीका स्रोतहरू राम्रा बनाउन सक्छौंँ । त्यस दिशामा आगामी दिनमा नेकपा (एमाले)ले ध्यान दिने कुरा म यहाँहरूलाई भन्न चाहन्छु । 
अब धेरै कुरा भन्नु भन्दा पनि यस देशमा नेकपा (एमाले) छ, यस देशलाई पराधीन हुन नेकपा (एमाले)ले दिँदैन । यस देशको भूगोलको रक्षा एमालेले गर्छ । यस देशको सार्वभौमसत्ताको रक्षा एमालेले गर्छ । यस देशको स्वाधीनता, स्वतन्त्रता र हाम्रो राष्ट्रिय हितहरूको रक्षा नेकपा (एमाले)ले गर्छ । जनताका हितहरूका निम्ति नेकपा (एमाले)ले गर्नुपर्ने कामहरू गर्छ, आवश्यक कदमहरू चाल्छ र विकासलाई साकार बनाइ छोड्छ । नेकपा (एमाले)को नेतृत्वमा नेपाललाई गरिबीबाट मुक्त गरेर एउटा समृद्ध र धनी देश बनाइ छोड्छ । एकताबद्ध नेपाली, सुदृढ नेपाल, समृद्ध नेपाल र सुखी नेपाली बनाइ छोड्छौँ ।
हामी कुनै पनि नाममा विभाजित हुने छैनौँ र नेकपा (एमाले)ले कुनै पनि नाममा जनता भाँड्ने, जनतालाई अलग अलग पार्ने, जनताका बीचमा मारकाट मच्याउने यस प्रकारका क्रियाकलापहरूलाई कुनै हालतमा पनि अगाडि बढ्न दिने छैन । 
मैले विश्वास लिएको छु– सुदूरपश्चिम विश्वविद्यालयका कुरा सुनेको छु, यहाँका क्याम्पसका कुरा सुनेको छु, यहाँका शिक्षकहरूका कुरा सुनेको छु, यहाँका डाक्टरहरूको कुरा सुनेको छु, यहाँका विद्यार्थीका कुरा सुनेको छु, यहाँका किसान र अरुका कुरा सुनेको छु । त्यसकारण यस जिल्लामा के गर्नपर्छ भन्ने हामीलाई थाहा छ । 
तसर्थ देश बनाउने जिम्मा नेकपा (एमाले)ले लिन्छ, यहाँहरू ढुक्क हुनुहोस्, म आग्रह गर्न चाहन्छु । हाम्रो झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको यो यात्रा यसैकारण स्थानीय तवरमा आमजनतासँग भेटघाट, भलाकुसारी, संवाद गर्दै जाने र राष्ट्रिय रूपमा यसलाई शक्तिको रूपमा प्रयोग गर्ने र राष्ट्र निर्माणका लागि राष्ट्रिय उद्देश्यमा यसलाई परिणत गर्ने, सबल राष्ट्रिय शक्ति निर्माणको उद्देश्यमा प्रयोग गर्ने हो । यस काममा नेकपा (एमाले) निस्किएको छ र यो जाडोको महिनामा एउटा अभियान चलाइरहेको छ । यसमा आम दाजुभाइ दिदीबहिनीहरूको साथ र सहयोग रहने छ भन्ने मैले विश्वास लिएको छु । यहाँको स्नेह, सहयोग, सद्भाव सबैका लागि धेर–धेरै धन्यवाद भन्न चाहन्छु । जो साथीहरू सम्मानित हुनुभएको छ, बधाई र शुभकामना तथा जो साथीहरू नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ, उहाँहरूलाई स्वागत र शुभकामना छ, नेकपा (एमाले)मा तपाईंहरूको कार्यकाल सफल रहोस् । नेकपा (एमाले)का साथीहरूलाई नयाँ उत्साह, नयाँ जोश र एकताका निम्ति प्रेरणा मिलोस् । एकताबद्ध भएर, धेरैभन्दा धेरै साथीहरू गोलबन्द भएर राष्ट्र निर्माणको गतिलाई अगाडि बढाउन आह्वान गर्दै म आफ्नो भनाइ टुङ्ग्याउँछु । धन्यवाद !