detail-img

हामी बनाउँछौँ हाम्रो देशः अध्यक्ष ओली 

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ को सातौँ दिन २०८० मङ्सिर २० गते  गुल्मीको मुसिकोट, वामीटक्सारमा आयोजित जनसभामा गर्नुभएको सम्बोधनको पूर्णपाठः

आज हाम्रो देश अत्यन्तै अप्ठ्यारो अवस्थामा छ । देशको अवस्था अत्यन्तै नाजुक हुँदै गएकाले, राष्ट्रियता कमजोर हुँदै गएकाले, विकास निर्माणका कार्य ठप्प भइरहेकाले, अर्थतन्त्र ध्वस्त हुँदै गएकाले, पहिलो चौमासिक साउन, भदौ र असोजमै कर्मचारीलाई तनखा खुवाउन राष्ट्र ऋण उठाउनु पर्ने त्यस्तो अवस्था देशमा आएकाले, रोजगारीका अवसर बन्द हुँदै गएकाले, उद्योगधन्दा बन्द हुँदै गएकाले, नचलेकाले, नयाँ उद्योग नखुलेकाले देश अत्यन्तै अप्ठ्यारो अवस्थामा छ । हामी व्यापार घाटामा छौँ । खाली आयात गर्ने, निर्यात गर्ने कुनै सामान उत्पादन गर्दैनौँ । यस अवस्थालाई फेर्न जरूरी छ । देशमा भ्रष्टाचार व्याप्त छ, कमिशनतन्त्र र तस्करी व्याप्त छ । यी सबै कुराहरूलाई फेर्न अब हामीले ढिला गर्नु हुँदैन । 
यस देशमा नेकपा (एमाले) छ । नेकपा (एमाले) प्रभावकारी ढङ्गले आफ्ना नीतिहरू कार्यान्वयन गर्न सक्छ । नेकपा (एमाले) देश विकासका लागि, देशमा सकारात्मक परिवर्तन ल्याउनका लागि सही नीतिहरू निर्माण गर्न सक्छ र सही नीति कार्यान्वयन गर्ने जनसमर्थन र संगठन योसँग छ । त्यसैकारण एमालेलाई सरकारबाट हटाएर देशलाई अहिले दुर्दशामा पुर्याएका छन् । यो स्थिति रहिरहन दिनु भएको छैन, यसलाई फेर्नु परेको छ । यो स्थिति फेर्न र देशलाई अगाडि बढाउन नेकपा (एमाले)ले के गरोस् भन्ने चाहनुहुन्छ, कस्ता नीति लेओस् भन्ने चाहनुहुन्छ, कस्ता सुझाव र सल्लाह दिन चाहनुहुन्छ, ती कुराहरू मध्यपहाडी भेगका पूर्वदेखि पश्चिम, पश्चिमदेखि पूर्वसम्मका तमाम जनताका कुराहरू सुन्दै, सुझावहरू सङ्कलन गर्दै हामी गएको १४ गते (२०८० मङ्सिर १४) बिहान ८ः३० बजे महाकाली नदीको झुलाघाटबाट राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेर, हामीले हाम्रो यात्रा प्रारम्भ गर्यौं । आज सातौँ दिन यहाँहरू समक्ष यस वामीटक्सारमा आइपुगेका छौँ । यहाँ आइपुग्दा तपाईंहरूबाट हामीले जुन आशा र भरोसा व्यक्त भएको पायौँ, तपाईंहरूबाट जुन विश्वास नेकपा (एमाले)माथि गरेको पायौँ, हाम्रो यात्रा टोलीलाई यहाँहरूले जुन अत्यन्तै आत्मियताका साथ सम्मान व्यक्त गर्नुभयो, स्वागत गर्नुभयो, माया देखाउनुभयो, त्यसका निम्ति म यात्रा टोलीको तर्फबाट सबै दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक धन्यवाद भन्न चाहन्छु, यहाँहरूप्रति आभार व्यक्त गर्न चाहन्छु ।
देशका कुन–कुन ठाउँमा कस्ता समस्या छन्, जनताले कस्ता समस्या भोगिरहेका छन् ? ती कुराहरू बुझ्न र सँगसँगै भूकम्प पीडितहरूको अवस्था के छ ? हामीले भूकम्प पीडितको सहयोगका लागि त्यहाँ खटाएका १४५० स्वयंसेवकले दुई हप्तासम्म गर्नुभएको कामको निरीक्षण गर्न हामी आयौँ । हामीले पायौँ हाम्रा स्वयंसेवकहरूले असाधारण काम गर्नुभएको रहेछ । ८१३ वटा अस्थायी घरहरू निर्माण गरेर (कोही कोही स्थायी घरहरूजस्तै छन्) पीडितहरूलाई हस्तान्तरण गर्नुभएको रहेछ । घर भत्किएर पुरिएका सरसामानहरू ती भत्किएका घरका भग्नावशेषहरूलाई हटाएर साथीहरूले  निकाल्नु भयो । घर भत्किएर छेउमा पनि जान नसक्ने त्यस्तो अवस्थामा हाम्रा स्वयंसेवकहरूले ज्यानको बाजी लगाएर त्यसलाई सफा गर्ने काम गर्नुभयो । म हाम्रा स्वयमसेवकहरूलाई धन्यवाद भन्न चाहन्छु ।


त्यसै गरेर सरकारको तर्फबाट कसरी काम भइरहेको छ, कस्तो काम भइरहेको छ, त्यो कुरा पनि हेर्न हामी आएका थियौँ । यस प्रसङ्गमा सरकारको तर्फबाट पर्याप्त काम नभएको देखियो । हाम्रो सुझाव सरकारलाई छ, भूकम्प पीडितहरूको सकेसम्म छिटो व्यवस्थापन गर्ने, पुनःनिर्माण गर्ने र उहाँहरूलाई पुनःबसोबास गर्ने काम सरकारले अभिलम्ब गरोस् । आज हजारौ सुत्केरी महिलाहरू, कलिला शिशुहरू, ज्येष्ठ नागरिकहरू त्रिपाल होइन, साना प्लास्टिकका छाना हालेर गुजारा गरिरहनु भएको छ । ४० हजारको सङ्ख्यामा घर भत्किएका छन् तर त्यो भन्दा धेरै ठूलो सङ्ख्यामा चर्किएका छन्, बस्न नहुने भएका छन् । यो सङ्ख्ंया ६५ हजारभन्दा बढी पुग्छ । भुइँचालोबाट शिक्षा सिकेपछि अब त्योभन्दा उता जानुपर्ने हाम्रो अवस्था छैन । नयाँ घर बनाउनुपर्ने छ, शिक्षा अब लिइरहनुपर्ने जरूरी छैन । यो हामीले हेर्यौं । विभिन्न जिल्लामा दाजुभाइ दिदीबहिनीहरूसँग भेटघाट गर्यौं । विभिन्न जिल्लाहरूमा भेटघाट गरेर त्यहाँका समस्या सुन्यौँ, मागपत्र लियौँ । उहाँहरूका भनाइ के छन्, त्यो सुन्यौँ । विकासका लागि के के गर्नुपर्छ, त्यो सुन्यौँ । कतिपय ठाउँमा हामी आफैले के गर्नुपर्छ भनेर हामीले स्थानीय तवरमा हाम्रा सुझावहरू पनि साथीहरूलाई दियौँ । यसै सिलसिलामा आज बिहान हामी रुकुमकोटमा सभा गरेर, बैठक गरेर यहाँ आइपुग्यौँ । यहाँहरूसँग भेट भयो । यहाँहरूको यो उत्साहपूर्ण उपस्थितिलाई म सलाम भन्न चाहन्छु । यस उत्साहपूर्ण सहभागितालाई म स्वागत गर्न चाहन्छु र यहाँहरूलाई धन्यवाद भन्न चाहन्छु । 
नेकपा (एमाले)को ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय गन्तव्य, जुन नेपाल र नेपालीको राष्ट्रिय आकांक्षा हो, त्यसलाई आफ्नो उद्देश्य र गन्तव्य बनाएको नेकपा (एमाले) हो । तपाईंहरूलाई थाहा छ, नेकपा (एमाले) सिङ्गै नेपाललाई समृद्ध बनाउन चाहन्छ । कुनै पनि ठाउँ, कुनै पनि जाति, कुनै पनि पेशा व्यवसायका मानिसहरू गरिब हुनुहुँदैन, कुनै पनि ठाउँ पछाडि पर्नुहुँदैन । कोही पनि अधिकारबाट वञ्चित हुनुहुँदैन, कोही पनि अवसरबाट वञ्चित हुनुहुँदैन । कसैले पनि न्यायबाट वञ्चित हुनुहुँदैन । हरेकले शान्ति, सुव्यवस्था र जीउधनको सुरक्षा पाउनु पर्दछ । त्यसैगरी हरेकले सम्मानित जीवन पाउनु पर्दछ । यही हो– समृद्ध नेपाल सुखी नेपाली भनेको । त्यसका लागि नेकपा (एमाले) अगाडि बढिरहेको छ । यस अभियानलाई सार्थक कसरी बनाउने, नेकपा (एमाले) बाहेक अरु कसैले यो देश बनाउन सक्दैन । एमालेको एकल बहुमतको सरकार बिना यो सपना साकार हुनेवाला छैन । यस कुरालाई तपाईंहरूको यस उत्साहपूर्ण सहभागिताले पुष्टि गरेको छ, समर्थन गरेको छ । त्यसकारण म धन्यवाद भन्न चाहन्छु । 
अहिले यहाँ पालिका भवनको उद्घाटन गर्न बाँकी छ । पालिका भवनको उद्घाटनको सन्दर्भमा पालिकाबाट जनताले सजिलोसँग छरितो सेवा प्राप्त गर्न सकून् । पालिका विकासका काममा र न्यायका काममा स्थानीय तवरमा नाइके, अगुवा बन्न सकोस्, शुभकामना भन्न चाहन्छु । यहाँ जस्तै लगभग ४ बजेदेखि दाजुभाइ दिदीबहिनीहरू प्रतिक्षामा हुनुहुन्छ, पर्खिरहनु भएको छ । तसर्थ मैले यहाँ धेरै  ढिला गर्नु भएको छैन । गल्कोट पुगेर आमसभा गर्नु छ । त्यसभन्दा अगाडि पालिका भवनको  पनि हामीले उद्घाटन गर्नु छ । बाटामा स्वागत कार्यक्रमहरू, पुष्पगुच्छाहरू वा पूmलमाला अर्पणका कार्यक्रम पनि हुनसक्छन् । त्यसले पनि अलिकति समय खान्छ । 
सचेत गुल्मेली जनता, जुन ठाउँ एउटा ऐतिहासिक ठाउँ हो । जहाँ अनेक योद्धाहरू, लडाकुहरू जन्मिएका छन् । साहित्यकारहरू जन्मिएका छन्, जहाँ नेताहरू जन्मिएका छन्, जहाँ आन्दोलनको इतिहास छ, यो गौरवपूर्ण ठाउँ । यस ठाउँका जनता सचेत हुनुहुन्छ भन्ने मैले  विश्वास गरेको छु । लुम्बिनी एउटा आन्दोलनको थलो हो, एउटा आन्दोलनको केन्द्र हो । चाहे २००७ सालको आन्दोलन होस्, चाहे अरु । २००७ सालपछिका आन्दोलनमा शक्तिको प्रतिनिधित्व गर्ने ठाउँमध्ये लुम्बिनी अञ्चल पनि एउटा थियो । त्यसबेला अञ्चल भनिदैनथ्यो, ठाउँ थियो । राष्ट्रिय धारको प्रतिनिधित्व गर्ने, राष्ट्रवादको प्रतिनिधित्व गर्ने, देशभक्तिको प्रतिनिधित्व गर्ने यो ठाउँ थियो । 
नेकपा (एमाले)को देशभक्तिपूर्णं, विकासमुखी, सुशासनमुखी, शान्तिप्रिय र ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा अगाडि बढाउनका लागि यहाँहरूको यसैगरी सदैव साथ र सहयोग मिल्ने छ भन्ने मैले विश्वास गरेको छु । पहिलेभन्दा आगामी दिनमा बढी साथ सहयोग एमालेलाई चाहिएको छ । एकल बहुमत भएन भने सबै विरोधी मिलेर फेरि सरकारबाट हटाउँछन् । सरकारबाट एमाले हट्यो भने दुई वर्षभित्र देश कङ्गाल हुँदो रहेछ, त्यो हामीले देख्यौंँ । यसबाट जोगाउन एमालेको एकल बहुमत चाहिन्छ । 
तसर्थ म दाजुभाइ दिदीबहिनीहरूलाई, नेकपा (एमाले)का नेता कार्यकर्ताहरूलाई सचेत भएर सजगताका साथ, आन्तरिक एकताका साथ जनताका बीचमा पुग्न, जनताका घरदैलोमा पुग्न आह्वान गर्न चाहन्छु । महिला दिदीबहिनीहरूले अखिल नेपाल महिला संघलाई टोलटोलमा पुर्याउनूस्, घरघरमा सदस्यताको अभियान चलाउनूस्, युवाहरूले त्यसै गर्नूस्, अरु जनसंगठनहरूले पनि त्यसै गर्नूस् । पार्टीले त्यसै गरोस् । यसो गरेपछि नेकपा (एमाले)को मिसन ०८४ सफल हुन सक्छ । त्यो एमालेका लागि होइन, देशको भविष्यका लागि, देशको सुरक्षाका लागि, राष्ट्रियताका लागि, सुशासनका लागि, विकासका लागि चाहिएको छ । 
त्यसकारण मिसन ०८४ सफल पार्न म यहाँहरूमा हार्दिक आग्रह अनुरोध गर्दै यहाँहरूले दिनुभएको मागपत्र हामीले सुनेका पनि छौंँ, लिएका पनि छौँ । त्यस सम्बन्धमा कारबाही कसरी अगाडि बढाउने थप छलफल गरेर हामी अगाडि बढाउने छौँ । नेकपा (एमाले) काम गर्ने पार्टी हो । काम गर्ने पार्टी भन्ने कुरा प्रतिपक्षमा गरेका आन्दोलनहरू, लोकतन्त्र प्राप्तिका निम्ति गरेका आन्दोलनहरू, यसले राष्ट्रियताका निम्ति गरेका आन्दोलनहरू, विकासको सन्दर्भमा गरेका अभियानहरू तपाईंहरूले देख्नुभएको छ । यसर्थ ढुक्क हुन म अनुरोध गर्न चाहन्छु । हामी बनाउँछौँ हाम्रो देश, हामी बनाउन सक्छौँ हाम्रो देश । त्यो सम्भव छ । त्यसका लागि एमालेले नेतृत्व गर्नेछ, ढुक्क रहन म साथीहरूलाई हार्दिक आग्रह गर्न चाहन्छु । यहीं आग्रहका साथ यहाँहरूसँग भेटघाट भएकोमा सबैभन्दा मलाई धेरै खुशी लागेको छ । यस ठाउँमा म सायद पहिलोपल्ट आइपुग्दै छु । मलाई अत्यन्तै खुशी लागेको छ । म यहाँहरू सबैलाई फेरि पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु । यहाँहरू सबैको स्वास्थ्य राम्रो रहोस्, सुख, समृद्धि सफलता यहाँहरू सबैलाई मिलोस् । धन्यवाद !