detail-img

एमालेको यात्रा अभियानले परिवर्तनविरूद्धका अवाञ्छित गतिविधिलाई निस्तेज पारेको छः महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीले  सम्पन्न गरेको पुष्पलाल मध्यपहाडी लोकमार्ग यात्राले राजनीतिक परिवर्तनप्रति अनास्था फैलाउने र देशलाई प्रतिगमनतिर धकेल्ने प्रयास स्वरूप भइरहेका गतिविधिलाई निस्तेज पार्ने काम गरेको बताउनुभएको छ । 
नेकपा (एमाले) बाग्मती प्रदेश सम्पर्क कमिटीको  दोस्रो अधिवेशनलाई शनिबार सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ले राजावादीले सिर्जना गर्न खोजेको अवाञ्छित माहोलमा ‘ब्रेक’ लगाइदिएको विचार व्यक्त गर्नुभयो ।


महासचिव पोखरेलले भन्नुभयो– हाम्रो समाजमा परिवर्तनप्रति अनास्था र अविश्वास सिर्जना गर्ने र मुलुकलाई प्रतिगमनको दिशातिर धकेल्ने, राजा आऊ देश बचाऊ भनेर अवाञ्छित प्रकारका गतिविधिहरू गर्ने, अराजकता सिर्जना गर्ने जुन प्रकारको माहोल सिर्जना गर्न खोजिएको थियो, हाम्रो पार्टीको यात्राले त्यो माहोललाई ‘ब्रेक’ लगाइदियो ।
सो यात्राबाट एउटा नयाँ डिस्कोर्स निर्माण गर्ने कुरामा आफूहरूले सफलता प्राप्त गरेको उहाँको भनाइ छ ।  महासचिव पोखरेलले पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माण गर्दाका आफूहरूका सोच र सपनाहरू कुन अवस्थामा रहेछन् भनेर यात्राका क्रममा अध्ययन गर्ने मौका पाएको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो– वास्तवमा हामीले सरकार छोडिसकेपछि पुष्पलाल मध्यपहाडी लोकमार्गको अवस्था अत्यन्त दयनीय बन्न पुगेको रहेछ । कुनै प्रगति छैन । यतिसम्म कि हामीले पुष्पलाल मध्यपहाडी लोकमार्गमा दश वटा नयाँ सहर बनाउने भनेर घोषणा गरेका थियौं । त्यो निर्माण प्रक्रिया पनि रोकिएको रहेछ ।
पहाडलाई समृद्धिको आधार बनाउने हो भने स्वाभाविक रुपमा पहाडमै सबै प्रकारका सुविधाहरू जोड्नुपर्ने बताउँदै महासचिव पोखरेलले भन्नुभयो– हामी त्यस्तो पहाडको निर्माण गर्न चाहन्छौं, आज बसाई सरेका मान्छेहरू आफ्नै थातथलोमा फर्किएर समृद्धिको यात्रामा फेरि जोडिऊन् । यो आधार र मनोविज्ञान हामीले यात्राका माध्यमबाट तय गर्न सफल भएका छौं ।
उहाँले एमाले बलियो राष्ट्रिय शक्ति निर्माणका लागि लागिपरेको पनि बताउनुभयो ।
नेकपा (एमाले) बाग्मती प्रदेश सम्पर्क समन्वय कमिटीका अध्यक्ष अशोक कुमार ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटीका इन्चार्ज लालबाबु पण्डित, नेकपा (एमाले) बाग्मती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेल, नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेत लगायत नेताहरूले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।