detail-img

समृद्धिका लागि सङ्कल्प यात्राले राजनीतिको डिस्कोर्स बदलेको छः महासचिव पोखरेल 

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीले सञ्चालन गरेको समृद्धिका लागि सङ्कल्प यात्रा नेपालको राजनीतिलाई नयाँ दिशा दिने अभियान बनेको बताउनुभएको छ । 
सोमबार (२०८० पुस ९ गते) पार्टी कार्यालय, च्यासलमा बसेको नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागको ११औँ बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले समृद्धिका लागि सङ्कल्प यात्राले राजनीतिको डिस्कोर्स बदलेको बताउनुभयो । 
नेपालको राजनीति लामो समय अधिकार केन्द्रित आन्दोलनबाट अगाडि बढेको र अबको यात्रा विकास र समृद्धि हो भन्ने कुरालाई स्थापित गर्नु यात्राको महत्वपूर्ण पक्ष भएको भनाइ उहाँले राख्नुभयो । 
‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ उद्देश्यका साथ सम्पन्न गरिएको ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ को आयोजक नेकपा (एमाले) भए पनि यात्रा क्रममा सर्वपक्षीय अपेक्षा प्रकट भएका र यात्रा राष्ट्रिय चरित्रको बनेको महासचिव पोखरेलले बताउनुभयो ।


यात्रा क्रममा तीन प्रकारका गलत प्रवृत्ति, प्रायोजित भाष्य र नकारात्मक मनोविज्ञानमा परिवर्तन ल्याउन आफूहरू सफल भएको बताउँदै उहाँले भन्नुभयो– यात्राका क्रममा जनताको साथ, समर्थन र सहभागिताबाट जनता धार्मिक र जातीय अतिवादका पक्षमा छैनन् भन्ने पुष्टी भएको छ । सरकारका कमजोरीलाई व्यवस्थाकै कमजोरीका रूपमा बुझ्ने बुझाउने कुरामा रोक लागेको छ । 
लोकतन्त्रमा राज्य बलियो बनाउँदा मात्र नागरिक सुरक्षित र संरक्षित हुने बताउँदै महासचिव पोखरेलले राज्यप्रति नागरिकको धारणा बदल्नुपर्ने आवश्यकता औल्याउनुभयो । 
अहिलेको अवस्थामा राजनीतिक स्थायित्वको आधार भनेको निश्चित राजनीतिक दलमाथि समाजका हरेक तप्काले भरोसा गर्ने, स्वीकार गर्ने आधार तयार गर्नु हो भन्नुहुँदै महासचिव पोखरेलले हरेक पेशा, व्यवसाय, क्षेत्रका मानिसले आफ्नो सुरक्षा, संरक्षण देख्ने र भरोसा गर्ने गरी पार्टीलाई विकास गर्नुपर्नेमा जोड दिनुभयो । 
उहाँले भन्नुभयो– बलियो राष्ट्रिय शक्ति निर्माण नगरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न सकिन्न, त्यसैले जनमतलाई ध्रूब्रीकृत गर्नैपर्छ । 
पार्टीका अध्यक्ष केपी शर्मा ओलीप्रति बालबालिकामा अत्यन्त आकर्षण यात्रा क्रममा देखिएको, बृद्धबृद्धा कार्यक्रममा उत्साहका साथ सहभागी भएको, यात्रा टोलीको स्वागतमा नेपालको साँस्कृतिक विविधता एकैचोटी पोखिएको, सिङ्गो पहाडलाई यात्राले हलचल र तरङ्गित बनाएको र त्यसको सन्देश राष्ट्रिय÷ अन्तर्राष्ट्रिय जगतमा सम्प्रेषण भएको महासचिव पोखरेलले बताउनुभयो । 
यात्रा क्रममा मध्यपहाडी क्षेत्रका जनताका समस्या र माग सङ्कलन गर्न सफलता प्राप्त भएको, पुष्पलाल मध्यपहाडी लोकमार्गको अवस्थाका बारेमा सिङ्गो नेतृत्वपङ्तीले सँगै अनुभव गर्न पाएको र पहाडी भूभागलाई आधुनिक तथा व्यावसायिक कृषि उत्पादन, सुन्तलालगायत फलफूल र जडिबुटीको व्यावसायिक खेतीलाई प्राथमिकता दिएर गुल्जार बनाउन सकिन्छ भन्ने अनुभव भएको उहाँले बताउनुभयो । 
महासचिव पोखरेलले पार्टी र जनताबीचको सम्बन्धलाई यात्राले जिवन्त बनाएको र यसले पार्टी अझ सुदृढ बनाएको विश्वास व्यक्त गर्नुभयो । उहाँले पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागलाई यात्राको प्रभाव मूल्याङ्कन र सन्देश सम्प्रेषण जस्ता विषयहरूमा ध्यान दिन निर्देशन दिनुभयो । 
विभाग प्रमुख राजेन्द्र गौतमको अध्यक्षतामा बसेको बैठकमा पार्टीले सम्पन्न गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’को प्रचार पक्ष र नवयुग प्रकाशनका सम्बन्धमा छलफल भएको थियो ।