detail-img

अनुभवी बिमलाको योजना : समतामुलक समाजको निर्माण गरी नगरको विकास

चितवन । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । यस निर्वाचनमा महिलाहरुलाई उम्मेदवार बनाएर अवसर दिनेमा नेकपा एमाले पहिलो पार्टी भएको छ । एमालेबाट यस्तै उम्मेदवारको अवसर पाउने महिला हुनुहुन्छ, कालिका नगरपालिकाकी बिमला तामाङ । आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि चितवनको कालिका नगरपालिकाको उपमेयरमा बिमलाले उम्मेदवारी दिनु भएको छ । अहिले घरदैलो र आफ्नो चुनावी सभामा व्यस्त बिमलाको योजना आफ्नो नगरमा समतामूलक समाजको निर्माण गरी नगरको विकास गर्नु रहेको छ ।
चितवन जिल्लाको पूर्वी उत्तर भागमा अवस्थित यस नगरपालिका साविकका चार गाविसहरु शक्तिखोर, सिद्धि, पदमपुर र जुटपानी मिलाई २०७४ जेठ ७ गते क्षेत्र विस्तार गरी कालिका नगरपालिका बनाइएको हो । यस नगरपालिकामा ११ वटा वडा छन् । पहाडि भूभाग वडा नं. १० र ११ मा आदिबासी चेपाङ समुदायको बसोवास रहेको छ । यस नगरपालिकाको अन्य समथर भूभागहरु शहरीकरणतर्फ उन्मुख हुन थालेका छन् । यसैले पनि जनजाति समुदायकी र त्यसमाथि बिमलाको उम्मेदवारीले कालिकामा उत्साह थपिदिएको छ ।
बिमलासँग कालिका नगरपालिकामा रहेर विभिन्न संघसंस्थाहरु सफलतापूर्वक हाँकेको अनुभव छ । योग्य र प्रभाव राख्न सक्ने उम्मेदवारका रुपमा उहाँलाई लिइन्छ । मिसन र भिजन दुवै भएकी बिमला विशेष गरेर कालिकाका आम महिला दिदी बहिनीमाझ परिचित हुनुहुन्छ । महिलाहरुको क्षमता विकास, न्याय र महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउन सहकारी मार्फत उहाँले खेलेको भूमिका अतुलनीय छ ।
२०३५ साल मंसिर १५ गते तत्कालीन शक्तिखोर गाविसको जुटपानीमा बुवा टेकबहादुर तामाङ र आमा आईतीमाया तामाङको कोखबाट जन्म भएको हो, बिमला तामाङको । सानैबाट निडर र हक्की स्वभावकी बिमलामा केही गर्नुपर्छ भन्ने सोँच आउने गर्दथ्यो । उहाँ बाल्यकाल सम्झँदै भन्नुहुन्छ, ‘विभिन्न आरोह र अवरोहका बीचमा बाल्यकाल र युवा अवस्था बित्यो । सधै नेकपा एमालेलाई सङ्कटमा सतिसाल भएर उभिएँ । आज पार्टीले उपमेयरको लागि मैदानमा खडा गर्दैगर्दा जनताको माझमा गएर प्रत्यक्ष सेवा गर्ने अवसर पाउँछु भन्नेमा पूर्ण विश्वस्त छु ।’
बिमला भन्नुहुन्छ, ‘तामाङ समुदाय आफैमा पछाडि परेको समुदाय हो । तर म भने बच्चाबाट नै निडर थिएँ । माईतमा आमा बुवाको साथ पाएँ भने विवाह पश्चात श्रीमानले साना–साना नानीबाबु रेखदेख गरेर बस्ने र म बाहिर हिड्ने वातावरण बन्यो । मलाई घर परिवारबाट सधै साथ सहयोग रहेको छ । यसैले पनि आफ्नो अभियानमा हिँड्न मलाई सजिलो भएको हो ।’
माओवादी जनयुद्धको समयमा होस् वा २०६२÷६३ को जनआन्दोजनको समयमा हरेक परिस्थितिलाई दृढ आत्मविश्वासका साथ मुकाविला गरेर उहाँ अगाडि बढिरहनु भएको छ ।
बिमला घरमा साना लालाबालालाई छोडेर महिला दिदीबहिनीहरुको हक हितमा तल्लीन हुुने गर्नुहुन्छ । आफ्नो विगत सम्झँदै उहाँले भन्नुभयो, ‘पारालिगल कमिटी शक्तिखोरको अध्यक्ष हुँदा कैयाँै हिंसामा परेका महिलालाई न्याय दिन सफल भएँ । अन्तरजातीय विवाह गरेका जोडीहरुलाई प्रोत्साहन गरियो । अहिले पनि उनीहरु खुसी देख्दा त्यसै मन खुसी भएर आउँछ । उतिबेला माओवादीको घर घरमा दादागिरी र ज्यादती हुन्थ्यो, कहिले एक्लै त कहिले सामूहिक रुपमा प्रतिकार गर्न गइन्थ्यो ।’
नेकपा एमाले कालिका नगरपालिकाको सह–ईन्चार्ज बिमलासँग पार्टीको विभिन्न पदमा रहेर काम गरेको अनुभव छ । त्यसैगरी उहाँले विभिन्न संघसंस्थाहरु हाँकेर महिलाहरुले पनि गर्न सक्छन् भन्ने उदाहरण पेश गर्नु भएको छ । नेकपा एमालेको वडा कमिटी, नगर कमिटी, क्षेत्रीय कमिटी हुँदै जिल्ला कमिटीसम्म पुगेकी बिमलाले अनेमसंघमा रहेर दिदीबहिनीहरुसँग सामूहिक रुपमा काम गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘महिलाका मुद्धाले छोइहाल्छ । कोही अन्यायमा परेको देख्न सक्दिन । न्यायको लागि अझै पनि ज्यान दिन तयार छु ।’ उहाँ अहिले अखिल नेपाल महिला संघको जिल्ला सचिवालय सदस्य हुनुहुन्छ । त्यसैगरी बागमती प्रदेशको दुग्ध बिकास वोर्डको सदस्य, जुटपानी सामुदायिक वनको सह–सचिव भएर काम गरेको अनुभव उहाँसँग छ ।
महिलालाई न्यायका साथसाथै आर्थिक रुपमा बलियो बनाउन पनि उहाँको महत्वपूर्ण भूमिका रहेको छ । प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाको उपाध्यक्ष बिमला शक्तिखोरमा रहेका दिदी बहिनीहरुलाई समूहमा राख्दै थोरै भएपनि बचत गर्ने बानीको बिकास गराउन सफल हुनु भएको छ ।
बिमलाले शुरु गरेको त्यही सानो समूह अहिले प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी मार्फत अगाडि बढेको छ । महिलाहरुले आफूलाई आवश्यक पर्ने ऋण लिने र बचत गर्ने बानीको बिकास गराउन उहाँ महिनामा एक दिन समूह–समूहमा दिदीबहिनीहरुलाई भेला गराएर बचत गराउँदै आउनु भएको छ । करिब सात सय दिदीबहिनीहरुलाई प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी शक्तिखोर सेवा केन्द्रमा आवद्ध गराउँदै आर्थिक रुपमा बलियो बनाउन उहाँको महत्वपूर्ण भूमिका रहेको छ ।
उहाँ समूहमा महिलाहरु भेला गराएर उनीहरुको दुःख सुख सुन्दै आर्थिक र निर्णय क्षेत्रमा महिला सहभागिता गराउन तल्लीन हुनुहुन्छ ।
उपमेयरको उम्मेदवार हुँदै गर्दा उहाँको मुख्य एजेन्डा ‘सबैलाई सबै ठाउँमा समान सहभागिता र अवसर’ भन्ने रहेको छ । हरेक क्षेत्रमा महिला पुरुष साथ साथ रहनका लागि महिलाहरुको निर्णायक क्षमता बढाउने उहाँको पहिलो प्राथमिकतामा परेको छ । महिलाहरुको आवाज बुलन्द पार्न कुनै कमी नराख्ने उहाँ बताउनुहुन्छ ।