detail-img

गठबन्धनको नाममा महिलाको अधिकार खोसियो : उपाध्यक्ष पाण्डे

रत्ननगर । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पाँच दलीय गठबन्धनको कारण महिलाको अधिकार खोसिएको बताउनुभएको छ ।
रत्ननगरमा नेकपा एमालेको पार्टी कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै पाण्डेले प्रमुख पदमा पुरुष भए उपप्रमुख पदमा महिला उम्मेदवार हुनुपर्ने भए पनि गठबन्धनले त्यस्तो नगरेको बताउनुभयो ।
उहाँले गठबन्धन गर्ने र उम्मेदवारी दिँदा छुट्टा छुट्टै दलबाट उम्मेदवारी दिएका कारण संविधानले प्रदत्त गरेको अधिकारबाट महिलाहरू वञ्चित हुन परेको बताउनुभयो । नेकपा एमालेकै अग्रसरतामा संविधानमा महिलाको अधिकार सुरक्षित गर्ने काम गरेको स्मरण गर्दै पाण्डेले केन्द्रीय तहबाटै गठबन्धनको नाममा देशव्यापी रूपमा महिलाले पाउने अधिकार खोसिएको दाबी गर्नुभयो ।

राप्तीका सबै वडामा एमालेको घरदैलो सुरु


स्थानीय तहको चुनाव नजिकिँदै गर्दा नेकपा एमाले राप्तीले नगरका १३ वटै वडामा घरदैलो कार्यक्रम सुरु गरेको छ । आइतबारबाट सुरु भएको घरदैलो कार्यक्रम वैशाख २७ गतेसम्म चल्ने एमाले राप्ती नगर कमिटीका अध्यक्ष पूर्णबहादुर थापाले बताउनुभयो ।
थापाका अनुसार वैशाख २७ गते राप्ती नगरपालिका वडा नम्बर ४ मा रहेको काशीरुपा खेल मैदानमा ठूलो चुनावी आमसभा गरेर घरदैलो कार्यक्रम समापन गरिनेछ । नगरप्रमुखका उम्मेदवार गोविन्द कँडेल र उपप्रमुखका उम्मेदवार मेनका पाठकसहितका नेता तथा कार्यकर्ताहरू घरदैलो कार्यक्रममा सहभागी छन् । घरदैलो कार्यक्रममा नगरप्रमुख र उपप्रमुखका उम्मेदवारसहित हरेक वडाका वडाध्यक्षसँगै एमालेले घरदैलो गरिरहेको राप्ती नगर कमिटीका अध्यक्ष थापाले जानकारी दिनुभयो ।
एमालेबाट राप्ती नगरपालिका वडा नम्बर १ मा वडाध्यक्षका उम्मेदवार सिद्धिलाल स्याङ्तान, वडा नम्बर २ मा वडाध्यक्षका उम्मेदवार श्यामसुन्दर उप्रेती, वडा नम्बर ३ मा वडाध्यक्षका उम्मेदवार शिवकान्त ओली, वडा नम्बर ४ मा वडाध्यक्षका उम्मेदवार केदार आचार्य तथा वडा नम्बर ५ मा वडाध्यक्षका उम्मेदवार सीताराम बलको नेतृत्वमा घरदैलो कार्यक्रम भइरहेको छ ।
त्यसैगरी, वडा नम्बर ६ मा वडाध्यक्षका उम्मेदवार जल्लु महतो थारु, वडा नम्बर ७ मा वडाध्यक्षका उम्मेदवार छविलाल भुषाल, वडा नम्बर ८ मा वडाध्यक्षका उम्मेदवार पूर्णप्रसाद आचार्य, वडा नम्बर ९ मा वडाध्यक्षका उम्मेदवार खड्कबहादुर तामाङ, वडा नम्बर १० मा वडाध्यक्षका उम्मेदवार अमर बहादुर तामाङ, वडा नम्बर ११ मा वडाध्यक्षका उम्मेदवार सोमिलाल मोक्तान, वडा नम्बर १२ मा वडाध्यक्षका उम्मेदवार धर्मजित तितुङ् र वडा नम्बर १३ मा वडाध्यक्षका उम्मेदवार सूर्य बहादुर प्रजाको नेतृत्वमा घरदैलो भइरहेको छ ।
नगरका सबै वडाको घरदैलो कार्यक्रममा वडा सदस्यका उम्मेदवार, स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको समेत एमाले राप्ती नगर कमिटी अध्यक्ष थापाले जानकारी दिनुभयो ।
वडा नम्बर ८ मा ब्रम्हनगरबाट घरदैलो
नेकपा एमाले राप्तीले आइतबारबाट नगरका सबै वडामा घरदैलो सुरु गरेसँगै वडा नम्बर–८ ले पनि घरदैलो कार्यक्रम सुरु गरेको छ । एमाले राप्ती–८ का वडा अध्यक्षका उम्मेदवार पूर्णप्रसाद आचार्यले ब्रम्हनगरबाट घरदैलो कार्यक्रम सुरु गर्नुभएको हो । घरदैलोमा उहाँसहित वडा सदस्यका उम्मेदवारहरु अम्बिका थपलिया, कमला कुमारी विश्वकर्मा, दिपक अधिकारी, सुब्बा तामाङको नेतृत्वमा घरदैलो कार्यक्रम भइरहेको छ ।
वडाअध्यक्ष र वडा सदस्यका उम्मेदवारहरुले मतदाताका समस्या, गुनासा र रायसुझाव लिँदै मतदाताका घरघरमा पुगेर मत मागेका थिए । घरदैलो कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा : चौधरी
नेकपा एमालेका तर्फबाट खैरहनी नगरपालिका प्रमुखका उम्मेदवार बन्नुभएका निवर्तमान नगरप्रमुख लालमणि चौधरीले आफू पुनः नगरप्रमुखमा निर्वाचित भएपछि विपन्न नगरवासीको निःशुल्क स्वास्थ्य बीमा गरिदिने बताउनुभएको छ ।
आजदेखि सुरु भएको घरदैलो कार्यक्रमको उद्घाटनका क्रममा उम्मेदवार चौधरीले आफू निर्वाचित भएको खण्डमा आगामी कार्यकालमा ५०० विपन्न, गरिब परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्नुका साथै न्यूनतम पानीको महसुल पनि निःशुल्क गर्ने बताउनुभयो । ‘नगरको पूर्वाधारमा हामी अगाडि छौँ’, नगरप्रमुखका उम्मेदवार चौधरीले भन्नुभयो, ‘जनता प्रत्यक्ष लाभान्वित हुनेगरी लोककल्याणकारी कार्यक्रम ल्याइनेछ ।’ नगरप्रमुखका उम्मेदवार चौधरीले आफ्नो पहिलो कार्यकालमा पूर्वाधारको काम धेरै भएकाले अब लोक कल्याणकारी कार्यक्रमलाई प्राथमिकता दिइने बताउनुभयो ।
पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालनका क्षेत्रमा धेरै सुधार भइसकेको उल्लेख गर्दै चौधरीले अब विषेश ध्यान शिक्षा र स्वास्थ्यमा दिन आवश्यक रहेको औँल्याउनुभयो । आफ्नो अघिल्लो कार्यकालमा पूर्वाधार विकास सहितको मूल्यांकनमा खैरहनी नगरपालिका चार पटकसम्म उत्कृष्ट घोषणा भएको उहाँको भनाइ थियो । चौधरीको कार्यकालमा स्थानीत तह क्षमता विकास स्वमूल्यांकनमा खैरहनी नगरपालिका लगातार दुई वर्ष देशभरकै उत्कृष्ट नगरपालिका भएको थियो ।
त्यस्तै सूचना प्रविध लेखाजोखा मूल्यांकनमा जिल्ला प्रथम तथा देशभर चौथो बन्न सफल भएको थियो । त्यसैगरी, विसं २०७५÷७६ मा राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट समेत खैरहनी नगरपालिका पुरस्कृत भएको थियो । यी सबै नतिजा ल्याउनमा जनप्रतिनिधि, कर्मचारीलगायत सम्पूर्ण नगरवासीको भूमिका रहेको चौधरीले बताउनुभयो ।
यसैबीच, नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचनका लागि खैरहनीमा आइतबारदेखि घरदैलो तथा कोण सभा सुरु गरेको छ ।
एमालेका तर्फबाट नगरप्रमुखका उम्मेदवार लालमणि चौधरी र उपप्रमुख पदका उम्मेदवार कविता उप्रेतीले घरदैलो सुरुआत गर्नुभएको हो । नगरस्तरीय घरदैलो कार्यक्रमको सुरुआत खैरहनी–६ तुलसीपुरबाट औपचारिक कार्यक्रमका बीच गरिएको थियो ।
घरदैलो कार्यक्रम सुरुआतका क्रममा नेकपा एमाले केन्द्रीय सदस्य जेएन थपलियाले सूक्ष्म ढंगबाट निर्वाचन प्रचारप्रसार र एमाले जिताउने अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । आइतबार पहिलो दिन खैरहनी वडा नम्बर ६ र ७ मा घरदैलो गरिएको छ । घरदैलो तथा कोण सभामा उपप्रमुख पदका उम्मेदवार कविता उप्रेती, खैरहनी– ६ का वडाध्यक्षका उम्मेदवारसहित सदस्यहरू, वडा नम्वर– ७ मा वडा अध्यक्षका उम्मेदवार मनेजर महतोसहित वडा सदस्यका उम्मेदवारहरू, एमालेका नेताहरू, युवा नेता तथा कार्यकर्ताहरूको उल्लेख्य मात्रामा उपस्थिति थियो ।
सोमबार दोस्रो दिन खैरहनी नगपालिका वडा नम्बर–९ मा घरदैलो तथा कोण सभा गरिने निर्वाचन प्रचार प्रसार समिति संयोजक जगन्नाथ आचार्यले जानकारी दिनुभयो ।