detail-img

काठमाडौँ महानगरमा एमालेबाट अनुभवी र यूवा जोशका सशक्त उम्मेदवार : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिकामा नेकपा एमालेबाट सक्षम र सबल उम्मेदवार रहेको बताउनु भएको छ ।
उहाँले प्रमुख र उपप्रमुख पदमा एक जना अनुभवी र अर्का यूवा जोश भएका व्यक्तिसंगै सशक्त टिम बनेको बताउनुभयो ।
अन्तराष्ट्रिय मजदूर दिवसका अवसरमा आज भृकुटिमण्डपमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले आयोजना गरेको बिशेष कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले दुबै सक्षम र क्षमतावान उम्मेद्वार भएको उल्लेख गर्नुभयो । नगर प्रमुखका उम्मेद्वार केशव स्थापितले प्रमुख हुँदा आधुनिक काठमाडौँ बनाउने, सडक चौडा गर्ने, माइतीघर मण्डला बनाउने लगायतका काम गरेको भन्दै उहाँले प्रशंसा गर्नुभयो ।
पूर्वप्रधानमन्त्री ओलीले उपप्रमुखकी उम्मेदवार सुनिता डङ्गोल काठमाडौँबासी, यूवा र महिलाको प्रतिनिधि भएको औँल्याउनुभयो ।
अहिले सबै ठाउँ र माध्यममा एमालेको लहर छाएको उहाँको भनाइ छ ।
अध्यक्ष ओलीले सामाजिक न्याय र समानताको अगुवाई एमालेले मात्र गर्ने बताउनुभयो । सबै नागरिकलाई सबल र सक्षम बनाउने र उनीहरुलाई सम्मानजनक बाँच्न पाउने व्यवस्था मिलाउने काम एमाले नेतृत्वको सरकारले गरेको उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले उद्योग, श्रम, कृषि, ब्यापार, बजार, सुरक्षा, सम्पदा, प्रकृतिक, नदीनालालगायतका क्षेत्रमा सुधारको नेतृत्व एमालले गरेको पनि चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो पहलमा बाग्मती, विष्णुमती जस्ता धार्मिक नदी सफा गर्न अनेक काम शुरु गरिएको थियो ।”
एमाले अध्यक्ष ओलीले पूराना र नयाँ शहर श्रमिकको मेहनतबाट बनेको बताउनुभयो । उहाँले मजदूरकै प्रयासका कारण शहर अहिलेको अवस्थामा आएको उल्लेख गर्नुभयो ।
विभेद र अत्याचार भएपछि मजदूरहरु एकताबद्ध भएर आन्दोलन शुरु गरेको उहाँले स्मरण गर्नुभयो ।