detail-img

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेकपा (एमाले) का १९१ प्रतिवद्धता


सुर्खेत । नेकपा (एमाले) सुर्खेतले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाको स्वरुप आगामी पाँचवर्षमा कस्तो बनाउने भन्ने अवधारणा पत्र सावर्जनिक गरेको छ ।
चुनावी प्रतिवद्धता पत्रका नाममा सार्वजनिक गरिएको उक्त प्रतिवद्धता पत्रमा उल्लेख भए अनुसार ११ वटा प्राथमिकता क्षेत्र तोकेर १३७ वटा काम पाँचवर्षमा गरिसक्ने उल्लेख छ । अघिल्लो कार्यकालमा पनि एमलेले यस्तै प्रतिवद्धता जारी गरे पनि नगरमा आफ्नो नेतृत्व नभएका कारण धेरै कामहरु अधुरा भएको जनाएको छ ।
पूर्वाधार, स्वास्थ्य, सामाजिक, वातावरण तथा विपद् व्यवस्थापन,कृषि उत्पादन र रोजगारी जस्ता क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । यसैगरी सार्वजनिक सेवा, सुशासन, सञ्चार तथा सामाजिक सुरक्षा, सहरी सौन्दर्य र पर्यटनका क्षेत्र पनि प्रतिवद्धता पत्रमा समेटिएका छन् ।
शिक्षा, युवा तथा खेलकुद, भूउपयोग, श्रम तथा रोजगार र सहकारी क्षेत्र गरी ११ वटा क्षेत्रलाई एमालेले प्रतिवद्धतामा समेटेको छ ।
नगरको प्राथमिकताका ११ वटा क्षेत्रलाई पहिचान गरेर त्यस अन्तर्गतका १९१ वटा उपक्षेत्रमा काम गर्ने गरी नगरबासीसँग प्रतिवद्धता गरिएको मेयरकी उम्मेदवार एवं नेकपा (एमाले) केन्द्रीय सदस्य मोहनमाया ढकालले बताउनुभयो ।
एमालेले वीरेन्द्रनगर उपत्यकामा तीनवर्षभित्र भेरी नदीबाट लिफ्टिङ (नदीको पानीलाई मोटरबाट तानेर ट्यांकीमा जम्मा गर्ने) गरेर उपत्यकाको खानेपानी समस्या समाधान गर्ने जनाएको छ । सपिङ मल, बसपार्क, नगरका विभिन्न क्षेत्रमा पार्क निर्माण एमालेको अर्को प्राथमिकता क्षेत्रमा रहेको छ ।
ढकालका अनुसार वीरेन्द्रनगरको भौतिक निर्माणलाई गुणस्तरीय बनाउन सिभिल इन्जिनियरिङ ल्याब बनाउने प्रतिवद्धता गरिएको छ । नगरका बासिन्दालाई नगरक्षेत्रभित्र आउजाउ गर्न सहज होस् भन्नका लागि सबै सडकको स्तरोन्नतिसँगै नगरबस सञ्चालन गर्ने एमालेको योजना छ । आफ्ना उम्मेदवारले जितेमा सुर्खेत विमानस्थललाई उपयुक्त स्थानमा व्यवस्थापन गर्ने एमालेको योजना छ ।
वीरेन्द्रनगर एमालेले महिला स्वरोजगारीलाई विशेष प्राथमिकतामा राखेको छ । जस अनुसार एक घर एक महिला स्वरोजगार, वीरेन्द्रनगरको विकास र समृद्धिको मूलआधार भन्ने नारा तय गरेर यो कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाइने एमालेको प्रतिवद्धता पत्रमा उल्लेख छ । ज्येष्ठ नागरिकका लागि घरघरमा स्वास्थ्य जाँच, हातहातमा सामाजिक सुरक्षा भत्ता दिने एमालेले प्रतिवद्धता जनाएको छ ।
एमालेले सहरीक्षेत्रमा कौशी खेतीलाई प्रोत्साहन गर्ने नगरबासीसँग प्रतिवद्धता जनाएको छ । यसैगरी सूचना बैंक स्थापना गरेर सूचना प्रणालीलाई एकद्वार बनाइने एमालेले जनाएको छ ।
प्रदेशकै गौरवको रूपमा रहेको काँक्रेविहार संरक्षण क्षेत्रलाई सम्बद्र्धन गर्दै प्रमुख पर्यटकीय विकास गर्न विज्ञहरूको राय सल्लाह अनुसार थप गतिविधिहरू सञ्चालन गरिने एमालेको प्रतिवद्धता पत्रमा उल्लेख छ । नगरपालिकाभित्रका सबै विद्यालयहरूमा विद्यार्थी संख्या अनुपात, विषयअनुपात अनुसार शिक्षक दरबन्दीको व्यवस्था गरिने एमालेले जनाएको छ । नगरपालिकामा बसोबास गर्ने भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई जग्गाधनी लालपूर्जा वितरण कार्य तीब्र रूपमा अघि बढाउने एमालेको प्रतिवद्धता पत्रमा उल्लेख छ । नगर क्षेत्रका औपचारिक र अनौपचारिक श्रमिकहरूको अनिवार्य सूचीकरण गरिने एमालेको प्रतिवद्धतामा उल्लेख छ ।
सहकारी क्षेत्रमा एमालेले सबभन्दा बढी ३७ वटा प्रतिवद्धताका शीर्षकहरु राखेको छ । जसमा वीरेन्द्रनगरद्वारा बनाइएका र बन्ने सबै ऐन नियमहरूलाई सहकारी मैत्री बनाइने उल्लेख गरिएको छ ।
नगर प्रमुखका उम्मेदवार ढकालले आफूलाई निर्वाचित गराएमा नगरबासीका अन्य आवश्यकता र सुझावहरु समेत समेटेर नगरको भावी नीति, कार्यक्रम र योजना बनाइने बताउनुभएको छ ।