cpnuml

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)

नेपाल ट्रेड युनियन महासंघ, निरंकुश पञ्चायती शासन कालमा २०४६ साउन ५ (जुलाई २०, १९८९) मा भूमिगत रूपमा स्थापना भएको हो । यो महासंघ ट्रेड युनियन ऐन–२०४९ जारी भएपछि मान्यता प्राप्त नेपालको पहिलो ट्रेड युनियन महासंघ पनि हो । यसलाई छोटकरीमा जिफन्ट भन्ने गरिएको छ । जिफण्टको आठौं राष्ट्रिय महाधिवेशन यही २०७९ साउन ७ देखि ९ गतेसम्म काठमाडौंमा सम्पन्न भएको छ । महाधिवेशनले क. विनोद श्रेष्ठको अध्यक्षतामा ५७ सदस्यीय राष्ट्रिय समिति निर्वाचित गरेको छ ।

जिफन्टमा कृषि, उद्योग र सेवा क्षेत्र गरी तीनवटै क्षेत्रलाई समेटी उत्पादनमूलक उद्योग र कारखाना, खनिज–रसायन–फलाम, खाद्य–पेय पदार्थ, टेक्सटायल, गार्मेन्ट, गलैंचा तथा जुट, यातायात, अटोमोबाइल, रिक्सा तथा पेट्रोलियम, होटल, रेष्टुराँ, ट्रेकिङ, ट्राभल, वायुसेवा तथा र्याफ्टिङ, कृषि, चिया कफि बगान, प्रिन्टिङ प्रेस, निजी तथा आवासीय विद्यालय आबद्ध छन् । 

त्यसैगरी बैंक तथा वित्तीय क्षेत्र, निजी–सहकारी, निजी क्षेत्रका कर सहयोगी, निर्माण, स्वरोजगार व्यापार, सुरक्षा गार्ड, सफाइ, घरेलु र घर आधारित श्रम, कुरियर÷कार्गोदेखि सुनचाँदी कालीगढ, थाङ्का कला, नाई तथा ब्यूटी पार्लर, अस्पतालका स्वास्थ्यकर्मीदेखि स्वास्थ्य स्वयंसेवी, ब्यवसायिक रूपमा खेल क्षेत्रमा लागेका खेलाडी तथा कर्मचारीहरू लगायतका मजदुर तथा श्रमजीवी वर्ग संगठित छन् । 
सदस्य संख्याको हिसाबले देशको सबैभन्दा ठूलो ट्रेड युनियन महासंघको रूपमा क्रियाशील जिफन्टमा २१ वटा राष्ट्रिय ट्रेड युनियन संघहरू आबद्ध छन् भने मुलुक बाहिर बिभिन्न देशहरूमा काम गर्ने आप्रवासी श्रमिकहरूलाई संगठित गर्न जिफन्टले सहयोग समूह गठन गरी संगठित गर्ने अभियान सञ्चालन गर्दै आइरहेको छ । 
२०७४ चैतमा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनको तथ्याङ्कका आधारमा ४ लाख ४० हजार ७१२ श्रमिकहरू जिफन्टमा सङ्गठित छन् भने ९ जनाको पदाधिकारी टिम, ५ जनाको सचिवालय टिम गरी कुल ५८ जनाको राष्ट्रिय कमिटीमा करिब ४५ प्रतिशत महिला प्रतिनिधित्व रहेको छ ।

यो महासंघ सन् २००६ नोभेम्बरमा स्थापित अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आईटीयूसी) को संस्थापक सदस्य हो । यसको अन्तर्राष्ट्रिय र एसिया प्रशान्त क्षेत्रीय दुबै परिषदमा प्रतिनिधित्व रहेको छ । जिफन्टका सदस्य संघहरू विभिन्न विषयगत अन्तर्राष्ट्रिय महासंघ (ग्लोबल युनियन फेडेरेसन– जियुएफ) हरूसँग आबद्ध छन् ।

सम्पूर्ण विवरण हेर्नको लागि यहाँ क्लिक गर्नुहोस ।