मदन– आश्रित ३३औं स्मृति सभा
३ जेठ (२०८३), काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान नेपाली कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय चेतनामा सदैव स्मरणीय रहने बताउनुभएको छ ।
मदन–आश्रित ३३औँ स्मृति दिवसमा आज नेकपा (एमाले)ले पार्टीको पुरानो पार्टी कार्यालय परिसर, बल्खुमा आजोजना गरेको स्मृति सभालाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले जनताको बहुदलीय जनवाद (जबज)को मूल मर्मलाई आत्मसात गर्दै लोकतन्त्र, राष्ट्रिय एकता, सुशासन र समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि सबै एकताबद्ध हुनुपर्ने धारणा राख्नुभयो ।
पूर्वराष्ट्रपति भण्डारीले जबजलाई नेपालमा माक्र्सवादको सिर्जनात्मक प्रयोगका रूपमा आत्मसात गरिएको बताउँदै लोकतन्त्र, राष्ट्रियता, सामाजिक न्याय र समृद्धिको यात्रामा यसले महत्वपूर्ण मार्गदर्शन गरेको धारणा राख्नुभयो ।
पूर्वराष्ट्रपति भण्डारीले स्मृति दिवसलाई वैचारिक पुनर्जागरण र नयाँ सङ्कल्पको अवसरका रूपमा लिन एमाले नेता कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । जनताका भावना, अपेक्षा र समस्यालाई नजिकबाट बुझ्नुपर्नेमा जोड दिँदै राजनीति जनसेवा र समाज रूपान्तरणको अभियान भएको उहाँले बताउनुभयो ।
पूर्वराष्ट्रपति भण्डारीले नेकपा (एमाले)ले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र विकास यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै पार्टीले जनमुखी कार्यशैली, आत्मअनुशासन र सेवाभावलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याउनुभयो । साथै कार्यकर्ताहरू जनताको दुःख–सुखमा सहभागी हुनुपर्ने र सकारात्मक राजनीतिक संस्कार निर्माणमा सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।
‘जननेता मदन भण्डारी र जीवराज आश्रितले देख्नुभएको समतामूलक, समृद्ध र आत्मनिर्भर नेपालको सपना अझै पूरा गर्न बाँकी छ’, पूर्वराष्ट्रपति भण्डारीले नेताद्वय भण्डारी र आश्रितप्रति सच्चा श्रद्धाञ्जली उहाँहरूको विचार, आदर्श र जनमुखी राजनीतिक संस्कारलाई व्यवहारमा उतार्न सकेमात्र हुने बताउनुभयो ।
सम्बोधनका क्रममा उहाँले युवापुस्तालाई राष्ट्र निर्माणको सबैभन्दा ठूलो आधार र सम्भावना भएको बताउँदै शिक्षा, प्रविधि, उद्यमशीलता र उत्पादनसँग युवालाई जोड्न सके विकास र रोजगारीका नयाँ अवसर सिर्जना हुने धारणा राख्नुभयो । युवामा आशा, आत्मविश्वास र स्वदेशमै भविष्य निर्माण गर्ने वातावरण सिर्जना गर्नु आजको प्रमुख आवश्यकता भएको पूर्व राष्ट्रपति भण्डारीको भनाइ थियो ।
नीति र नेतृत्वको रक्षा गरेर अघि बढ्नुपर्ने जिम्मेवारी सिङ्गो पार्टीपङ्क्तिको काँधमा
कार्यक्रमको अध्यक्षता गर्नुभएको पार्टीका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले देशी विदेशी शक्तिहरूले कम्युनिष्ट आन्दोलनलाई सखाप पार्ने उद्देश्यका साथ एमाले र अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण गरिरहेको भन्दै नेतृत्वको रक्षा गरेर अघि बढ्नुपर्ने जिम्मेवारी सिङ्गो पार्टीपङ्क्तिको काँधमा आएको बताउनुभयो ।
उपाध्यक्ष थापाले जेनजी आन्दोलन, फागुन २१ को निर्वाचन, त्यसपछि बनेको सरकारका निर्णय र काम, पार्टी अध्यक्ष ओलीलाई गरेको पक्राउ हेर्दा ती सबै घटनाक्रम एमालेलाई सखाप पार्ने दासढुङ्गा हत्याकाण्डदेखिका आक्रमणको निरन्तरताको रूपमा बुझ्नुपर्ने बताउनुभयो ।
उपाध्यक्ष थापाले जनताको बहुदलीय जनवाद (जबज) वैज्ञानिक विचार भएको र यसको कार्यदिशा क्रान्तिकारी रहेको भन्दै आजको दिन पार्टी र जबजको रक्षाको सङ्कल्प गर्ने दिन पनि भएको धारणा राख्नुभयो ।
पार्टीलाई पुनर्गठित र पुनजागृत गर्दै अगाडि बढ्ने सन्दर्भमा विधि र प्रक्रियालाई उल्लङ्घन गर्ने कुरा उचित नहुने
कार्यक्रम सञ्चालन गर्दै महासचिव शंकर पोखरेलले पार्टीको नीति र निर्णय सही भए पनि गत निर्वाचनमा जनताले साथ नदिएका र पार्टी जीवनमा उक्त निर्वाचन असाधारण पीडाजनक भएको उल्लेख गर्दै आगामी दिनमा पार्टी जबजको आलोकमा चुनौतीको सामना गर्दै अगाडि बढ्ने दृढता व्यक्त गर्नुभयो ।
गतबर्ष भदौ २३ र २४ गतेको घटनालाई जनताले परिवर्तनका रूपमा बुझेका र हामीले त्यो षडयन्त्र थियो भनेर बुझाउन नसकेका कारण निर्वाचनमा पराजय भोग्नुपरेको उहाँले बताउनुभयो ।
निर्वाचनको समीक्षा गर्दै अगाडि बढ्ने सन्दर्भमा जनताले हामीलाई किन विश्वास गरेनन्, समस्या नेतृत्वको विकल्पमा होइन, अन्यत्र छ कि ? भन्ने पनि खोज्नुपर्नेतर्फ औल्याउँदै महासचिव पोखरेलले पार्टीलाई पुनर्गठित र पुनजागृत गर्दै अगाडि बढ्ने सन्दर्भमा विधि र प्रक्रियालाई उल्लङ्घन गर्ने कुरा उचित नहुने बताउनुभयो ।
‘पार्टीका हामी नेताकार्यकर्ताको कार्यशैली, आचरण र जीवनशैली जनतासँग जोडिने खालको हुन छाडेको रहेछ, हामी जनतामा आधारित कार्यकर्ता पार्टीबाट जनता अलग भएको कार्यकर्ताको पार्टी भएका रहेछौं भन्ने कुरा निर्वाचन परिणामबाट पुष्टि भएको’ बताउँदै उहाँले भन्नुभयो– अब हामीले मदन–आश्रितलाई साछी राखेर जनतामा फर्कने छौं भन्ने सङ्कल्प गर्नुपर्छ ।
स्मृति सभामा पूर्व राष्ट्रपति भण्डारी, पार्टीका उपाध्यक्षहरू थापा, विष्णुप्रसाद पौडेल, गोकर्ण विष्ट, महासचिव पोखरेल, उपमहासचिव योगेश भट्टराई, सचिवहरू, केन्द्रीय आयोगका अध्यक्षहरू, पार्टीका पूर्व पदाधिकारी तथा नेताहरू, केन्द्रीय कमिटीका सदस्यहरूका साथै कार्यकर्ता र शुभेच्छुकहरूले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको तस्वीरमा पुष्पगुच्छा अर्पण गरी सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा महासचिव पोखरेलले पार्टीको केन्द्रीय कार्यालय भवन बल्खुमै निर्माण गरिने जानकारी पनि गराउनुभयो । २०७२ सालको भूकम्पबाट पार्टी कार्यालय क्षतिग्रस्त भएपछि केन्द्रीय कार्यालय विभिन्न ठाउँमा भाडाको घरमा सञ्चालन हुँदै आएको छ ।