detail-img

शेयर बजारले पाँचदलीय गठबन्धन भत्कनुपर्थ्यो भन्ने सन्देश दिएको छः महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकार गठनपछि शेयर बजारमा सकारात्मक परिवर्तन आएको वताउँदै यसबाट मुलुकलाई आर्थिक सङ्कटबाट कसैले जोगाउन सक्छ भने यही सरकारले सक्छ भन्ने सन्देश दिएको विचार व्यक्त गर्नुभएको छ । 
यसबाट विगतको पाँचदलीय गठबन्धन कति नालायक रहेछ भन्ने सन्देश दिएको वताउँदै महासचिव पोखरेलले आर्थिक क्षेत्रमा आएको उत्साहको सन्देश पाँचदलीय गठबन्धन अन्त्य हुनुपर्थ्यो भन्ने पनि हो भन्नुभयो । 
नेकपा (एमाले) पाल्पा–काठमाडौं सम्पर्क मञ्चले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले उक्त कुरा वताउनुभएको हो ।

 
नेपालमा कम्युुनिष्ट आन्दोलनलाई कमजोर बनाउने उद्देश्यका साथ विगतमा पटक पटक एमालेलाई सिध्याउने दुस्प्रयास भए पनि त्यो सफल नभएको उहाँको भनाई थियो ।  
पछिल्लो घटनाक्रमलाई हेर्दा पनि नेकपालाई विभाजन गरी नेपाली काँग्रेससँग गठबन्धन गरेर निर्वाचनमा गएका माओवादी केन्द्र र एकीकृत समाजवादीलाई जनताले परिणामबाटै दक्षिणपन्थीसँग मिल्ने होइन भन्ने सन्देश दिएको विचार व्यक्त गर्नुभयो । 
महासचिव पोखरेलले माओवादी केन्द्रलाई जनताले २०७४ सालमा एमालेसँगको गठबन्धनमा प्राप्त गरेको विजयभन्दा यसपाली आधा सिटमा सीमित गरिदिएका र एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बन्न लायक छैनौं भनिदिएको वताउनुभयो । 
संविधान निर्माणका क्रममा जातीय पहिचानको राज्य मुद्दा बनाई कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने प्रयास भएको र त्यसलाई एमालेले वैचारिक सङ्घर्षद्वारा पराजित गरेको वताउँदै महासचिव पोखरेलले यसपालीको निर्वाचनमा एमालेलाई पराजित गर्न राजनीतिमा धर्मको विषय प्रवेश गराइएको धारणा राख्नुभयो । 
उहाँले भन्नुभयो– सामान्यतया असफल सरकारको विपक्षमा पर्ने भोट एमालेले पाउनुपर्ने हो तर यसपालीको निर्वाचनमा त्यसो भएन । यसपालीको निर्वाचनमा एमालेलाई कमजोर पार्ने हतियारका रूपमा राजनीतिमा धर्मको विषय प्रवेश गराइयो । धर्मरक्षाको भोट राप्रपा र धर्मान्तरको भोट स्वतन्त्र पार्टीलाई जाने परिस्थिति सिर्जना गरियो ।   
गत निर्वाचनमा पाल्पाबाट निर्वाचित सांसदहरूलाई सम्मानका साथै बधाई दिँदै महासचिव पोखरेलले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई जनताले  निर्वाचन परिणाम मार्फत दिएको सन्देश नेकपा (एमाले) र कम्युनिष्ट आन्दोलनका लागि सकारात्मक भएको विचार व्यक्त गर्नुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– पार्टी विभाजनको असर पाल्पामा पनि परेको थियो तर तपाईंहरूको सामुहिक प्रयासबाट पाल्पामा निर्वाचनमा एकताको समयमा जस्तै सफलता प्राप्त भएको छ, यो असाधारण उपलब्धि हो, म तपाईंहरू सबैलाई हार्दिक बधाई भन्न चाहन्छु । 
प्रतिनिधि सभा सदस्यका लागि दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा दुबै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारलाई पराजित गरी नेकपा (एमाले) का उम्मेदवारहरू ठाकुर गैरे र नारायण आचार्य विजयी हुनुभएको थियो । 
अहिलेले राजनीतिक वर्ग सङ्घर्ष चुनाव केन्द्रित रहेको हुँदा निर्वाचनमा पार्टीका पक्षमा नलाग्ने पार्टी सदस्य एमाले हुन नसक्ने स्पष्ट गर्दै पाल्पामा निर्वाचन जित्दा जित्दै पनि सम्पर्क मञ्च र पार्टी संगठनमा त्यस्तो प्रवृत्ति छ भने समीक्षा गरी कारवाही गर्न निर्देशन दिनुभयो । 
नेकपा (एमाले) को भविष्य उज्यालो रहेको वताउँदै  महासचिव पोखरेलले पार्टीको उद्देश्य र लक्ष्य हासिल गर्नका लागि अनुशासित र एकताबद्ध पार्टी संगठन आवश्यक पर्ने हुँदा पार्टीको अबको काम आफूलाई व्यवस्थित गर्नमा केन्द्रित हुने वताउनुभयो । 
उहाँले देश निर्माणको अभिभारा पूरा गर्न अस्थिरताविरूद्धको लडाईं राजनीतिक दलको साझा सङ्कल्पको विषय बन्नुपर्ने विचार व्यक्त गर्नुभएको छ ।