९ असार (२०८३), काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय सचिवालयको नवौँ बैठकले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारी घोर प्रतिशोधपूर्ण, पूर्वाग्रहप्रेरित र गैरकानुनी रहेको ठहर गर्दै त्यसको दृढतापूर्वक प्रतिवाद गर्ने निर्णय गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा उहाँको निवास, गुण्डुमा बसेको बैठकले गरेका निर्णय र निष्कर्ष यस प्रकार छन्ः
–गैरकानुनी गिरफ्तारीको निन्दाः उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई बिना कुनै वस्तुपरक तथ्य र प्रमाण, केवल राजनीतिक प्रतिशोध साध्ने कुत्सित मनसायका साथ सम्पत्ति शुद्धीकरणको बहानामा गरिएको गैरकानुनी गिरफ्तारीको पार्टीले राजनीतिक र कानुनी दुवै रूपमा सशक्त प्रतिवाद गर्ने ।
–अदालतको आदेशप्रति असहमतिः राजनीतिक पूर्वाग्रहबाट अभिप्रेरित यस घटनामा विशेष अदालतले पूर्पक्षका लागि थुनामा राख्न दिएको आदेशसमेत न्यायसम्मत नरहेको ठहर गर्दछ ।
–विनासर्त रिहाइको मागः बैठकले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई बिनासर्त अविलम्ब रिहा गर्न जोडदार माग गर्दछ ।
–भण्डाफोर अभियानः राज्य संयन्त्रको यस प्रकारको निरङ्कुश, प्रतिशोधपूर्ण र विभेदकारी कदमका विरुद्ध देशव्यापी रूपमा राजनीतिक प्रतिरोध र भण्डाफोर अभियान सञ्चालन गर्न बैठकले सम्पूर्ण पार्टीपङ्क्ति एवं न्यायप्रेमी जनसमुदायलाई हार्दिक आह्वान गर्दछ ।