detail-img

राष्ट्रपति र उपराष्ट्रपतिमा महिला र पुरुषको सन्तुलन संविधानको मर्म 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको सर्वोच्च सम्मानित पद राष्ट्रपति र उपराष्ट्रपतिमा पुरुष र महिलाको सन्तुलन मिलाउनुपर्ने संविधानको मर्म भएको वताउनुभएको छ । 
तर, दशदलीय गठबन्धनका नेताहरू यस मर्मलाई बेवास्ता गर्दै महिलाको अधिकार खोस्न संविधानको अपव्याख्यामा लागेको अध्यक्ष ओलीले वताउनुभयो ।  
आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका सन्दर्भमा तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल, च्यासल, ललितपुर आज सांसदहरूलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रपति र उपराष्ट्रपति चयनको सम्बन्धमा संविधानको दिशा निर्देश अनुरूप व्याख्या हुनुपर्ने वताउनुभयो ।
संविधान लेख्दा कमजोरी भएको भए संशोधनको समयमा विचार पुर्याउनुपर्ने वताउँदै उहाँले उपराष्ट्रपतिलाई अहिलेजस्तो आइडल राख्नुभन्दा राष्ट्रिय सभाको अध्यक्षता गर्ने व्यवस्था गर्न सकिने धारणा राख्नुभयो ।


गठबन्धनमा रहेका दलहरूले स्थानीय तहको निर्वाचनदेखि नै कपटपूर्ण ढङ्गले महिलाको अधिकार खोस्ने काम गरेको उहाँको भनाई छ । 
नेपालको बामपन्थी तथा लोकतान्त्रिक आन्दोलनमा असाधारण योगदान गर्नुभएकी पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको उपराष्ट्रपतिमा विजय उहाँ र  नेकपा (एमाले) का लागि मात्र नभई संविधानको रक्षा, कार्यान्वयन, सामाजिक न्याय र समानताका लागि आवश्यक रहेको उहाँको भनाई छ । 
अध्यक्ष ओलीले गठबन्धनमा रहेका दलहरू निजी, सङ्कीर्ण र क्षुद्र स्वार्थका लागि राष्ट्रिय हित समाप्त पार्ने बाटोमा रहेको वताउनुभयो । 
‘नेकपा (एमाले) देशमा सबल राष्ट्रिय राजनीतिक शक्ति निर्माण गर्न चाहन्छ भने गठबन्धनमा रहेका दलहरू हाम्रो प्रयासमा बाधा, व्यवधान खडा गर्न चाहन्छन्,’ चर्चा गर्दै अध्यक्ष ओलीले दीर्घकालीन रूपमा भने दशतिर फर्केका दशथरि एउटा धू्रवमा हुनु राम्रो हो भन्नुभयो ।  
उहाँले नेकपा (एमाले) का सांसदहरूलाई अनुशासित, पारदर्शी र अनुशरणीय हुनुपर्नेतर्फ ध्यानाकर्षण गराउनुभयो । 
कार्यक्रममा उपराष्ट्रपतिका उम्मेदवार पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सांसदहरूसँगको कुराकानीले आफू जितको नजिक रहेको अनुभव भएको वताउँदै उपराष्ट्रपति जस्तो गरिमामय पदमा आफूलाई सर्वसम्मतरूपमा अगाडि सारेकोमा पार्टीप्रति आभार व्यक्त गर्नुभयो ।