detail-img

‘विदेशीको इसारामा चल्ने नेताहरूलाई जनताले तिरस्कार गर्नुपर्ने’

गौर । नेकपा (एमाले) का सचिव रघुवीर महासेठले बाह्य शक्तिको इसारामा नेपाली कांग्रेसको पछाडि लाग्नेहरू कम्युनिष्ट नेता हुन नसक्ने वताउनुभएको छ । 
नेकपा (एमाले) रौतहटद्वारा बुधबार आयोजित मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत जिल्लास्तरीय प्रशिक्षणात्मक भेलामा बोल्दै महासेठले यस्तो बताउनुभएको हो ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विदेशीको इसारामा कांग्रेसको पुच्छर बन्न पुगेको बताउनुभएको छ । उहाँले व्यक्तिगत स्वार्थका लागि देशको हित, राष्ट्रियता र स्वाभिमान विर्सेर विदेशीको इसारामा चल्ने नेताहरू राष्ट्रवादी हुन नसक्ने वताउँदै त्यस्ता नेताहरूलाई जनताले तिरस्कार गर्नुपर्ने वताउनुभयो ।

 
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले) पोलिटव्यूरो सदस्य पुरुषोत्तम पौडेलले एमालेले प्रधानमन्त्री बनाएका पुष्पकमल दाहाल प्रचण्ड छिमेकका एकजना सचिवको धम्कीमा लत्रा लुत्रुक्क परेर कांग्रेसको काखमा रमाउन पुगेको बताउनुभयो । उहाँले प्रधानमन्त्री प्रचण्डको डुलुवा नीतिका कारण मुलुकमा राजनीतिक रूपमा ठूलो अस्थिरता र आर्थिक सङ्कट आउन सक्ने वताउनुभयो । 
मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान ) कार्यक्रम अन्तर्गत रौतहटले पहिलो चरणमा सबै पालिकामा पालिका कमिटी गठन गर्ने कार्य सकिएको छ । 
प्रदेश कमिटीका सदस्यहरू, जिल्ला कमिटीका सदस्यहरू, पालिका कमिटीका पदाधिकारीहरू तथा जनसंगठनका केन्द्रीय सदस्य तथा जिल्लाका पदाधिकारीहरू सहभागी भेलामा २०० भन्दा बढी नेता कार्यकर्ताहरूको सहभागिता थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य प्रभु हजारा, रेखा झा, मन्जु थापा, सल्लाहकार भोजराज दहालसहित प्रदेश कमिटीका सदस्यहरूको उपस्थिति थियो । कार्यक्रमको अध्यक्षता जिल्ला संयोजक सचिदानन्द साहले र सञ्चालन बालविक्रम कार्कीले र स्वागत  दीपक यादवले गर्नुभएको थियो ।