detail-img

नेतृत्वको अवसरवादी चरित्रका बारेमा माओवादी कार्यकर्ताले गम्भीर रूपमा सोच्नुपर्ने 

जुम्ला । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेलले विगतको चुनावमा पॉच दल मिल्दा पनि हाराहारीमा आएको नेकपा (एमाले) अबको निर्वाचनमा जतिसुकै दल मिले पनि बहुमत प्राप्त दल बन्ने बताउनुभएको छ । 
मिसन ग्रासरुट अन्तर्गत मङ्गलबार जुम्लाको तिला गाउँपालिकास्तरीय भेलालाई सम्बोधन गर्दै कँडेलले त्यसका लागि अहिलेदेखि नै अहोरात्र खट्न कार्यकर्तालाई निर्देशन दिनुभयो । 
वामपन्थी एजेन्डा र सहयात्री छाडेर माओवादी दक्षिणपन्थमा हिंडिरहेको उल्लेख गर्दै उहाँले कुनै बेला कम्युनिष्टमाथि झुटा आरोप लगाउने कांग्रेस आज माओवादीको वैशाखीबिना उभिन नसक्ने अवस्थामा पुगेको धारणा व्यक्त गर्नुभयो । आफ्नो नेतृत्वको अवसरवादी चरित्रका बारेमा माओवादीका इमानदार नेता–कार्यकर्ताले अब गम्भीर भएर सोच्नुपर्ने उहाँले बताउनुभयो ।
भेलालाई सम्बोधन गर्दै जुम्लाका लागि केन्द्रीय प्रतिनिधि विष्णु रिजालले नेकपा (एमाले) का लागि सरकारमा जानु वा नजानु प्रधान विषय नभएको उल्लेख गर्दै कांग्रेस र माओवादीका कारण देश पछाडि धकेलिएको चिन्ता आफूहरूलाई रहेको बताउनुभयो । दक्षिणपन्थी र उग्रवामपन्थीबीचको अप्राकृतिक गठबन्धनले जनताको समृद्धिको सपनामाथि तुषारापात भएको उहाँको भनाइ छ ।
गाउँपालिका कमिटीका अध्यक्ष धनसिंह बुढाको अध्यक्षतामा आयोजित भेलामा केन्द्रीय सदस्यद्वय नगेन्द्र शाही (नेशनल) र दक्षिणा शाही, जिल्ला अध्यक्ष शान्तिलाल महत, प्रदेश कमिटी सदस्य धीरेन्द्रराज गिरी र गोर्ख बुढा, जिल्ला उपाध्यक्ष सुरतबहादुर शाहीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गर्नुभएका काँग्रेस जिल्ला कार्य समिति सदस्य कृष्णकान्त चौलागाईंलगायतलाई कँडेलले पार्टीमा स्वागत गर्नुभएको थियो ।