detail-img

पार्टीभित्रका समस्या समाधान गर्न अर्को अभियान चलाइने छः गुरुङ

नवलपुर । नेकपा (एमाले) ले सुरू गरेको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) समापन उन्मुख रहेको छ । गत फागुन ५ गतेबाट सुरू भएको अभियान समीक्षाको चरणमा छ । जिल्लामा अभियान सम्पन्न समेत भइसकेको छ । 
नवलपुरको गैंडाकोट नगरपालिकामा सोमबार नगरपालिकास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न भएको छ ।


पार्टी उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्यता र पालिका कमिटीका अध्यक्ष षडानन्द लामिछानेको अध्यक्षतामा भेला सम्पन्न भएको हो । भेलामा पार्टी केन्द्रीय सदस्य जमिन्द्रमान घलेको पनि उपस्थिति रहेको थियो । 
यसैगरी, नवलपुरको कावासोतीमा नगर कमिटीको आयोजनामा भएको नगरस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै  नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीमा देखिएका समस्या समाधान गरी पार्टी दुरुस्त राख्न मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको बताउनुभएको छ । 
उहाँले पार्टीमा विभिन्न खालका समस्याहरू पैदा भएकाले समस्याको पहिचान गरी पार्टीलाई दुरुस्त राख्न मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको धारणा राख्नुभयो । पार्टीभित्र देखा परेको रोग पहिचान भएपछि उपचारका लागि अर्को अभियान चलाइने उहाँले बताउनुभयो । 
पार्टीमा कार्वाही गर्नुपर्नेलाई कार्वाही गर्ने, निलम्बन गर्नुपर्नेलाई निलम्बन गर्ने, सचेत गर्नुपर्नेलाई सचेत गराउने, सम्झाई बुझाई गर्नुपर्नेलाई सम्झाई बुझाई गर्ने र पार्टीलाई दुरुस्त राख्न अभियान चलाइएको उपमहासचिव गुरूङले बताउनुभयो । 
पार्टीले लेनिनबादी संगठनात्मक सिद्धान्त अनुसरण गरेकाले  यही आधारमा  अघि बढ्नुपर्ने धारणा उहाँले राख्नुभयो । 
कार्यक्रममा नेपाली कांग्रेस, माओवादी लगायतका पार्टी परित्याग गरी विभिन्न व्यक्तिहरू एमालेमा प्रवेश गर्नुभएको थियो ।

 
यसैगरी पार्टीका स्थायी कमिटी सदस्य एवम् संगठन विभाग प्रमुख खगराज अधिकारीले मिसन ग्रासरुट देश र जनतालाई जोगाउने अभियान भएको बताउनुभएको छ । 
उहाँले राष्ट्रियताको सवालमा नेकपा (एमाले) का नेता र कार्यकर्ताहरूले कहिल्यै सम्झौता नगर्ने धारणा राख्नुभयो । 
‘मेरो सन्तानका लागि मेरो देश म बनाउँछु’ भन्ने प्रण हरेक नेता र कार्यकर्ताले गर्नुपर्ने उहाँको धारणा छ । सस्तो लोकप्रियताका लागि समस्याको वकालत गर्नेहरुले व्यवहारिक रुपमा समाधान गर्न नसक्ने उहाँले बताउनुभयो । 
प्रदेशलाई बलियो र अधिकार सम्पन्न बनाउन सके मात्रै संघीयता सफल हुने धारणा राख्नुहुँदै अधिकारीले गठबन्धनका दलबाट देश विकास सम्भव नभएको धारणा राख्नुभयो । 
उहाँले गठबन्धनलाई तोडेर नेपालको पहिलो पार्टी एमाले बन्नु कार्यकर्ताहरूको अथक मिहेनतको परिणाम भएको भन्दै कार्यकर्तालाई धन्यवादसमेत दिनुभयो ।