detail-img

शीर्ष नेताहरूबीच छलफल 

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच सङ्क्रमणकालीन न्याय निरुपणसम्बन्धी कानुन संशोधनका विषयमा औपचारिक छलफल सुरु भएको छ । 
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको निवास, बालुवाटारमा मङ्गलबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच  बेपत्ता पारिएका व्यक्तिको खोजविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयकका विषयमा छलफल भएको हो । 
बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदमा प्रस्तुत भएकोे ऐन संशोधन विधेयक समितिमा लैजाउँ भन्दै त्यहाँ छलफल गरी टुङ्गो लगाउन प्रस्ताव गर्नुभएको छ । 
अध्यक्ष ओलीले शान्ति प्रक्रिया टुङ्याउँदा पीडितका आवाज सुन्नुपर्ने, अन्तर्राष्ट्रिय मूल्यमान्यता र सर्वोच्च अदालतको फैसलालाई पनि ध्यान दिनुपर्ने धारणा राख्नुभएको बैठकमा सहभागी पूर्व महान्यायाधिवक्ता रमेश वडालले जानकारी दिनुभयो ।
बैठकमा संसदीय सुनुवाइ समिति गठनका विषयमा पनि छलफल भएको थियो ।  
बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपाने, महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल सहभागी हुनुहुन्थ्यो । शीर्ष नेताहरूको अर्को बैठक आगामी २०८० वैशाख १ गते बस्ने भएको छ ।