चितवन । चितवन निर्वाचन क्षेत्र नं. २ मा आगामी वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद न्यौपाने ज्येष्ठ नागरिकको आशिर्वाद लिँदै र मतदाताका गुनासो सुन्दै घरदैलो गरिरहनुभएको छ । उम्मेदवार न्यौपानेले निर्वाचन प्रसारप्रसारका क्रममा मतदाताको टोल तथा विभिन्न स्थानमा कोणसभा गर्दै वरिपरिका नागरिकका गुनासो समेत सुन्ने गर्नुभएको छ ।
घरदैलोका क्रममा उम्मेदवार न्यौपानेलाई अधिकांश ज्येष्ठ नागरिकले स्वास्थ्य सम्बन्धी गुनासा तथा जिज्ञासाहरू राख्ने गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नं.५ र ७ मा भएको घरदैलोका क्रममा स्थानीय ज्येष्ठ नागरिकहरूले उम्मेदवार न्यौपानेलाई भरतपुर अस्पतालको सेवालाई गुणस्तरीय बनाउँदै सहजरूपमा उपचार गर्न पाउने व्यवस्था गराउन अनुरोध गर्नुभयो । त्यसैगरी सरकारी अस्पतालमा पहिला उपचार र पछि पैसा लिने व्यवस्था गर्नुपर्नेमा उहाँहरूको सुुझाव थियो ।
ज्येष्ठ नागरिक, एकल महिला, विद्यार्थीहरूको हकहितमा एमालेले विगतमा राम्रो काम गरेकाले पनि चितवन– २ मा एमालेका उम्मेदवारले जित्नुपर्ने स्थानीयको भनाइ छ । जितेर गएपछि ज्येष्ठ नागरिकको जिम्मेवारी सरकारले लिनेगरी काम गर्नसमेत न्यौपानेलाई स्थानीयले आग्रह गरे ।
मंगलबार भरतपुरको विभिन्न स्थानमा भएको कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार न्यौपानेले सरकारी अस्पताललाई सुविधा सम्पन्न बनाउन आफू प्रतिबद्ध भएर लागिपर्ने बताउनुभयो । उहाँले आफू कुनै पनि आरोप र भ्रष्टाचारमा नमुछिने भन्दै अरुले भ्रष्टाचार गरेमा पनि भण्डाफोर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफ्नो निर्वाचन क्षेत्रमा रहेका हरेक टोल सुधार समितिमार्फत विकासका योजनाहरू माग गरेर सोहीअनुसार व्यवस्थापन गर्न सहजीकरण गर्ने न्यौपानेको भनाइ छ ।
अहिले उपनिर्वाचन गर्नुपर्ने रहर नभएर बाध्यता भएको भन्दै उम्मेदवार न्यौपानेले राम्रो समाज निर्माणका लागि जनप्रतिनिधि पनि राम्रो हुनुपर्ने बताउनुभयो । जनताका समस्या बुझ्ने र सुन्ने खालका उम्मेदवार हुनुपर्ने उल्लेख गर्दै न्यौपानेले आफू जितेर गएपछि हरेक ठाउँमा जनताको गुनासो सुन्न पुग्ने बताउनुभयो । स्वदेशमै स्वरोजगार बन्ने, यहीँ पढ्नेलेख्ने तथा व्यवसाय गर्ने वातावरण सिर्जना गर्ने आफ्नो प्राथमिकता रहेको न्यौपानेको भनाइ छ ।
मंगलबार भएको घरदैलो एवं कोणसभामा उम्मेदवार न्यौपानेसहित एमालेका नेताहरु देवी ज्ञवाली, विजय सुवेदी, कृष्णभक्त पोखरेल, यमबहादुर परियार, पुरुषोत्तम न्यौपानेलगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो ।